कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५५

८५ प्रतिशत निजी आवास पुनर्निर्माण

पुनर्निर्माणमा प्रगति ग्रामीण भेगमै देखिएको छ । काठमाडौं, भक्तपुर र ललितपुरमा निजी आवास निर्माण बाह्य जिल्लाको तुलनामा कम छ ।
विमल खतिवडा

भूकम्प गएको साढे चार वर्षमा निजी आवास पुनर्निर्माण करिब ८५ प्रतिशत सकिएको छ । निर्माणमा १ खर्ब ५५ अर्ब ६५ करोड ४६ लाख रुपैयाँ खर्च भएको छ । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको लक्ष्य अबको एक वर्षभित्र निजी आवासको निर्माण सक्ने छ ।

८५ प्रतिशत निजी आवास पुनर्निर्माण

‘निजी आवास निर्माण सन्तोषजनक छ,’ प्राधिकरणका सह–प्रवक्ता मनोहर घिमिरेले भने, ‘जसमा ५७ प्रतिशतले सम्पन्न गरेका छन् भने २७ प्रतिशतले बनाउँदै छन् ।’ उनका अनुसार निजी आवासमा दोस्रो किस्ता लिने ७८ प्रतिशत र तेस्रो किस्ता लिने ६४ प्रतिशत छन् । समग्र पुनर्निर्माणमा अहिलेसम्म पौने ३ खर्ब खर्च भइसकेको छ । प्राधिकरणका अनुसार निजी आवासतर्फ ७ लाख ७६ हजार २ सय ९१ सँग अनुदान सम्झौता भएको छ । जसअन्तर्गत ६ लाख ५६ हजार ७ सय ५५ घर बन्दै छन् । ४ लाख ४४ हजार ५ सय ९९ हजार घर निर्माण सम्पन्न भइसकेका छन् । १ लाख १९ हजार ५ सय ४१ घर बन्न बाँकी छन् ।


केहीले भने पहिलो किस्ता बुझेर पनि घर बनाएका छैनन् । ‘प्राथमिकतामा रहेको निजी आवास क्षेत्र हो, प्रगति पनि यसैमा छ,’ उनले भने, ‘यो वर्षभित्र सक्ने लक्ष्य छ ।’ सहरी क्षेत्रमा भन्दा ग्रामीण भेगमा निजी आवास पुनर्निर्माण राम्रो रहेको प्राधिकरण स्रोतले जनाएको छ । प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीका अनुसार पछिल्लो चरणमा पुनर्निर्माणमा प्रगति राम्रो देखिएको छ । ‘भूकम्प गएको तीन वर्षको अवधिमा पुनर्निर्माणमा गति लिन सकिएन,’ उनले भने, ‘अहिले रफ्तारमा काम अघि बढेको छ ।’

उनका अनुसार सबैभन्दा बढी प्रगति निजी आवास निर्माणमा देखिएको छ । पछिल्लो समयको प्रगति सन्तोषजनक छ ।


‘तीन तहको निर्वाचन गर्नुपर्‍यो, देश संघीयतामा जाँदा कर्मचारी समायोजनबाट गुज्रनुपर्‍यो, यो बेलामा प्रगति राम्रो भएन,’ उनले भने, ‘अहिले सन्तोषजनक छ ।’ अति प्रभावित १४ र कम प्रभावित १८ जिल्ला छन् । सबै जिल्लामा निर्माणको काम भइरहेको छ । निर्माणमा राम्रो प्रगति ग्रामीण भेगमा देखिएको छ । काठमाडौं, भक्तपुर र ललितपुरमा निजी आवास निर्माण बाह्य जिल्लाको तुलनामा कम छ ।


‘सहरी क्षेत्रमा निजी आवास निर्माणको काम जटिल नै छ,’ कार्यकारी अधिकृत ज्ञवालीले भने, ‘सहरमा समस्या धेरै हुन्छन्, जहाँजहाँ समस्या देखिएका छन्, तिनलाई सम्बोधन गर्दै गएपछि यसले गति लिँदै गएको छ ।’ उनका अनुसार काठमाडौं उपत्यकामा एक तिहाइ बराबरको काम सम्पन्न भइसकेको छ । ‘सबैभन्दा ठूलो काम नै निजी आवास निर्माण हो,’ उनले भने, ‘राम्रो प्रगति पनि निजी आवासमै देखिएको छ ।’

कहीँकतै जग्गाको कारणले समस्या भए पनि समाधान गर्दै पुनर्निर्माणमा सम्झौता गर्दै अघि बढेको उनले बताए । ‘हाम्रो जस्तै विपत्पछि पुनर्निर्माण गरेका छिमेकी मुलुक भारत, पाकिस्तानले सुरुदेखिकै समयमा प्रगति गरेको देखिन्छ,’ उनले भने, ‘हाम्रोमा केही समस्या भयो, राजनैतिक संक्रमणबाट पनि मुलुक गुज्रनु पर्‍यो, अहिले काममा प्रगति देखिएको छ ।’

प्रकाशित : आश्विन ४, २०७६ १४:५८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?