एउटै फार्ममा सवा ५ करोडका स्याउ

आश गुरुङ

(मनाङ) — मनाङ ङिस्याङ गाउँपालिका–१ भ्राताङस्थित एक फार्ममा लटरम्म स्याउ फलेका छन् । गाला, गोल्डेन र फुजी गरी तीन थरीका स्याउ फलेको बगैंचामा गाला प्रजातिका स्याउ टिप्न थालिएको छ । गाला सकिएपछि गोल्डेन टिप्ने र त्यसपछि फुजीको पालो छ । 

हिमाली जिल्ला मनाङको मनाङ ङिस्याङ–१ भ्राताङस्थित एग्रो मनाङ प्रालिको बगैंचामा स्याउ टिप्दै ।तस्बिर : आश/कान्तिपुर

स्याउ टिप्न मात्रै एकदेखि डेढ महिना समय लाग्छ । ७३५ रोपनी जग्गामा संरचना निर्माण गरेको एग्रो मनाङले ४५० रोपनीमा स्याउ फलाएको छ । यस वर्ष कम्तीमा ४ सय टन स्याउ उत्पादन हुने प्रक्षेपण गरिएको छ । गत वर्ष ३५० टनभन्दा बढी स्याउ उत्पादन भएको थियो । एग्रो मनाङका अध्यक्ष समराज गुरुङका अनुसार १ सयदेखि १६० रुपैयाँ प्रतिकिलो स्याउ बिक्री गर्ने तयारी छ ।

यसमा ३ प्रकारका स्याउको दाना हेरीहेरी बिक्री गरिनेछ । औसत १३० रुपैयाँमा बिक्री गर्दा मात्रै ५ करोड २० लाख आम्दानी हुने उनले बताए । ‘बगानको स्याउ हेर्दा ४५० टनजति स्याउ उत्पादन हुनुपर्ने हो । केही साना दानाका स्याउ हामी बिक्री गर्दैनौं,’ उनले भने, ‘ती स्याउ जुस, चिप्सलगायतमा प्रयोग गर्छौं । त्यसबाट पनि आम्दानी हुन्छ ।’

एग्रो मनाङको स्याउ बजारमा पुग्ने बेला भए पनि बेंसीसहर–चामे सडकको ठाउँठाउँमा गएको पहिरो र बेलिब्रिज पुनर्निर्माण नसकिएको अध्यक्ष गुरुङले बताए । ‘स्याउ टिपेर मात्रै भएन । बजारमा पुर्‍याउनुपर्‍यो । बजारमा पुर्‍याउन तत्काल सडक सहज छैन,’ उनले भने, ‘हामी केही दिनमै बजारमा स्याउ पुर्‍याउने प्रयासमा छौं ।’

उनले काठमाडौं, पोखरालगायत ठूलाठूला डिमार्टमेन्ट स्टोर्स तथा होटलमा एग्रो मनाङको स्याउ पुगेको बताए । ‘हामी यस वर्षदेखि स्वदेशमा मात्रै होइन, विदेशमा पनि स्याउ पुर्‍याउने प्रयासमा छौं । यस वर्षदेखि कतारमा एग्रो मनाङको स्याउ पुग्छ । यसको प्रक्रिया पूरा भइसकेको छ,’ उनले भने । उनका अनुसार एग्रो मनाङको स्याउ ‘हिमालयन फ्रेस’ ब्रान्डबाट बजारमा पुग्छ ।

समुद्री सतहदेखि २ हजार ९ सय मिटर उचाइको भ्राताङमा इटली र सर्भियाबाट स्याउ बोट ल्याएर ‘हाइडेन्सिटी’ प्रविधिमार्फत स्याउ फलाएको पाँच वर्ष भयो । स्याउलाई स्टोर गर्न भ्राताङ, बेंसीसहर र काठमाडौंमा कोल्ड स्टोर्स (चिस्यान केन्द्र) निर्माण गरिएको छ । अघिल्ला वर्षमा एग्रो मनाङको स्याउ छ महिनाभित्र सबै बिक्री हुने गरेको थियो । यस्तै प्रकारको स्याउ माथिल्लो मनाङको हुम्डे क्षेत्रमा करिब ३५० रोपनीमा लगाउने तयारी गरिएको छ । मुस्ताङ, जुम्ला, रसुवा, गोरखालगायत जिल्लामा भने परीक्षण भएर फल्न थालेको छ । एग्रो मनाङका संस्थापक प्रतिनिधिसभा सांसद पोल्देन छोपाङ गुरुङले इटाली र सर्भियामा २ वर्ष हुर्किसकेको र यहाँ ल्याएपछि रोपेको ६ महिनाबाट नै स्याउ फलेको बताए । उनका अनुसार नासों र चामे गाउँपालिकाका विभिन्न ठाउँमा ‘हाइडेन्सिटी’ प्रविधिमार्फत स्याउ फल्न थालेको छ । नार्पाभूमि गाउँपालिकाको मेतामा परीक्षण गरिने उनले बताए । ‘विदेशबाट अर्बौं रुपैयाँको स्याउ नेपाल भित्रिन्छ । हामी नेपालमै स्याउ फलाउन चाहन्छौं । सरकारले उचित वातावरण मिलाउनुपर्छ,’ उनले भने ।

