कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३२१

उद्योग वाणिज्य महासंघ विधान : ‘संशोधन अर्को कार्यकालबाट’

काठमाडौँ — नेपाल उद्योग वाणिज्य महासंघका सात पूर्वअध्यक्षहरूले विधान संशोधनको विषयमा सामूहिक सुझाव पेस गरेका छन् ।

उनीहरूले महासंघमा प्रत्यक्ष निर्वाचन प्रणालीबाट अध्यक्ष चुनिनुपर्ने र त्यो अर्को कार्यकालबाट मात्रै लागू हुनुपर्ने सुझाव विधान संशोधन कार्यदलसमक्ष पेस गरेका हुन् । ‘अध्यक्षको निर्वाचन प्रत्यक्ष निर्वाचन प्रणालीमार्फत नै हुन उपयुक्त हुन्छ,’ कार्यदललाई बुझाएको सुझावमा भनिएको छ । हाल महासंघको विधानमा वरिष्ठ उपाध्यक्ष स्वत: अध्यक्ष हुने व्यवस्था छ ।

उद्योग वाणिज्य महासंघ विधान : ‘संशोधन अर्को कार्यकालबाट’

यो व्यवस्था भएको एक कार्यकाल भयो । यो व्यवस्थाअनुसार वरिष्ठ उपाध्यक्ष पदमा रहेकी भवानी राणा महासंघकी अध्यक्ष भएकी हुन् ।


फेरि यो व्यवस्था हटाउँदै प्रत्यक्ष निर्वाचन प्रणालीबाट महासंघको अध्यक्ष हुनुपर्ने व्यवस्था गर्न लागिएको छ । त्यसका लागि आगामी कात्तिक २९ गते विधान संशोधनका लागि महासंघको विशेष साधारणसभा बोलाइएको छ । संशोधनका लागि विधानको प्रस्तावित मस्यौदासमेत वितरण गरिससकएको छ । विशेष साधारणसभाले विधान संशोधन गरे अर्को कार्यकालबाट मात्रै प्रत्यक्ष निर्वाचित प्रणाली लागू हुनुपर्ने सुझाव पूर्वअध्यक्षहरूको हो । ‘सो व्यवस्था विधान संशोधन भएपश्चात् अर्को कार्यकालबाट मात्र लागू गर्दा उपयुक्त हुने हुँदा सोहीअनुसार विधानमा व्यवस्था हुनुपर्ने,’ सुझावमा भनिएको छ ।


यस्तो सुझाव पेस गर्नेहरूमा पूर्वअध्यक्षहरू पद्म ज्योति, प्रदीपकुमार श्रेष्ठ, विनोदबहादुर श्रेष्ठ, रविभक्त श्रेष्ठ, कुशकुमार जोशी, सुरज वैद्य र महेशलाल प्रधान हुन् ।


‘कसैलाई अध्यक्ष बनाउने, कसैलाई नबनाउने गरी विधान संशोधन गर्ने काम भयो,’ पूर्वअध्यक्ष रविभक्तले भने, ‘निजी क्षेत्रको समग्र हितको हिसाबले हेरिनुपर्नेमा व्यक्ति केन्द्रित काम हुन थालेपछि हामी पूर्वअध्यक्ष एकजुट भएका हौं ।’ अन्य पूर्वअध्यक्षहरूले भने आआफ्नै हिसाबले विधान संशोधन कार्यदलसमक्ष सुझाव पेस गरिरहेका छन् । अधिकांशले अहिलेको वरिष्ठ उपाध्यक्ष स्वत: अध्यक्ष हुनुपर्ने व्यवस्था कायम गर्नुपर्ने, संशोधन गरे पनि अर्को कार्यकालबाट लागू गर्न सुझाव दिएका छन् ।


‘मैले त वरिष्ठ उपाध्यक्ष नै स्वत: अध्यक्ष हुने अहिलेकै व्यवस्था ठीक छ भनेर सुझाव पेस गरेको छु,’ पूर्वअध्यक्ष पशुपति मुरारकाले भने । हाल शेखर गोल्छा वरिष्ठ उपाध्यक्ष छन् । ‘उनैलाई अध्यक्ष नबनाउने गरी विधान संशोधनको प्रस्ताव आएको देखिन्छ,’


पूर्वअध्यक्ष रविभक्त भन्छन्, ‘यस्तो फोहोरी राजनीतिले निजी क्षेत्रलाई कमजोर बनाउँछ । उहाँ साबिक विधानअनुसार वरिष्ठ उपाध्यक्ष भई अब अध्यक्ष हुनुपर्छ । अर्को कार्यकालबाट प्रत्यक्ष निर्वाचन प्रणालीबाट अध्यक्ष चुनौं भनेका हौ ।’


सामूहिक रूपमा सुझाव बुझाउनुपूर्व अध्यक्षहरूले हालको विशिष्ट सदस्यसम्बन्धी व्यवस्था हटाउन माग पनि गरेका छन् । ‘विशिष्ट सदस्यको व्यवस्था आवश्यक नरहेकाले सो व्यवस्था हटाउने’ कार्यदललाई पेस गरिएको सुझावमा भनिएको छ । पूर्वअध्यक्षहरूले संघीय संरचनाअनुसारका पदाधिकारीहरूलाई स्पष्ट र बलियो बनाउनुपर्ने सुझाव पनि दिएका छन् । ‘प्रदेशका अध्यक्ष महासंघको कार्य समितिमा उपाध्यक्षसरहको पद तथा भूमिकाबारे विधानमा उल्लेख हुनुपर्ने’ कार्यदललाई पेस गरिएको सुझावमा भनिएको छ ।


प्रकाशित : आश्विन २, २०७६ ०७:५०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?