चितवनमा जिपलाइन

प्रमिता ढकाल

(भरतपुर) — उत्तरतर्फबाट सडक मार्ग हुँदै चितवन भित्रिएका आगन्तुकलाई बाटैमा स्वागत गर्छ जलदेवी सामुदायिक वन उपभोक्ता समितिले । 

आँपटारी आइपुगेका आगन्तुकलाई जलदेवी सामुदायिक वन क्षेत्रको दायाँपट्टि साहसिक खेल जिपलाइनले लोभ्याउँछ । देशकै तेस्रो पर्यटकीय गन्तव्य चितवनमा बुधबारदेखि थपिएको पर्यटक आकर्षणको अर्को गतिविधि जिपलाइन नेपालकै सामुदायिक वनहरूमध्ये जलदेवी सामुदायिक वनले पहिलोपटक सञ्चालनमा ल्याएको हो ।

पर्यटन वर्ष २०२० लक्षित गरेर चितवनमा पर्यटकीय आकर्षणका विभिन्न सम्भाव्यता अध्ययन र कार्यान्वयनको पाटोमा अघि बढिरहँदा उक्त सामुदायिक वनले साहसिक खेलको अवधारणा ल्याएको हो । बुधबार खेल उद्घाटन गर्दै प्रदेश ३ का पर्यटनमन्त्री अरुण नेपालले साहसिक गतिविधि रोज्ने पर्यटकका लागि चितवन प्राथमिकतामा पार्न जिपलाइन सफल हुने बताए । सामुदायिक वन उपभोक्ता समितिले वन संरक्षण र आयआर्जनको पाटोलाई राम्रोसँग
उपयोग गर्न उत्तम विकल्प रोजेको भन्दै प्रशंसा गरे ।

सामुदायिक वनको ५१ प्रतिशत र निजी क्षेत्रको ४९ प्रतिशत लगानीमा ‘जिप लाइन’ निर्माण गरिएको उपभोक्ता समितिका अध्यक्ष केशव थापाले बताए । ‘चितवन घुम्न आउने पर्यटकहरूलाई नयाँ प्याकेजका रूपमा जिपलाइन सुरु भएको छ,’ थापाले भने, ‘चितवनमा पर्यटकको बसाइ लम्ब्याउन सामुदायिक वन क्षेत्रको पनि योगदान रहनेछ ।’ नेपालमा यसअघि काभ्रे र पोखरामा जिपलाइनजस्तै खेल गतिविधि सञ्चालनमा आइसके पनि सामुदायिक वन भित्र भने नेपालमा नै पहिलोपटक जलदेवी सामुदायिक वनले सञ्चालन गरेको उनले दाबी गरे । यो खेलमा एक रुखबाट अर्को रुखमा फलामको डोरी टाँगिएको हुन्छ । डोरीमा एक प्रकारको घिर्नी जोडिएको हुन्छ । त्यही घिर्नीमा विशेष प्रकारको सुरक्षा सतर्कतासहितको फितामा झुन्डिएर पर्यटक माथिबाट तल झर्छन् । हावाको बेगमा प्रकृतिको आनन्द लिनका लागि यो खेल रुचाइन्छ ।

एक हजार ५० मिटर लामो जिपलाइनमा दुईवटा रुट निर्माण गरिएको छ । रुट नम्बर १ को लम्बाइ एक सय ९७ मिटर र रुट २ को लम्बाइ एक सय ७५ मिटर लामो छ । खेलको सर्वसुलभताका लागि टिकट मूल्य ५ सय र ६ सय रुपैयाँ तोकिएको छ । बालबालिकाका लागि एक सय रुपैयाँ तोकिएको छ । त्यही टिकटमा ७ लाख रुपैयाँको बिमासमेत गरेको अध्यक्ष थापाले जानकारी दिए । सामुदायिक वन र वाइल्ड वन्डरस नेपालको संयुक्त लगानीमा निर्माण गरिएको साहसिक खेल ‘जिपलाइन’ बाट हुने आम्दानीको १० प्रतिशत रकम वन संरक्षणको क्षेत्रमा खर्च गरिने बताइएको छ । एक सय ९९ हेक्टर क्षेत्रफलमा फैलिएको सामुदायिक वनका १ हजार ३ सय ५० उपभोक्ता छन् । जलदेवी जिपलाइन परियोजना अझै निर्माणका क्रममा रहेकाले करिब एक करोड खर्च अनुमान गरिएको छ ।

प्रकाशित : आश्विन ३, २०७६ ०९:१३
प्रतिक्रिया
पठाउनुहोस्

एउटै फार्ममा सवा ५ करोडका स्याउ

आश गुरुङ

(मनाङ) — मनाङ ङिस्याङ गाउँपालिका–१ भ्राताङस्थित एक फार्ममा लटरम्म स्याउ फलेका छन् । गाला, गोल्डेन र फुजी गरी तीन थरीका स्याउ फलेको बगैंचामा गाला प्रजातिका स्याउ टिप्न थालिएको छ । गाला सकिएपछि गोल्डेन टिप्ने र त्यसपछि फुजीको पालो छ । 

हिमाली जिल्ला मनाङको मनाङ ङिस्याङ–१ भ्राताङस्थित एग्रो मनाङ प्रालिको बगैंचामा स्याउ टिप्दै ।तस्बिर : आश/कान्तिपुर

