पोल सार्न ५० अर्ब लाग्ने अनुमान

कान्तिपुर संवाददाता

काठमाडौँ — सडक विस्तारका लागि विद्युत् पोल सार्न मात्रै ५० अर्ब रुपैयाँभन्दा बढी लाग्ने नेपाल विद्युत् प्राधिकरणले अनुमान गरेको छ । प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले प्राधिकरणलाई पर्याप्त बजेट नदिँदा पोल सार्न गाह्रो भएको बताए । 

प्रदेश ५ को मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यलयले बिहीबार बुटवलमा गरेको कार्यक्रममा बोल्दै घिसिङले सडक विभागले ठेक्का गर्दा नै पोल सार्ने खर्च पनि समावेश गर्नुपर्ने बताए । उनले पोल सार्न प्राधिकरणले प्राविधिक सहयोग र सहजीकरण मात्रै गर्न सक्ने प्रस्ट पारे ।

‘मुलकभर सडक विस्तार भइरहेको छ, त्यहाँ रहेका पोल सार्न ५० अर्ब रुपैयाँभन्दा बढी लाग्ने देखिएको छ तर सरकारले बजेट भने २०/२५ करोड मात्रै दिएको छ । त्यसैले एकातर्फ पोल सार्न बजेट अभाव छ भने अर्कोतर्फ झन्झटिलो र गाह्रो छ,’ उनले भने । ‘पोल सार्नका लागि प्राधिकरण बाधक बन्दैन, सम्बन्धित निकायले सार्नुपर्छ, गुणस्तर सुनिश्चित गर्न प्राविधिक सहयोग गर्न तयार छौं,’ उनले भने । सरकारले पोल सार्नका लागि गत आर्थिक वर्षमा २१ करोड र चालु आवमा २४ करोड रुपैयाँ विनियोजन गरेको छ । प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेलले सडक विस्तारका क्रममा पोल नसारिदिएको भन्दै प्राधिकरणको आलोचना हुने गरेकाले यसतर्फ ध्यान दिनुपर्ने बताए । ‘सडकमा रहेका विद्युत् पोलहरू समयमै सार्न नसक्दा आयोजनाको निर्माण प्रभावित हुने गरेको छ, यसबाट प्राधिकरणको प्रतिष्ठामै आघात पुग्ने गरेको छ, सरकारी निकायहरूबीच समन्वय गरी काम अगाडि बढाइनुपर्छ,’ उनले भने । ‘सडकको ठेक्का प्रक्रियामा नै कसले र कति समयभित्र पोल सारिसक्ने भन्ने टुंगो लगाइनुपर्छ, प्राधिकरणले पोल सार्दा प्राविधिक अनुगमन गरिदिनुपर्छ ।’ प्रदेश ५ का ९ जिल्लामा मात्रै १ हजार ७ सय ५९ पोल सार्नुपर्नेछ ।

प्रदेश ५ सरकारले आर्थिक वर्ष ०७८/७९ सम्ममा आफूअन्तर्गत रहेका १२ जिल्लामा शतप्रतिशत विद्युतीकरण गर्ने घोषणा गरेको छ । अहिले यस प्रदेशका ८१ प्रतिशत जनसंख्यामा विद्युत्को पहुँच पुगेको छ । प्रदेश सरकारले चालु आवमा ऊर्जा क्षेत्रमा ३५ करोड रुपैयाँ विनियोजन गरेको छ । यस प्रदेशमा ३६.४५ मेगावाटका ६ वटा जलविद्युत् आयोजना सञ्चालनमा छन् भने ६४ मेगावाटका ६ आयोजना निर्माणाधीन छन् ।

प्रकाशित : आश्विन ३, २०७६ ०९:१७
प्रतिक्रिया
पठाउनुहोस्

पर्याप्त छैनन् ‘टी टेस्टर’

नेपाली चिया बगानमा सरसफाइ, पर्याप्त मलखाद, सिँचाइको व्यवस्था, हरियो चिया पत्ती टिप्दा अपनाउनुपर्ने सावधानी, तयारी चिया बनाउँदा आवश्यक प्राविधिक ज्ञानलगायतको कमी 
अर्जुन राजवंशी

(बिर्तामोड) — बाहुनडाँगीस्थित शुभ चिया किसान सहकारी संस्थाका व्यवस्थापक सचिन निरौला आफ्नो कारखानाले कुन गुणस्तरको चिया उत्पादन गर्दैछ भन्नेमा अनभिज्ञ थिए । कारखानाले मेसिन अपरेटरको भरमा तयारी चिया उत्पादन गर्दै आएको थियो ।

बिर्तामोडमा गुणस्तरीय चिया परीक्षणसम्बन्धी तालिममा कृषि प्राविधिकहरूलाई चियाको गुणस्तर परीक्षण गर्न सिकाउँदै भारत सिलिगुडीका टी टेस्टर परवेज हुसेन ।तस्बिर : अर्जुन/कान्तिपुर 

