मुसुरो, गहुँ र तोरीको बीउ बिकेन

‘स्थानीय तहमा प्राथमिकता नपर्दा केन्द्रमा बीउ त्यतिकै सुक्यो,’ बीउबिजन केन्द्र
राजु चौधरी

काठमाडौँ — सरकारले कृषि प्रवर्द्धनमा जोड दिए पनि बीउ उत्पादन कार्यक्रम भने राखेको छैन । स्थानीय तथा प्रदेश तहमा बीउ उत्पादन कार्यक्रम नहुँदा स्रोत बीउ नेपाल कृषि अनुसन्धान परिषद् (नार्क) मै थन्‍किएको छ ।

मुसुरो, गहुँ र तोरीको बीउ बिकेन

नार्कका अनुसार मुसुरो, गहुँ र तोरीको स्रोत बीउ थन्किएको छ । जिल्लामा रहेका कृषि विकास कार्यालयले स्रोत बीउ उठाउँथे । ‘अहिले कार्यालयहरू ज्ञान केन्द्रमा मर्ज भए,’ नार्कका सहप्रवक्ता प्रवक्ता मनोज ठाकुरले भने, ‘तर, ज्ञान केन्द्रसँग बीउको कुनै कार्यक्रम छैन । जसले गर्दा बीउ उठेको छैन ।’ मुलुकभर ३७ ज्ञान केन्द्रहरू छन् । ती ज्ञान केन्द्रहरूमा बीउ उत्पादन गर्ने कार्यक्रम नभएको उनले बताए । नार्कका अनुसार स्रोत बीउमा ९० प्रतिशत शुद्धता हुन्छ । यो बीउ महँगो हुन्छ । नार्कबाट खरिद गरिएको स्रोत बीउ जिल्ला कार्यालयले बीउ उत्पादनमा लगाउँछन् ।


बीउ उत्पादनका लागि निश्चित किसान तथा सहकारीलाई पनि दिइन्छ । ‘स्रोत बीउबाट बीउ वृद्धि गरेर किसानलाई वितरण गरिन्छ,’ ठाकुरले भने, ‘तर, यो वर्ष बिकेन ।’ ठाकुरका अनुसार अहिले सबैभन्दा बढी धानमा समस्या देखिएको छ । धानको स्रोत बीउ नै बिकेको छैन । स्रोत बीउ अन्यलाई बेच्न पनि मिल्दैन । अहिलेको स्रोत बीउ अर्को वर्ष बिक्री गर्दा यसको गुणस्तरमा गिरावट आउने नार्कले जनाएको छ । नार्कले उत्पादन गरेको स्रोत बीउ बिक्रीका लागि बीउबिजन गुणस्तर नियन्त्रण केन्द्रमा पठाउँछ । केन्द्रले पनि स्रोत बीउको गुणस्तर र मागको आधारमा बिक्री गर्न अनुमति दिन्छ ।


केन्द्रको सिफारिसमै नार्कले स्रोत बीउ बिक्री गर्छ । अहिले बीउ बिक्री हुन नसकेको केन्द्रका सूचना अधिकारी रमेश हुमागाईले बताए । ‘नार्क स्टेसनले स्रोत बीउको उपलब्धता पठाउँछ । बीउको उपलब्धता र गुणस्तर हेरेर केन्द्रलाई बेच्न पत्राचार गर्छ । बीउको माग पनि केन्द्रमै आउँछ,’ हुमागाईले भने, ‘त्यसपश्चात् केन्द्रको सिफारिसमा मात्रै खरिद हुन्छ ।’


केन्द्रका अनुसार तोरीको बीउ ७ हजार ६ सय ५० किलो मौज्दात छ । यसको माग जम्मा ६ सय १० किलो मात्रै छ । अहिले स्रोत बीउ बिक्री नहुँदा अर्को वर्ष बीउ उत्पादनमा समस्या हुने उनले बताए । उनका अनुसार मुसुरो स्रोत बीउ ११ हजार किलो मौज्दात छ । अहिलेसम्म ९१२ किलो मात्रै माग भएको छ । गहुँको स्रोत बीउ ३५० टन मौज्दात छ ।


३ सय टनको मात्रै माग आएको हुमार्गाइले बताए । ‘स्थानीय तथा प्रदेशले बीउ उत्पादन कार्यक्रम सञ्चालन नहुँदा स्रोत बीउ मौज्दातमा बस्यो । माग नै आएन, यसले बीउको चक्रको सन्तुलन बिग्रियो,’ उनले भने, ‘यसले गत वर्षकै गहुँ लगाउने चलन बढ्छ । बीउ उत्पादन नहुँदा व्यापारीले खाने बीउ बाँड्ने खतरा हुन्छ ।’ बीउ आयात गर्नकै लागि ४० कम्पनी केन्द्रमा दर्ता भएका छन् ।


बीउ भारत चीन, थाइल्यान्ड, कोरिया, जापानलगायत मुलुकबाट आयात गरिन्छ । ती कम्पनीहरूले मुख्यत धान, मकै र तरकारीको बीउ आयात गर्छन् । खुला सीमाका कारण साइकल, ट्याक्टरमा पनि आयात हुन्छ । कमसल बीउ किसानलाई वितरण हुँदा बीउ उम्रिए पनि फल आउँदैन । केन्द्रका अनुसार अपौचारिक रूपमा करिब डेढ अर्ब रुपैयाँको बीउ आयात हुन्छ । अवैधानिक आयातको हिसाब नै छैन ।


औपैचारिक रूपमा आयात भएसरह अनौपचारिक आयात भइरहेको छ । स्वदेशमा उत्पादनमा भने जोड दिइएको छैन । बीउ उत्पादनका लागि प्रयोग हुने ‘स्रोत बीउ’ नै उठेको छैन । स्थानीय तथा प्रदेश निकायले स्रोत बीउ खरिद र बीउ वृद्धिमा ध्यान नदिएको नार्कका कर्मचारीहरू बताउँछन् । ‘प्रदेशको केन्द्रमा बीउ बाँड्ने कार्यक्रम भए पनि बीउ प्राथमिकतामै परेन,’ ती अधिकारीले भने, ‘अहिले केन्द्रको स्रोत बीउ त्यत्तिकै सुक्ने अवस्थामा छ । माउ त्यत्तिकै बस्ने तर प्रदेशमा चल्ला खोज्ने काम भयो ।’

प्रकाशित : आश्विन २, २०७६ २०:२५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?