३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ६३१

पर्याप्त छैनन् ‘टी टेस्टर’

नेपाली चिया बगानमा सरसफाइ, पर्याप्त मलखाद, सिँचाइको व्यवस्था, हरियो चिया पत्ती टिप्दा अपनाउनुपर्ने सावधानी, तयारी चिया बनाउँदा आवश्यक प्राविधिक ज्ञानलगायतको कमी 
अर्जुन राजवंशी

(बिर्तामोड) — बाहुनडाँगीस्थित शुभ चिया किसान सहकारी संस्थाका व्यवस्थापक सचिन निरौला आफ्नो कारखानाले कुन गुणस्तरको चिया उत्पादन गर्दैछ भन्नेमा अनभिज्ञ थिए । कारखानाले मेसिन अपरेटरको भरमा तयारी चिया उत्पादन गर्दै आएको थियो ।

पर्याप्त छैनन् ‘टी टेस्टर’

मंगलबारदेखि भने निरौला तयारी चिया उत्पादनमा निकै ध्यान दिन थालेका छन् । चियाको गुणस्तर परीक्षणबारे तीनदिने तालिम लिएपछि उनी गुणस्तर कायम गर्नेबारे आधारभूत विषयमा जानकार भएका छन् ।

‘यो तालिममा आउनुअघि त अपरेटरकै भरमा चिया बनाइरहेका रहेछौं,’ निरौलाले भने, ‘गुणस्तरीय चिया उत्पादनको महत्त्व, यसका लागि अपनाउनुपर्ने गम्भीरताबारे बल्ल थाहा भयो ।’ राष्ट्रिय चिया तथा कफी विकास बोर्डले बिर्तामोडस्थित क्षेत्रीय कार्यालयमा भदौ २९ देखि ३१ सम्म देशभरिका १५ जना कृषि प्राविधिकलाई ‘टी टेस्टर’ तालिम दिएको छ ।


साना चिया किसानको सक्रियतामा शुभ चिया किसान सहकारीले गत वर्षदेखि आफ्नै कारखानाबाट तयारी चिया उत्पादन गर्न थालेको छ । शुभसहित झापाका चारवटा सहकारीले आफ्नै चिया कारखाना सञ्चालन गर्दै आएका छन् । ती कारखानामा दक्ष चिया प्राविधिकको कमी छ । जिल्लामा सहकारीबाहेक अन्य ३० भन्दा बढी चिया कारखाना सञ्चालनमा छन् । ती कारखानामा पनि चिया बुझेका दक्ष प्राविधिकको कमी छ ।


‘नेपालमा गुणस्तरीय चिया परीक्षण गर्ने दक्ष टी टेस्टर छैनन्,’ बोर्डका बिर्तामोड प्रमुख रामएकवाल यादवले भने, ‘त्यो अभावलाई पूर्ति गर्न चिया तथा कफी विकास बोर्डमा कार्यरत कृषि प्राविधिक र साना चिया किसानका प्राविधिकलाई टी टेस्टर बनाउने उद्देश्यले तालिम आयोजना गरेका हौं ।’ टी टेस्टरको अभावमा नेपाली चिया कारखानामा कुन स्तरको चिया उत्पादन हुने गरेको छ ? कसैलाई जानकारी नरहेको उनले बताए । बोर्डले वार्षिक एकपटक नेपाली चियाको गुणस्तर परीक्षण गर्छ । उक्त परीक्षणमा भारतबाट टी टेस्टर ल्याउनुपर्ने बाध्यता रहेको यादवले बताए ।


दक्ष प्राविधिकको अभावमा नेपाली चिया राम्रो भएर पनि ‘बद्नाम’ रहेको भारत सिलिगुडीका टी टेस्टर विनोद सिन्हाले बताए । उनले नेपालमा मेसिनका भरमा चिया उत्पादन भइरहेको बताए । ‘गुणस्तरीय चिया बनाउने विषयमा कुनै तयारी र गम्भीरता देखिँदैन,’ सिन्हाले भने, ‘राम्रो भएर पनि तयारी चिया गुणस्तरीय बनाउन नसक्दा नेपाली चियाले राम्रो मूल्य प्राप्त गर्न सकिरहेको छैन ।’ नेपाली चिया बगानमा सरसफाइ, पर्याप्त मलखाद, सिँचाइको व्यवस्था, हरियो चिया पत्ती टिप्दा अपनाउनुपर्ने सावधानी, तयारी चिया बनाउदा आवश्यक प्राविधिक ज्ञानको कमी रहेको सिन्हाले बताए ।


गुणस्तरीय चिया उत्पादनका लागि आवश्यक पर्ने हरियो पत्तीमा नेपाली चिया उद्यमी र साना किसानले सामान्य गम्भीरतासमेत नअपनाउने गरेको उनको भनाइ छ । सिलिगुडीकै टी टेस्टर परवेज हुसेनले चियाको गुणस्तर परीक्षणमा नेपाल सरकार तथा चिया उद्यमीहरूलाई गम्भीर बन्न आग्रह गरे । उनले नेपाली चिया बगानका बोटहरू नयाँ भएकाले राम्रो हरियो पत्ती उत्पादन भइरहेको बताए । ‘नेपाली बगानका हरियो चिया पत्तीहरू राम्रा छन्,’ हुसेनले भने, ‘हरियो पत्तीजस्तै तयारी चिया पनि कसरी गुणस्तरीय बनाउने भन्ने विषयमा ध्यान दिन जरुरी छ । यसका लागि दक्ष प्राविधिकको विकल्प छैन ।’


विज्ञकाअनुसार नेपाली चियामा ‘वेदेरिङ नमिलेको’, हिटिङ बढी हुँदा डढेर गन्हाउने, धुलो मिसिएको, चिया पातलो हुने, कडा पन पर्याप्त नआउने, देख्दा राम्रो नदेखिनेलगायत समस्या छन् । उनीहरूले चियाका बगानमा पनि नियमित हेरचाह नगर्ने गरेको, चियाका बोट एकनासको नभएकाले पनि गुणस्तरीय चिया उत्पादनमा बाधा पुग्ने गरेको बताए ।


चियाको गुणस्तर परीक्षण नियमित गर्नुपर्नेमा उनीहरूको जोड छ । नेपालका अधिकांश चिया कारखानामा दक्ष प्राविधिक नभएकाले पनि नेपाली तयारी चिया गुणस्तरीय उत्पादन हुन नसकिरहेको सिन्हाले बताए । बोर्डले

आयोजना गरेको तालिममा काठमाडौं, पोखरा, प्यूठान, नुवाकोट, धनकुटा, झापा, इलाम, पाँचथर र ताप्लेजुङका कृषि प्राविधिकहरू सहभागी थिए ।

प्रकाशित : आश्विन ३, २०७६ ०९:१७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?