३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३२७

नबिलको २ करोड लुटमाथि पुन: अनुसन्धान

मोहन बुढाऐर

(धनगढी) — मिटरब्याजबाट पीडितको उजुरीपछि यहाँ आएको प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोको टोलीले ६ वर्षअघि भएको नबिल बैंकको रकम लुटपाटको घटना पनि पुन: अनुसन्धान गर्ने भएको छ । अवैध आर्थिक कारोबारमा संगठित अपराधको तथ्य फेला परेको भन्दै २ करोड ३० लाख लुटपाटको घटना पुन: अनुसन्धानमा चासो देखाएको हो ।

धनगढी–६ मटयारीका ३८ वर्षीय सञ्जय राणालाई पक्राउ गरेपछि उनको घरबाट बैंकको रकम लुटपाटमा संलग्नले प्रयोग गरेको जस्ता वस्तु फेला परेको प्रहरीले जनाएको छ ।


राणाबाट बरामद हतियारसहितका केही वस्तुका आधारमा गम्भीर प्रकृतिका अपराधमा संलग्न अरू पनि तानिने सम्भावना बढेको छ । गत बुधबार ब्युरोको टोलीले राणालाई घरबाटै पक्राउ गरेको थियो । करोडौं रुपैयाँ ठगेको भन्दै काठमाडौंका विन्देश्वर श्रेष्ठले राणाविरुद्ध उजुरी दिएका थिए । ‘किर्ते जालसाजी कागजातले मिटरब्याजी र ठगी धन्दामा राणा संलग्न भएको खुलेको छ,’ जिल्ला प्रहरी कार्यालयका एसपी सुदीप गिरीले भने, ‘उनीसंँग भेटिएका चारवटा हतियार, ट्राफिक प्रहरीले प्रयोग गर्ने वस्तु र पोसाकले अनुसन्धान अझै गर्नुपर्ने देखियो ।’


राणाको ४ वटा पेस्तोल, ७ राउन्ड गोलीसहित २३ करोडभन्दा बढी रकमको २३ वटा तमसुक, ३८ वटा खाली चेक, विभिन्न व्यक्तिका नाममा काटिएका २ करोड ४५ लाखभन्दा बढीको १९ वटा चेक, राष्ट्र बैंकले रिलिज गरेको ३ वटा झन्डै २ अर्बको नक्कली ड्राफ्ट र सरकारी कार्यालयदेखि मन्त्रालयसम्मका ३६ थान छाप बरामद भएको जानकारी उनले दिए ।


सबै कागजात प्रहरीले उनको धनगढीको चटकपुरस्थित घरबाट बरामद गरेको हो । धनगढी जाइमा आफ्नै घर भए पनि कारोबार उक्त भाडामा लिएको घरको कोठाबाट सञ्चालन गर्ने गरेको अनुसन्धानबाट खुलेको छ । राणासंँगै प्रहरीले धनगढी–३ का रुद्रप्रसाद अधिकारी र ६ का कमल बिकलाई पनि पक्राउ गरेको छ । अधिकारी र बिक राणाका मुख्य कारिन्दा रहेको प्रहरीले बताएका छन् । राणाले विभिन्न बैंकका चेक र कागजातका आधारमा जोसुकैलाई सहजै प्रलोभनमा पारी रकम लिने गरेको र अरूलाई मिटर ब्याजमा लगाउने गरेको पाइएको अनसुन्धानमा संलग्न प्रहरी बताउँछन् । एसपी गिरीले पीडितहरूलाई सम्पर्कमा ल्याएर राणाको अवैध आर्थिक कारोबार खोल्तने प्रयत्नमा प्रहरी रहेको बताए । अधिकांश पीडित सामाजिक प्रतिष्ठाका कारण जनाउँदै खुल्न चाहिरहेका छैनन् ।


अवैध कारोबारमा हतियार

सुदूरपश्चिमको प्रमुख व्यापारिक सहर धनगढीमा अवैध आर्थिक कारोबारभित्र गुन्डाराज चलेको अनुसन्धानले देखाएको एसपी गिरी बताउँछन् । ‘मिटरमा लगाएको धनको असुलीमा गुन्डाको प्रयोग हुने देखिएको छ,’ उनले भने, ‘अवैध आर्थिक कारोबार अदृश्य हुन्छ ।’


प्रकाशित : आश्विन २, २०७६ ०९:१६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?