बोयरको माग बढ्दो

तेह्रथुम

काठमाडौँ — पूर्वी पहाडमा बोयर जातका बाख्राको माग बढेको छ । अन्य जातका बाख्राको तुलनामा मासु छिटो लाग्ने र रोग प्रतिरोधात्मक क्षमता बढी रहेकाले माग बढेको हो ।

नेपाल कृषि अनुसन्धान केन्द्र (नार्क) अन्तर्गत रहेको धनकुटाको पाख्रीबासस्थित केन्द्रले दक्षिण अफ्रिकाको आउड्सोर्न नगरबाट ल्याएका बोयर जातका बाख्राको अनुसन्धान गरेको थियो । अनुसन्धान सफल भएपछि किसानहरूले बाख्राको माग गर्न थालेको केन्द्रका पशु पोषण तथा आहारा प्राविधिक अधिकृत सुमन कार्कीले बताए । केन्द्रले पहाडको चिसो हावापानीमा फस्टाउन सक्ने/नसक्नेबारे अध्ययन गरिरहेको थियो ।


अनुसन्धान सफल भएपछि पाठापाठी उत्पादन गरी साना किसान, व्यावसायिक फार्म र व्यावसायिक बाख्रापालक किसानलाई वितरण गर्ने तयारी गरेको छ । पाठापाठी उत्पादन नहुँदै किसानबाट माग बढेको छ । केन्द्रमा अहिले ८६ वटा बाख्रा र पाठापाठी पालिएका छन् । प्राविधिक विशेषज्ञबाहेकका चारजना कर्मचारी बाख्राको स्याहार र रेखदेखमा संलग्न छन् ।


नेपालमा खसीबोकाको मासुको माग उच्च छ । त्यसका तुलनामा उत्पादन कम छ । बर्सेनि भारत र चीनबाट आयात गरिने खसीबोकालाई समेत बोयर जातको बाख्रापालनले रोक्ने केन्द्रमा रहेका पशु चिकित्सकको भनाइ छ । केन्द्रमा उत्पादन भइरहेका पाठापाठी किन्ने, पाल्ने र मासुका लागि खसीबोकाको उत्पादन गरेर मुनाफा कमाउने उद्देश्यले दैनिक दर्जनौं किसान आउने गरेको कार्कीले बताए ।

प्रकाशित : आश्विन ५, २०७६ ०८:३९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?