बारीमै कुहिन्छ आलु

बर्खामा कच्ची सडकमा गाडी नचल्दा दोलखा सैलुङ क्षेत्रका किसानले उत्पादन गरेको आलुलगायत तरकारी खेतमै कुहिने गरेको छ 
राजेन्द्र मानन्धर

(दोलखा) — कच्ची सडक बर्खामा अवरुद्ध हुँदा सैलुङ गाउँपालिकाको ढुंगे, झोर, मनगाउँलगायत क्षेत्रमा उत्पादित आलुले बजार पाउन सकेको छैन । आलु बेच्ने बेला सडक अवरुद्ध हुँदा यहाँको आलुले बजार पाउन नसकेको हो ।

बारीमै कुहिन्छ आलु

यस क्षेत्रमा उत्पादित १८ हजार टनभन्दा बढी आलु अलपत्र पर्ने गरेको छ । कृषिजन्य वस्तु उत्पादनमा अग्रणी मानिएको सैलुङ क्षेत्रका किसानहरूले सडककै कारण मौसमी आलुबाट फाइदा लिन नसकेको गुनासो गरे । यस क्षेत्रका सयौं टन आलु उत्पादक कृषक, व्यापारी र ढुवानीकर्ताहरू सधैं सडक सुधारकै आशामा छन् । ढुवानी समस्याले केही वर्षदेखि आलुलगायतका तरकारी बारीमै कुहिएर जाने कृषक पूर्णबहादुर खड्काले बताए ।


अहिले सैलुङ वरिपरिका बारीहरूमा बेच्नलायक काउली, केराउलगायत तरकारीजन्य वस्तु प्रशस्त छन् । बजार जोड्ने सडक बिग्रिएर यातायात सञ्चालनमा छैन । त्यसैले किसानहरू अत्तालिएको खड्काले बताए । ‘यस वर्ष पनि काउली बारीमै कुहिने डर छ,’ उनले भने, ‘यस क्षेत्रमा पानी पर्न थालेपछि हिउँद र वर्षा दुवै सिजनमा यातायात सञ्चालनमा आउँदैन ।’


जबर्जस्ती कुदाउन खोजिएका गाडीहरू बाटामा फसेर अलपत्र छन् । ती गाडीमा लोड गरिएको आलु बिग्रने त्रास रहेको किसानहरूले बताए । खासगरी वर्षायाममा फलेका आलु यो भेगबाट सबैभन्दा बढी निकासी हुन्छ । आलुको मुख्य बजार सिन्धुपाल्चोकको मुढे र काठमाडौं उपत्यका हो । ‘कच्ची सडकमा यातायात नचलेपछि ती यहाँको उत्पादन आधा मोलमा पनि बिक्दैन,’ लाँकुरीका किसान प्रेमनारायण जोशीले भने । यस क्षेत्रमा उत्पादित आलुको भाउ बिचौलियामा निर्भर छ । व्यापारीहरूले उत्पादित वस्तु सबै उठाइदिने सर्तमा भाउ तोक्छन् । बाटो बिग्रिएका बेला व्यापारीले किसानको ढाँडै भाँच्चिने गरी मूल्य गिराएर खरिद गर्न खोज्ने चलन रहेको स्थानीय दिनेश श्रेष्ठको दु:सेसो छ ।


उनीहरूले भनेको मूल्यमा बेच्न अस्वीकार गर्दै केही किसानहरूले जेनतेन बोकेर आफैं बजारमा आलु लगिरहेका हुन्छन् । त्यसो गर्दा सोचेभन्दा आधा मूल्य पनि नआएको उनीहरूको दु:खेसो छ ।

फराकिला विस्तारित सडकहरू यस गाउँपालिकाभरि नै छन् । वर्षा लागेपछि भने कुनै पनि सडक मोटर कुदाउनलायक हुँदैन । त्यसैले कम्तीमा पनि कृषिजन्य वस्तुहरू बजार पुर्‍याउने सडक वर्षायाममा समेत चल्ने गरी निर्माण गरिदिन किसानहरूले गाउँपालिका गुहारेका छन् । त्यसको सुनुवाइ नभएको श्रेष्ठले बताए । उक्त गाउँपालिकाले बजेटको सबैभन्दा बढी हिस्सा सडकमा खर्च गरेको जनाएको छ । हिउँदमा मात्र सञ्चालन हुन सक्ने सडक मात्रै किन बनिरहेका छन् भन्ने जिज्ञासामा सैलुङ गाउँपालिका–५ का वडाध्यक्ष किरण बस्नेतले भने, ‘यहाँका सडकहरू स्तरोन्नति गरिएका छैनन् ।


हिउँदभर बनायो वर्षा लागेपछि सडक काम नलाग्ने हुन्छन् ।’ हाल मुढेदेखि कालापानीसम्म प्रदेश सरकारले सडक कालोपत्र गर्न ३२ करोड बराबरको ठेक्का आह्वान गरेको छ । उक्त सूचना सुनेका किसानहरू खुसी त छन् तर बेलैमा सडक निर्माण हुनेमा विश्वस्त छैनन् ।

प्रकाशित : आश्विन ५, २०७६ ०८:३६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?