कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

खुदी जलविद्युत्‌मा फेरि बाढी पस्यो

आश गुरुङ

(लमजुङ) — मर्स्याङ्दी गाउँपालिका–९ सिम्पानीस्थित ४ मेगावाटको खुदी जलविद्युत् केन्द्रमा फेरि बाढी पसेको छ । यसअघि भदौ २४ गते विद्युत्गृहमा बाढी पसेको थियो ।

खुदी जलविद्युत्‌मा फेरि बाढी पस्यो

राम्रोसँग छेकबार नगर्दा लेते खोल्सीमा आएको बाढी विद्युत् गृहभित्र पुन: पसेको हो । बाढी पसेपछि सरसफाइ थालेकामा पुन: बाढी पसेको जलविद्युत् केन्द्रले जनाएको छ ।


जलविद्युत् केन्द्रमा कार्यरत १५ जनाभन्दा बढीले सरसफाइ गरिरहेका थिए । ‘सरसफाइ गरिरहेका थियौं । अब बाढी आउँदैन होला जस्तो लाग्यो । पर्खाल पनि लगाएका थियौं,’ केन्द्रका इन्चार्ज रमेश घिमिरेले भने । उनका अनुसार फेरि बाढी पसेपछि फेरि सरसफाइ थालिएको छ । विद्युत्गृहभित्र आइतबार साँझ बाढी पसेको र त्यसपछि निरन्तर सरसफाइ गरिरहेको उनले बताए । ‘हामी सरसफाइ मात्रै गर्न सक्छौं । मेसिनभित्र के भएको हो भन्ने थाहा पाउन र यसको मर्मतका लागि इन्जिनियरहरू नै आउनुपर्छ । बुटवल पावर कम्पनीबाट इन्जिनियरहरूलाई बोलाएका छौं,’ उनले भने । उनका अनुसार विद्युत्गृहमा रहेको जेनेरेटर, टर्बाइनलगायत विद्युत् उत्पादन गर्ने मेसिनरी सामग्रीको भित्र पानी पसेको छ । मर्मत नगरी उक्त मेसिनरी सामान सञ्चालन गर्न मिल्दैन ।


यसअघि पनि पटकपटक बाढीको चपेटामा पर्दै आएको खुदी जलविद्युत् केन्द्र यस वर्ष एक साताको अवधिमै दुईपटक बाढीको चपेटामा परेको हो । केन्द्रका सुपरभाइजर दीपक भण्डारीका अनुसार यसपटक लेते खोल्सीको पानी ब्लक हुँदा विद्युत्गृहतर्फ बाढी मोडिएको र भित्र पसेको हो । जलविद्युत्मा बाढी पस्दा कति क्षति भयो भन्ने यकिन विवरण अझै भन्न नसकिने उनले बताए ।


जलविद्युत् केन्द्रले बर्खायाममा दैनिक (२४ घण्टा) १ लाख युनिट विद्युत् उत्पादन गर्दै आएको छ । बर्खायाममा प्रतियुनिट ४ रुपैयाँमा पीपीए (विद्युत् खरिद–बिक्री सम्झौता) गरिएको उक्त आयोजना १ दिन बन्द हुँदा मात्रै ४ लाख घाटा पर्छ । यसअघि २०६५ मा खुदीखोलाको बाढी विद्युत्गृहमा पस्दा ५ महिना विद्युत् उत्पादन बन्द भएको थियो । ठेकेदार कम्पनीका एकजनालाई समेत बगाएको थियो ।


झन्डै ६० करोड रुपौयाको लागतमा निर्माण भएको खुदी जलविद्युत आयोजना २०६३ पुस १५ गते देखि सञ्चालनमा आएको हो । आयोजनामा बुटवल पावर कम्पनी (बीपीसी) को ६०, एचसीटीएचआई क्यानडाको २५ र लमजुङ विद्युत् विकास कम्पनी (लेडको) को १५ प्रतिशत लगानी छ ।


प्रकाशित : आश्विन २, २०७६ ०९:१४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?