स्याउ टिप्न मात्रै एकदेखि डेढ महिना समय लाग्छ । ७३५ रोपनी जग्गामा संरचना निर्माण गरेको एग्रो मनाङले ४५० रोपनीमा स्याउ फलाएको छ । यस वर्ष कम्तीमा ४ सय टन स्याउ उत्पादन हुने प्रक्षेपण गरिएको छ । गत वर्ष ३५० टनभन्दा बढी स्याउ उत्पादन भएको थियो । एग्रो मनाङका अध्यक्ष समराज गुरुङका अनुसार १ सयदेखि १६० रुपैयाँ प्रतिकिलो स्याउ बिक्री गर्ने तयारी छ ।

यसमा ३ प्रकारका स्याउको दाना हेरीहेरी बिक्री गरिनेछ । औसत १३० रुपैयाँमा बिक्री गर्दा मात्रै ५ करोड २० लाख आम्दानी हुने उनले बताए । ‘बगानको स्याउ हेर्दा ४५० टनजति स्याउ उत्पादन हुनुपर्ने हो । केही साना दानाका स्याउ हामी बिक्री गर्दैनौं,’ उनले भने, ‘ती स्याउ जुस, चिप्सलगायतमा प्रयोग गर्छौं । त्यसबाट पनि आम्दानी हुन्छ ।’

एग्रो मनाङको स्याउ बजारमा पुग्ने बेला भए पनि बेंसीसहर–चामे सडकको ठाउँठाउँमा गएको पहिरो र बेलिब्रिज पुनर्निर्माण नसकिएको अध्यक्ष गुरुङले बताए । ‘स्याउ टिपेर मात्रै भएन । बजारमा पुर्‍याउनुपर्‍यो । बजारमा पुर्‍याउन तत्काल सडक सहज छैन,’ उनले भने, ‘हामी केही दिनमै बजारमा स्याउ पुर्‍याउने प्रयासमा छौं ।’

उनले काठमाडौं, पोखरालगायत ठूलाठूला डिमार्टमेन्ट स्टोर्स तथा होटलमा एग्रो मनाङको स्याउ पुगेको बताए । ‘हामी यस वर्षदेखि स्वदेशमा मात्रै होइन, विदेशमा पनि स्याउ पुर्‍याउने प्रयासमा छौं । यस वर्षदेखि कतारमा एग्रो मनाङको स्याउ पुग्छ । यसको प्रक्रिया पूरा भइसकेको छ,’ उनले भने । उनका अनुसार एग्रो मनाङको स्याउ ‘हिमालयन फ्रेस’ ब्रान्डबाट बजारमा पुग्छ ।

समुद्री सतहदेखि २ हजार ९ सय मिटर उचाइको भ्राताङमा इटली र सर्भियाबाट स्याउ बोट ल्याएर ‘हाइडेन्सिटी’ प्रविधिमार्फत स्याउ फलाएको पाँच वर्ष भयो । स्याउलाई स्टोर गर्न भ्राताङ, बेंसीसहर र काठमाडौंमा कोल्ड स्टोर्स (चिस्यान केन्द्र) निर्माण गरिएको छ । अघिल्ला वर्षमा एग्रो मनाङको स्याउ छ महिनाभित्र सबै बिक्री हुने गरेको थियो । यस्तै प्रकारको स्याउ माथिल्लो मनाङको हुम्डे क्षेत्रमा करिब ३५० रोपनीमा लगाउने तयारी गरिएको छ । मुस्ताङ, जुम्ला, रसुवा, गोरखालगायत जिल्लामा भने परीक्षण भएर फल्न थालेको छ । एग्रो मनाङका संस्थापक प्रतिनिधिसभा सांसद पोल्देन छोपाङ गुरुङले इटाली र सर्भियामा २ वर्ष हुर्किसकेको र यहाँ ल्याएपछि रोपेको ६ महिनाबाट नै स्याउ फलेको बताए । उनका अनुसार नासों र चामे गाउँपालिकाका विभिन्न ठाउँमा ‘हाइडेन्सिटी’ प्रविधिमार्फत स्याउ फल्न थालेको छ । नार्पाभूमि गाउँपालिकाको मेतामा परीक्षण गरिने उनले बताए । ‘विदेशबाट अर्बौं रुपैयाँको स्याउ नेपाल भित्रिन्छ । हामी नेपालमै स्याउ फलाउन चाहन्छौं । सरकारले उचित वातावरण मिलाउनुपर्छ,’ उनले भने ।

प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना (स्याउ जोन) इकाई कार्यालय मनाङका प्रमुख कृषि अधिकृत राजेश्वर सिलवालका अनुसार बढी राम्रो, ठूलो फल दिने भएकाले किसान ‘हाइडेन्सिटी’ प्रविधिको स्याउतर्फ आकर्षित छन् । मलखाद, सिँचाइ, उपचार तथा व्यवस्थापनले साना बोटमा पनि धेरै फल लाग्ने भएकाले स्याउको उत्पादन बढ्दो क्रममा रहेको उनले बताए । मनाङमा गत वर्ष ९१६ टन स्याउ उत्पादन भएको थियो ।

एग्रो मनाङले माथिल्लो मनाङका तत्कालीन ७ गाविस (हाल मनाङ ङिस्याङ गाउँपालिका) को सगोलमा रहेको जग्गा भाडामा लिएर स्याउ खेती गर्दै आएको छ । मनाङ मर्स्याङ्दी क्लबको आयस्रोत बढाउन उपलब्ध गराएको उक्त जग्गालाई एग्रो मनाङले टेन्डर प्रक्रियाबाट ५ वर्षअघि २७ वर्षका लागि १२ करोड ९१ लाख ११ हजार भाडा तिर्ने गरी लिजमा लिएको थियो ।

प्रकाशित : आश्विन ३, २०७६ ०९:१२
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्