१९°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २२३

अनुदानकै लागि फर्म दर्ता

दिप्ती सिलवाल

(पर्वत) — कृषि र पशु विकासका क्षेत्रमा पछिल्लो समय सरकारले अनुदानका विभिन्न कार्यक्रम ल्याएपछि कतिपय व्यक्ति अनुदानकै लागि मात्र फर्म दर्ता गर्ने र केही समयपछि स्थगित वा व्यवसाय नै छाड्ने गरेको पाइएको छ । 

कृषि ज्ञान केन्द्र पर्वतले भदौ २० सम्म ३० दिनको समय राखेर आह्वान गरेको मोडल फर्म, साना सिँचाइ तथा यान्त्रीकरण अनुदान कार्यक्रममा करिब एक हजार किसान, फर्म तथा सहकारीले अनुदानका लागि निवेदन दिएका छन् । कतिपयले व्यवसाय सुरु नगर्दै अनुदानका लागि आवेदन पेस गर्ने र पाएपछि अर्कैका नाममा फर्म बिक्री गर्ने गरेको समेत पाइएको छ ।


केही वर्षअघि फलेबास–३ का वैकुण्ठ भुसालले पशु तथा कृषिमा आधुनिकीकरण गर्न भन्दै सुरु गरेको पशु तथा कृषि फर्म अनुदान लिएपछि बन्द भयो । तत्कालीन पशु सेवा कार्यालयबाट २ लाख रुपैयाँ अनुदान लिएका भुसालले अनुदान लिएको दुई वर्षमै फर्म बन्द गरे । भुसालले सुरु गरेको सुनगाभा कृषि तथा पशु फर्म सञ्चालनको तीन वर्ष पनि टिकेन । त्यस्तै गत वर्ष प्याक्टबाट १० लाख अनुदान लिएको कुस्मा नगरपालिका–१ को गाई फर्म सञ्चालकले अर्कैलाई बिक्री गरेको खुलेको छ ।


यी केही उदाहरण मात्रै हुन् । पछिल्लो समय सरकारलाई छलेर व्यावसायिक फर्म दर्ता गर्ने क्रम बढेको छ । फर्म दर्ता गरेर केही जाँगर देखाउनेहरूले अनुदानका लागि राम्रै कागजपत्र पेस गर्छन् । ‘जसले काम गर्दैन, उसैका डकुमेन्ट धेरै गुणस्तरीय हुन्छन्,’ भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र बागलुङका प्रमुख शम्भुराज पाण्डे भन्छन्, ‘डकुमेन्ट चिटिक्क हुनेहरूकामा अनुदान दिँदा गम्भीर अध्ययन गर्नुपर्छ ।’


पर्वत र बागलुङ सेवा क्षेत्र रहेको केन्द्रले पछिल्लो समय कागजपत्रलाई भन्दा फिल्ड अध्ययनलाई जोड दिने गरेको पाण्डेले बताए । यो वर्ष पशुपालनका विभिन्न शीर्षकमा आह्वान गरेको अनुदानको कार्यक्रममा निवेदन दिनेको संख्या मागको तुलनामा धेरै गुणा बढी परेको भेटेरिनरी अस्पतालले जनाएको छ ।


पर्वत र बागलुङ नै कार्य क्षेत्र रहने गरी पर्वतमा सञ्चालित कृषि ज्ञान केन्द्रमा पनि तोकिएको बजेटभन्दा दसौं गुणा बढी निवेदन परेको केन्द्रले जनाएको छ । निवेदन दिनेमा सबैभन्दा बढी कृषि यान्त्रीकरण शीर्षकका छन् । १५ लाख बजेट भएको कृषि यान्त्रीकरणमा यान्त्रिक हलो (पावर टेलर), घरेलु मिनी मिल, धान चुट्ने थ्रेसर, मकै रोप्ने मेसिनलगायतका उपकरणका लागि मात्रै ५ सय २२ निवेदन परेका छन् ।


साना सिँचाइका १४१, ग्रिन हाउस ६७ र मोडल फर्म २६९ माग भएका छन् । ज्ञान केन्द्रमा चालु वर्षका लागि विभिन्न शीर्षकमा गरी जम्मा ३ करोड १५ लाख मात्रै बजेट छ । केन्द्रका अनुसार मोडल फर्मका लागि १ करोड ५० लाख, साना सिँचाइका लागि १ करोड २० लाख, ग्रिन हाउसका लागि ३० लाख र साना यान्त्रिक उपकरणमा १५ लाख बजेट छ । यान्त्रिक उपकरण र अन्य शीर्षकमा अनुदान माग गर्ने किसानको संख्या ९९९ छ ।


घरेलु तथा साना उद्योग कार्यालयका अनुसार आर्थिक वर्ष ०७५/०७६ को अन्त्यसम्ममा पर्वतमा मात्रै ४ हजार ६ सय ६७ वटा उद्योग दर्ता भएका छन् । कार्यालयका उद्योग अधिकृत गोविन्द पौडेलका अनुसार उद्योगतर्फ २२ सय ६ र वाणिज्यतर्फ २४ सय ६८ फर्म दर्ता भएका छन् । ‘उत्पादनमूलक फर्मलाई उद्योगमा दर्ता गरिन्छ,’ उद्योग अधिकृत पौडेलले भने, ‘खाली खरिदबिक्री मात्रै गर्ने गरी दर्ता हुन आउनेलाई वाणिज्यमा राखिन्छ ।’


कार्यालयले जिल्लाका स्थानीय तहगत दर्तालाई छुट्याएर दर्ता गरेको छ । दर्ता हुनेमा कुस्मा र फलेबास नगरपालिका, जलजला र मोदी गाउँपालिकामा सबैभन्दा धेरै छन् । उत्पादनमूलक उद्योगतर्फ कुस्मामा ९८३ दर्ता भएका छन् । त्यस्तै फलेबासमा २५३, मोदीमा २८३ र जलजलामा ३०७ दर्ता भएका छन् ।


बिहादीमा १४७, पैयुँमा १८२ र महाशिला गाउँपालिकामा जम्मा ५१ वटा मात्रै दर्ता भएका छन् । दर्ता भएकै हैसियतमा कृषि तथा पशु कार्यालयमा अनुदान लिन पनि कुस्मा, फलेबास, मोदी र जलजलाबाट अधिक आवेदन पर्ने गरेका छन् । ‘एकपटक अनुदान दिएपछि सोही प्रयोजनमा एउटै फर्मलाई दिइँदैन,’ कृषि ज्ञान केन्द्रका प्रमुख वासुदेव रेग्मीले भने, ‘अनुदान लिएर फर्म बिक्री वा खारेज गर्नेलाई निगरानीमा राखिएको छ । उसको जीवनभर अरू सहयोगसमेत नदिने नीति छ ।’

प्रकाशित : आश्विन ५, २०७६ ०९:०१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?