कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६६

गाईपालनमा प्रदेश सभासद्

कमल पन्थी

(गुलरिया) — प्रदेश ५ का प्रदेशसभा सदस्य कविराम थारू बिहानका बेला प्राय: गाईको स्याहारसुसारमै व्यस्त हुन्छन् । प्रदेशसभा बैठकबाट फुर्सद मिल्नासाथ उनी बुटवलबाट गाई सम्झँदै बर्दियाको बढैयाताल गाउँपालिका–७ स्थित घरमा आइपुग्छन् ।

दूध दुहुनेदेखि घाँसपातको काम उनी आफैं गर्छन् । उनको गोठमा तीन बाच्छासहित १३ गाई छन् । दैनिक ५० लिटर दूध बिक्री गर्छन् । गाई दुहेर बिक्रीका लागि स्थानीय भगवती सहकारी दुग्ध उद्योगमा पुर्‍याउँछन् । उनले प्रतिलिटर ४५ रुपैयाँमा सहकारीलाई दूध बिक्री गर्दै आएका छन् । कान्छो छोरा रामकृष्णले पनि सघाउँछन् । ‘मासिक ६७ हजारको दूध बिक्री हुन्छ,’ कविरामले भने, ‘खर्च कटाएर ४० देखि ४५ हजार रुपैयाँ आम्दानी भइरहेको छ ।’


०७० देखि व्यावसायिक गाईपालनमा लागेका थारूका श्रीमती, कान्छा छोरा–बुहारी र नातिसहित पाँच जनाको सिंगो परिवारमा यसैमा लागेका छन् । जेठो छोरा बालकृष्ण छुट्टिएर नेपालगन्जमा बस्छन् । उनको पनि दूध डेरी नै छ । राजनीतिभन्दा व्यावसायिक गाईपालनमै भविष्य देखेका कविराम थप १५ वटा उन्नत जातका गाई खरिदको तयारीमा छन् ।


राजनीतिमा कहिल्यै फुर्सद नहुने, आम्दानी नहुने, खर्च बढी र धेरै समय अरूलाई नै दिँदैमा ठिक्क हुने गरेको कविरामको अनुभव छ । गाईपालन व्यवसायबाट कम लगानीमै आम्दानी हुने भएकाले आफूले निरन्तरको पेसा गाईपालन नै बनाएको उनले बताए । ‘परिवारसँगै काम गर्न पाइन्छ,’ उनले भने, ‘आम्दानी, रमाइलो र शरीर स्वस्थ पनि हुन्छ ।’ गाईको स्याहारसुसार घरपरिवारका सबैले गर्छन् । पालैपालो दूध दुहुन्छन् । कम लगानीमै राम्रो आम्दानी भएकाले परिवार नै लागिपरेको कविरामले सुनाए ।


०३५ सालदेखि वाम राजनीतिमा लागेका उनी आफ्नो क्षेत्रको विकासमा उत्तिकै तल्लीन छन् । प्रदेशसभा सदस्य भएपछि जिम्मेवारी थपिएको छ । मासिक ६२ हजार रुपैयाँ तलबभत्ता पनि छ । हरेक महिनामा पटकपटक बुटवल आउजाउ, डेरा भाडा, खाना, नास्तादेखि कार्यकर्ता पाल्न तलबले पुग्दैन । कहिलेकाहीँ दूध बचेको पैसा राजनीतिमा लगाउने उनले सुनाए । थारूको १ बिघा १९ कट्ठा जग्गा छ । तीन कट्ठामा घर र गाईपालन छ । बढैयाताल–७ का वडाध्यक्ष इन्द्र लुइँटेलले प्रदेशसभा सदस्यको जाँगर देख्दा सबै राजनीतिक कार्यकर्ता दंग पर्ने गरेको बताए । ‘राजनीति र गाईपालन व्यवसाय दुवैमा उस्तै सक्रिय हुनुहुन्छ,’ उनले भने, ‘सबै कार्यकर्ताले उहाँको दैनिकीबाट सिक्न जरुरी छ ।’


उनले गोबर धान, गहुँ र तरकारी खेतीमा प्रयोग गर्छन् । कविरामलाई कहिल्यै पनि रासायनिक मल खोज्नुपरेको छैन । गाई पाल्दै आएका उनलाई गत वर्ष प्रदेश सरकारले ४ लाख रुपैयाँ अनुदान दिएको थियो तर लिएनन् ।


‘अरूलाई बाटो देखाउने हामी राजनीतिक व्यक्तिले नै सरकारी अनुदान लियौं भने खास किसानलाई अन्याय हुन्छ,’ उनले भने, ‘मैले नलिएपछि अर्को किसानले पायो ।’ आफैंले नीति बनाउने र आफैंले अनुदान लिन नसुहाउने उनले बताए ।


सिको गर्दै अरू

थारू कल्याणकारी सभाका पूर्वअध्यक्ष एवं थरुहट आन्दोलनका जिल्ला संयोजक गोविन्दप्रसाद थारू पनि अहिले पशुपालनमै सक्रिय छन् । मासिक झन्डै २५ हजार रुपैयाँको दूध बिक्री गर्छन् । पशुपालनसँगै राजनीतिका लागि पनि समय निस्कने भएकाले थारूकै प्रेरणामा आफू यसतर्फ आकर्षित भएको उनले बताए ।


सात वर्षअघिसम्म यहाँ दूध उत्पादन थिएन । भगवती सहकारी दुग्ध उद्योग संस्था खुलेपछि गाई–भैंसी पाल्ने किसान बढेका हुन् । बढैयाताल–७ का ज्ञानेन्द्र लम्साल दूध बेचेरै मासिक २ लाख रुपैयाँ आम्दानी गर्छन् । वैदेशिक रोजगारका लागि कोरिया जान ठिक्क परेका उनलाई कविराम र वडाध्यक्ष लुइँटेलले गाईपालनका लागि सुझाव दिएका थिए । त्यसका लागि लुइँटेलले ५० हजार रुपैयाँ सहयोग पनि गरे ।

प्रकाशित : आश्विन ५, २०७६ ०८:३८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?