१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ६०७

काठमाडौंको उपहार गुँदपाक

नुमा थाम्सुहाङ

काठमाडौँ — गोगंबुकी अस्मिता गुरुङले हङकङमा बस्ने दिदीलाई न्युरोडको गुँदपाक पठाइन् । ‘दिदीलाई यहाँको गुँदपाक असाध्यै मिठो लाग्छ । म बस्ने ठाउँतिर पनि पाइन्छ तर यहाँको जस्तो मिठो हुँदैन,’ उनले भनिन्, ‘जहिले किन्न यतै आउँछु ।’ 

काठमाडौंको उपहार गुँदपाक

ठल्लुकी सम्झना क्षेत्री पनि तनहुँमा बस्ने परिवारलाई गुँदपाक पठाउन न्युरोड आएकी थिइन् । माइती आमाबुवाका लागि उनले १५ सय रुपैयाँको पाउँसमेत किनिन् । काठमाडौंको पाउँ सबैले मन पराउने उनले बताइन् ।


गुलियो गुँदपाक, पुष्टकारीको बेग्लै स्वाद र अमिलो–पिरो पाउँले सबैको मुख रसाउँछ । काठमाडौंमा पाइने गुँदपाक, पुष्टकारी र पाउँ स्वदेशमा मात्रै होइन, विदेशमा पनि मन पराइन्छ । काठमाडौंबाट दसैं, तिहारजस्ता चाडपर्वमा घर जाँदा सबैले उपहारस्वरूप यहाँको गुँदपाक, पुष्टकारी र पाउँ लिएर जाने गर्छन् ।


श्री गणेश फुड्स स्टोर सञ्चालन गर्दै आएकी अनिता मास्के भन्छिन्, ‘गुँदपाक, पुष्टकारी, पाउँहरू भक्तपुर, ललितपुर र स्वयम्भूबाट ल्याउँछौं । लप्सी, अमला, कागती, इमली, आँपको पाउँमा लप्सीको पाउँ बढी बिक्री हुन्छ ।’


उनका अनुसार चिनी र खुवालाई एक घण्टा आगोमा पकाएपछि गुँदपाक तयार हुन्छ । यो बाहिर २ हप्तासम्म र फ्रिजभित्र एक महिनासम्म राख्दा बिग्रँदैन । गुँदपाक र पुष्टकारी केजीको ५ सय ५० रुपैयाँ पर्छ । पाउँ भने ३० रुपैयाँदेखि १६० रुपैयाँसम्म पर्छ । उनको पसलबाट दिनमा १२ केजीदेखि १६ केजीसम्म गुँदपाक बिक्री हुन्छ । पुष्टकारी भने दिनको १० केजीसम्म बिक्री भइरहेको छ । पाउँ भने दिनको ५० देखि १ सय प्याकेटसम्म बिक्री हुन्छ ।

केही वर्ष अगाडिको एउटा घटनाले भने गुँदपाकको व्यापारमा कमी आएको छ । ५० प्रतिशतले व्यापार घटेको छ । मिसावटयुक्त खाद्यान्नबाट गुँदपाक तयार पारेको फेला परेपछि बिक्री घटेको मानिन्छ ।


न्युरोडमा १५ वर्षदेखि श्री गणेश फुड्स स्टोर सञ्चालन गर्दै आएकी अनिताले यो घटनाले मानिसहरूमा नकारात्मक असर पारेको बताइन् । उक्त घटनाले गुँदपाकको व्यापार ५० प्रतिशतले घटेको उनको भनाइ छ । ‘हाम्रो मात्र नभई सबैको व्यापार घटेको छ,’ उनी भन्छिन्, ‘गुँदपाकमा मिसावटको घटना बाहिरिए पछि मानिसको सोच नै फरक भयो ।’ इन्द्र जात्राबाट नै सुरु हुनपर्ने तर दसैं आउन दुई साता रहँदा पनि व्यापार बढ्न नसकेको उनले सुनाइन् ।

न्युरोडमै ५० वर्षदेखि सञ्चालित कर्नर ताजा गुँदपाक भण्डारका मञ्जितलाल मास्केले अरू बेलाभन्दा दसैंमा गुँदपाक पसलमा विशेष चहलपहल हुने बताए । ‘अन्य समयमा सामान्य व्यापार भए पनि गुँदपाकको व्यापार हुन दसैं नै आउनुपर्छ,’ उनले भने, ‘काठमाडौं बाहिर रहेका मानिसका लागि यहाँको गुँदपाक विशेष हुन्छ ।’

प्रकाशित : आश्विन ४, २०७६ ०९:५८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?