१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६०

सञ्चालनमा आएन तरकारी बजार

जितेन्द्र साह

(मोरङ) — कटहरी गाउँपालिका–१ जमटोकी टोलस्थित फलफूल तथा तरकारी थोक बजार अझै सञ्चालनमा आएको छैन । गत चैतमा प्रधानमन्त्री केपी शर्मा ओलीले थोक बजार प्रदेश १ सरकारलाई हस्तान्तरण गरेका थिए । कृषि तथा पशुपन्छी विकास मन्त्रालयअन्तर्गतको तत्कालीन व्यावसायिक कृषि तथा व्यापार आयोजनाले जनप्रिय माध्यमिक विद्यालय कटहरीको ४ बिघा २ कट्ठा २ धुर र १८ कट्ठा ऐलानी जग्गालाई ५० वर्षका लागि भाडामा लिई करिब १६ करोड रुपैयाँमा बजार निर्माण गरेको हो ।

यसको आम्दानी बजार समिति, विराटनगर महानगरपालिका, कटहरी गाउँपालिका र विद्यालयले बाँडफाँट गर्ने सम्झौता उल्लेख छ । बजारबाट बर्षेनि ४४ हजार ९ सय ६६ दशमलव ३ टन तरकारी र ८ हजार ७ सय ३ दशमलव ३ टन फलफूल बिक्री हुने अनुमान प्रदेश १ सरकारले गरेको छ । पूर्वाधारबिनै निर्माण भएका आयोजनाको अवस्थाबारे सरोकारवालाले चिन्ता जनाएका छन् । ‘भारत र पहाडबाट टनका टन तरकारी लिएर आउने गाडीलाई बजार वरिपरिको पुल र सडकले थेग्दैन,’ स्थानीय कृषक पवन सहनीले भने, ‘पहिला मजबुत पूर्वाधार बनाउनुपर्थ्यो, त्यसपछि खोलाको किनारभन्दा माथि जग राखेर बजार बनाएको भए हुन्थ्यो ।’


एक वर्षभित्र काम सक्ने गरी विश्व बैंकको ऋण तथा अनुदानमा २०७३ को माघदेखि यो आयोजनामा काम सुरु भएको थियो । ७० प्रतिशत निर्माण सकेपछि बाढीले क्षति पुर्‍याउँदा पुनर्निर्माणमा थप समय लागेको थियो । प्रदेश १ सरकारले बजार सञ्चालन कार्यविधि बनाएर यो बजार सञ्चालनमा ल्याउने भन्दै आए पनि तरकारीका थोक व्यवसायी यहाँ आउन मानेका छैनन् । विराटनगर महानगर–पालिका कार्यालयले सहरको मध्य भागमा रहेको सबैभन्दा पुरानो तरकारी मन्डी गुद्री हाटलाई यो नवनिर्मित भवनमा सार्ने बताएको छ । ‘७ टन तरकारी बोकेर आउने १४/१८ चक्के गाडीलाई पुलले धान्न सक्दैन,’ गुद्रीका थोक तरकारी बिक्रेता पशुपति भगतले भने । उनी गुद्री बजार व्यवस्थापन समितिका सल्लाहकार पनि हुन् ।


बाढीमा सिंघिया खोला किनारको पानी सोझै उक्त तरकारी बजारमा प्रवेश गर्ने हुनाले जोखिम मोलेर व्यापार गर्न नसकिने उनले बताए । समितिका अनुसार गुद्रीमा भारत र नेपालको विभिन्न थलोबाट दैनिक १५० टन तरकारी आउँछ । यहाँ तरकारीको २० वटा थोक मन्डी छन् । नियमित लाग्ने गुद्री हाटसमेत आइतबारदेखि शनिबारसम्म लाग्ने साप्ताहिक हाटबजारहरूमा झन्डै ३५० ख्द्रुा तरकारी व्यवसायी आउँछन् ।


प्रदेश १ भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयका प्रवक्ता राजेन्द्र उप्रेतीले तरकारी बजार सञ्चालनको विधि पारित भइसकेको र सञ्चालनका लागि छुट्टै समितिसमेत गठन भएकाले एक–डेढ महिनामा सञ्चालनमा आउने दाबी गरे । कटहरी फलफूल तथा तरकारी थोक बजार समितिका कार्यकारी निर्देशकसमेत रहेका पशुपति पोखरेलले वरिपरिको बाटो र कमजोर पुल बाधाका रूपमा रहेको स्विकारे । उनी उक्त मन्त्रालयकै योजना तथा अनुगमन महाशाखाका प्रमुख पनि हुन् । ‘अहिलेलाई तरकारी बोकेर आउने ठूला गाडी ओहोरदोहोर गर्ने खालको पुल र बाटो छैन, सरकारले बनाउनैपर्छ,’ पोखरेलले भने, ‘यो सब नभई अघि बढ्न व्यावहारिक कठिनाइ छ ।’


संघीय एवं प्रदेश सरकारले गुद्री हाटका तरकारी व्यवसायीलाई सार्न खोजे पनि नसकेपछि महानगरपालिका कार्यालयलाई सहयोगका लागि गुहारेको स्रोतले जनाएको छ । महानगरपालिका कार्यालयका प्रवक्ता राजेन्द्र प्रधानले सबैभन्दा प्रत्यक्ष सरोकारवाला थोक तरकारी व्यवसायी एवं कृषकसँग परामर्श गरेर अघि बढ्ने निर्णय भएको बताए ।

प्रकाशित : आश्विन ४, २०७६ ०९:४८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?