मंगलबारदेखि भने निरौला तयारी चिया उत्पादनमा निकै ध्यान दिन थालेका छन् । चियाको गुणस्तर परीक्षणबारे तीनदिने तालिम लिएपछि उनी गुणस्तर कायम गर्नेबारे आधारभूत विषयमा जानकार भएका छन् ।
‘यो तालिममा आउनुअघि त अपरेटरकै भरमा चिया बनाइरहेका रहेछौं,’ निरौलाले भने, ‘गुणस्तरीय चिया उत्पादनको महत्त्व, यसका लागि अपनाउनुपर्ने गम्भीरताबारे बल्ल थाहा भयो ।’ राष्ट्रिय चिया तथा कफी विकास बोर्डले बिर्तामोडस्थित क्षेत्रीय कार्यालयमा भदौ २९ देखि ३१ सम्म देशभरिका १५ जना कृषि प्राविधिकलाई ‘टी टेस्टर’ तालिम दिएको छ ।

साना चिया किसानको सक्रियतामा शुभ चिया किसान सहकारीले गत वर्षदेखि आफ्नै कारखानाबाट तयारी चिया उत्पादन गर्न थालेको छ । शुभसहित झापाका चारवटा सहकारीले आफ्नै चिया कारखाना सञ्चालन गर्दै आएका छन् । ती कारखानामा दक्ष चिया प्राविधिकको कमी छ । जिल्लामा सहकारीबाहेक अन्य ३० भन्दा बढी चिया कारखाना सञ्चालनमा छन् । ती कारखानामा पनि चिया बुझेका दक्ष प्राविधिकको कमी छ ।

‘नेपालमा गुणस्तरीय चिया परीक्षण गर्ने दक्ष टी टेस्टर छैनन्,’ बोर्डका बिर्तामोड प्रमुख रामएकवाल यादवले भने, ‘त्यो अभावलाई पूर्ति गर्न चिया तथा कफी विकास बोर्डमा कार्यरत कृषि प्राविधिक र साना चिया किसानका प्राविधिकलाई टी टेस्टर बनाउने उद्देश्यले तालिम आयोजना गरेका हौं ।’ टी टेस्टरको अभावमा नेपाली चिया कारखानामा कुन स्तरको चिया उत्पादन हुने गरेको छ ? कसैलाई जानकारी नरहेको उनले बताए । बोर्डले वार्षिक एकपटक नेपाली चियाको गुणस्तर परीक्षण गर्छ । उक्त परीक्षणमा भारतबाट टी टेस्टर ल्याउनुपर्ने बाध्यता रहेको यादवले बताए ।

दक्ष प्राविधिकको अभावमा नेपाली चिया राम्रो भएर पनि ‘बद्नाम’ रहेको भारत सिलिगुडीका टी टेस्टर विनोद सिन्हाले बताए । उनले नेपालमा मेसिनका भरमा चिया उत्पादन भइरहेको बताए । ‘गुणस्तरीय चिया बनाउने विषयमा कुनै तयारी र गम्भीरता देखिँदैन,’ सिन्हाले भने, ‘राम्रो भएर पनि तयारी चिया गुणस्तरीय बनाउन नसक्दा नेपाली चियाले राम्रो मूल्य प्राप्त गर्न सकिरहेको छैन ।’ नेपाली चिया बगानमा सरसफाइ, पर्याप्त मलखाद, सिँचाइको व्यवस्था, हरियो चिया पत्ती टिप्दा अपनाउनुपर्ने सावधानी, तयारी चिया बनाउदा आवश्यक प्राविधिक ज्ञानको कमी रहेको सिन्हाले बताए ।

गुणस्तरीय चिया उत्पादनका लागि आवश्यक पर्ने हरियो पत्तीमा नेपाली चिया उद्यमी र साना किसानले सामान्य गम्भीरतासमेत नअपनाउने गरेको उनको भनाइ छ । सिलिगुडीकै टी टेस्टर परवेज हुसेनले चियाको गुणस्तर परीक्षणमा नेपाल सरकार तथा चिया उद्यमीहरूलाई गम्भीर बन्न आग्रह गरे । उनले नेपाली चिया बगानका बोटहरू नयाँ भएकाले राम्रो हरियो पत्ती उत्पादन भइरहेको बताए । ‘नेपाली बगानका हरियो चिया पत्तीहरू राम्रा छन्,’ हुसेनले भने, ‘हरियो पत्तीजस्तै तयारी चिया पनि कसरी गुणस्तरीय बनाउने भन्ने विषयमा ध्यान दिन जरुरी छ । यसका लागि दक्ष प्राविधिकको विकल्प छैन ।’

विज्ञकाअनुसार नेपाली चियामा ‘वेदेरिङ नमिलेको’, हिटिङ बढी हुँदा डढेर गन्हाउने, धुलो मिसिएको, चिया पातलो हुने, कडा पन पर्याप्त नआउने, देख्दा राम्रो नदेखिनेलगायत समस्या छन् । उनीहरूले चियाका बगानमा पनि नियमित हेरचाह नगर्ने गरेको, चियाका बोट एकनासको नभएकाले पनि गुणस्तरीय चिया उत्पादनमा बाधा पुग्ने गरेको बताए ।

चियाको गुणस्तर परीक्षण नियमित गर्नुपर्नेमा उनीहरूको जोड छ । नेपालका अधिकांश चिया कारखानामा दक्ष प्राविधिक नभएकाले पनि नेपाली तयारी चिया गुणस्तरीय उत्पादन हुन नसकिरहेको सिन्हाले बताए । बोर्डले
आयोजना गरेको तालिममा काठमाडौं, पोखरा, प्यूठान, नुवाकोट, धनकुटा, झापा, इलाम, पाँचथर र ताप्लेजुङका कृषि प्राविधिकहरू सहभागी थिए ।

प्रकाशित : आश्विन ३, २०७६ ०९:१७
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्