प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना (स्याउ जोन) इकाई कार्यालय मनाङका प्रमुख कृषि अधिकृत राजेश्वर सिलवालका अनुसार बढी राम्रो, ठूलो फल दिने भएकाले किसान ‘हाइडेन्सिटी’ प्रविधिको स्याउतर्फ आकर्षित छन् । मलखाद, सिँचाइ, उपचार तथा व्यवस्थापनले साना बोटमा पनि धेरै फल लाग्ने भएकाले स्याउको उत्पादन बढ्दो क्रममा रहेको उनले बताए । मनाङमा गत वर्ष ९१६ टन स्याउ उत्पादन भएको थियो ।

एग्रो मनाङले माथिल्लो मनाङका तत्कालीन ७ गाविस (हाल मनाङ ङिस्याङ गाउँपालिका) को सगोलमा रहेको जग्गा भाडामा लिएर स्याउ खेती गर्दै आएको छ । मनाङ मर्स्याङ्दी क्लबको आयस्रोत बढाउन उपलब्ध गराएको उक्त जग्गालाई एग्रो मनाङले टेन्डर प्रक्रियाबाट ५ वर्षअघि २७ वर्षका लागि १२ करोड ९१ लाख ११ हजार भाडा तिर्ने गरी लिजमा लिएको थियो ।

प्रकाशित : आश्विन ३, २०७६ ०९:१२
प्रतिक्रिया
पठाउनुहोस्

पलेँटीमा तीन स्रष्टा

कान्तिपुर संवाददाता

काठमाडौँ — धेरैजसो गीतकारको आरोप हुन्छ– ‘रचनाकारलाई ओझेलमा पारियो ।’ हुन पनि कहीँकतै सांगीतिक प्रस्तुति भइरहँदा गायक/गायिका वा संगीतकारको नाम लिने र गीतकार सधैं गुमनाम रहने अभ्यास हुँदै आएकै छ । नेपालयले भने यसपटक फरक थालनी गर्दै छ ।

हरेक अंग्रेजी महिनाको अन्तिम साता हुँदै आएको पलेँटी शृंखलामा यसपटक गीतकारहरूलाई प्राथमिकतामा राखेको छ । आउँदो शृंखलामा साहित्यकारहरू तीर्थ श्रेष्ठ, कालीप्रसाद रिजाल र मञ्जुल (मेघराज शर्मा नेपाल) लाई प्रस्तुत गर्न लागिएको नेपालयले जनाएको छ । साहित्यमा छवि बनाएका यी तीनैजना गीतकारका रूपमा पनि स्थापित छन् ।

‘यसपालिको पलेँटी संगीत र साहित्यको संगम हुने छ,’ नेपालयका अर्पण शर्माले भने, ‘गीतकारहरूलाई उभ्याएर फरक प्रस्तुति दिन खोजेका हौं ।’ रोचक त के भने पलेँटीमै यसपटक यी तीन स्रष्टाका आफ्ना नयाँ प्रकाशित पुस्तक पनि सार्वजनिक हुने छन् । असोजको १० मा सुरु हुने तीनदिने शृंखलामा श्रेष्ठको कविता संग्रह ‘धर्सैधर्साको चक्रव्यूह’, रिजालको संस्मरण ‘काँडामा हाँसेको जिन्दगी’ र नेपालको गीति यात्रा संस्मरण ‘सम्झनाका पाइलाहरू’ सार्वजनिक हुने बताइएको छ । यसबाहेक श्रेष्ठ, कालीप्रसाद रिजाल र नेपालले रचना गरेका संगीतबद्ध गीतहरू सुनाइने छन् । कालिकास्थानस्थित आरशालामा यतिबेला अभ्यास चलिरहेको छ ।

