कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

साँघुरा पुल विस्थापन गर्न टेन्डर

विमल खतिवडा

काठमाडौँ — स्तरोन्नति गरेर सञ्चालनमा आएको लामो समयपछि नारायणगढ–मुग्लिन सडक खण्डमा पुल निर्माणका लागि टेन्डर आह्वान गरिएको छ । सडक सञ्चालनमा आएको १६ महिनापछि साँघुरा पुल विस्थापन गरेर नयाँ बनाउन लागिएको हो । दुई लेनको सडक बने पनि साँघुरा पुलले दैनिक समस्या हुँदै आएको थियो । 

सडक विभागअन्तर्गत पुल महाशाखाका अनुसार पुल डबल लेनमा निर्माण गर्ने गरी टेन्डर आह्वान गरिएको हो । ‘पुल निर्माणका लागि टेन्डर आह्वान गरेका छौं,’ पुल महाशाखाका प्रमुख दीपक भट्टराईले भने, ‘नयाँ बन्ने पुलको स्ट्यान्डर डबल लेनको हुनेछ ।’ उनका अनुसार नयाँ बन्ने पुल फुटपाथसहित ११ मिटर चौडा हुनेछन् । अप्ठेरो भीरमा रहेका पुल भने ९ मिटरका हुनेछन । ‘१४ पुल प्रतिस्थापन र एउटा नयाँ थप्नेछौं,’ उनले भने, ‘सेतीदोभानमा घुम्ती भएकाले सडकलाई सिधा बनाउने गरी नयाँ पुल थप्नेछौं ।’ टेन्डरको समय ३५ दिनसम्म हुनेछ ।


सबैको एउटै ठेक्का भए पनि दुईवटा प्याकेजमा काम हुनेछ । ‘अहिले भइरहेका साँघुरा पुल ६ मिटर चौडा छन्,’ उनले भने, ‘ठेक्का सम्झौता भएपछि डिजाइन र निर्माण सक्ने गरी ३३ महिनाको समय दिनेछौं ।’ दुइवटा प्याकेजमध्ये एउटामा ७ र अर्कोमा ८ वटा पुलको ठेक्का हुनेछ । सरकारले गत साउनमा उक्त सडक खण्डमा पुल निर्माणका लागि बाटो खुला गरिदिएको थियो । डबल लेनमा पुल बनाउन अत्यावश्यक देखिएको भन्दै डिजाइन र निर्माणसम्बन्धी काम ठेक्काबाट गर्ने गरी बोलपत्र आह्वान गर्न मन्त्रिपरिषद् निर्णयबाट स्वीकृति दिएसँगै निर्माणका लागि बाटो खुलेको थियो ।


कानुनमा डिजाइन एन्ड बिल्डको सम्बन्धमा स्पष्ट उल्लेख नभएको भन्दै सडक विभागअन्तर्गत पुल महाशाखाले मन्त्रिपरिषद्मा निर्णय गरिदिन माग गर्दै पत्र पठाएको थियो । यो खण्डमा १८ वटा पुल छन् । जसमध्ये ३ वटा पुलको निर्माण सकिइसकेको छ । एउटा निर्माणको क्रममा छ । सडक खण्डको मौरी, खानी र दासढुंगाको पुल निर्माण सकेर सञ्चालनमा आइसकेका छन् । जलवीरे खण्डमा निर्माणकै क्रममा छ । ‘अन्य तीनवटा पुलको निर्माण सकिएर सञ्चालनमा आइसकेका छन्,’ नारायणगढ–मुग्लिन सडक आयोजनाका इन्जिनियर शिव खनालले भने, ‘जलवीरे पुलमा वर्षात् लागेपछि काम हुन सकेको छैन तर निर्माणको काम यही आर्थिक वर्षभित्र सकिनेछ ।’


यो खण्ड भएर दैनिक करिब १० हजार सवारी साधन ओहोरदोहोर गर्छन् । भौगोलिक विकटताले गर्दा पुलको सर्भे गर्न समस्या हुँदा चाइनिज विज्ञ टोली आएर पुल निर्माण गर्ने ठाउँको स्थलगत अवलोकन गरेको थियो । विज्ञ टोलीले पुल निर्माण गर्ने ठाउँ हेरेर त्यहीअनुसार डकुमेन्ट तयार पारेको थियो । यो सडक काठमाडौं जोड्ने लाइफ लाइनका रूपमा परिचित छ ।

प्रकाशित : आश्विन ४, २०७६ ०९:४७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?