शर्माका अनुसार पहिलो दिन कवि श्रेष्ठ प्रस्तुत हुने छन् । उनले सृजना गरेका गीत, कविताबारे चर्चा र उनीसँगको अन्तरसंवाद पनि हुने छ । उनका गीत गायक फत्तेमानलगायत नयाँ पुस्ताका गायक, गायिकाले स्वर दिएका छन् । श्रेष्ठका चर्चित कविता ‘हिउँमा लेखिएका नाम’ पनि संगीतबद्ध छ । धेरैजसो गीतमा भने संगीतकार आभासले धुन भरेका छन् । ‘तिनै गीतको सांगीतिक माहोलमा कवि श्रेष्ठको नयाँ कृति सार्वजनिक हुने छ,’ शर्माले भने । उनका अनुसार श्रेष्ठले नयाँ पुराना कवितासमेत सनुाउने छन् । साहित्यकार श्रेष्ठले ‘सांगीतिक उत्थानमा सक्रिय पलेँटीबाट कृतिसहित प्रस्तुत हुन पाउनुलाई गर्व’ मानेका छन् । ‘सांगीतिक माहोलमा कवितासमेत प्रस्तुत गर्ने अवसरले खुसी छु,’ उनले भने । दोस्रो दिन भने कवि तथा गीतकार रिजाल प्रस्तुत हुने बताइएको छ । रिजालसँग पनि उनको गीति लेखनको यात्रा र नयाँ पुस्तकका सन्दर्भमाथि अन्तर– संवाद हुने छ । रिजालका नारायण गोपालले गाएका गीत ‘केही मीठो बात गर...’, ‘आँखा छोपी नरोऊ भनी...’, ‘यसैगरी बिताइदिन्छु...’ फत्तेमानको स्वरमा सजिएको ‘वनै खायो डढेलोले...’ जस्ता थुप्रै गीत कालजयी छन् । यी चर्चित गीतका साथै केही नयाँ गीत प्रस्तुति पनि हुने बताइएको छ ।

रिजालले आफ्नो नयाँ पुस्तक एउटा सामान्य मान्छेको जीवन यात्राको विवरण भएको बताउँदै पुस्तकमा आफ्नो समय आफू उभिएको कोणबाट देखिएको सामान्य दृष्टि रहेको बताए । अन्तिम दिन घटस्थापना पर्छ । उक्त साँझ भने कवि तथा गीतकार मञ्जुल प्रस्तुत हुने छन् । यही मेसोलाई मिलाएर नेपालय पब्लिकेसन्सले ‘नेपालय क्यासिक’ शीर्षकअन्तर्गत मञ्जुलको गीति यात्रा संस्मरण ‘सम्झनाका पाइलाहरू’ लाई पुन: प्रकाशित गरेको हो । यो पुस्तकमा मञ्जुल र रामेशको चर्चित सांगीतिक जोडीले पूर्वी नेपालको सांगीतिक भ्रमण गर्दाको यात्रा विवरण पढ्न पाइन्छ ।

पारिजातको अगुवाइमा बीसको सुरुवाती दशकबाटै मञ्जुल, रामेश, रायन, अरिमलगायतले ‘राल्फा’ अभियान चलाएका थिए । गाउँ बस्ती पुगेर फरक धारका गीत गाउने यो अभियान पछि चर्चित बन्यो । ‘राल्फा’ कालभन्दा पहिलेदेखि नै गीत लेखनमा लागेका कवि मञ्जुलले थुप्रै गीत लेखेका छन् ।

राल्फा आन्दोलन भने तत्कालीन वामपन्थी सांस्कृतिक अभियानको अंश बनेको थियो । यसपटक पलेँटीमा उनको विगतको सांगीतिक झलकसमेत समेटिने पलेँटीका संयोजक आभासले जनाए । उनका अनुसार मञ्जुलका गीतहरू ‘मेरो सानो मुरलीमा’, ‘भोकै मर्ने महाकविका पेटका सारंगी’, ‘कोसी छेऊ उभेको सिमल’ जस्ता पृथक् शैलीका रचना मानिन्छन् । उनका अधिकांश गीतमा रामेशको संगीत छ । मञ्जुलले पनि आफ्नो कृतिसहित सांगीतिक प्रस्तुति हुन लागेकोमा खुसी जनाए ।

प्रकाशित : आश्विन ३, २०७६ ०९:०७
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्