मुस्ताङी स्याउ नपाक्दै बजारमा

मुस्ताङका स्याउ बगैंचामै लटरम्म छन् । पाक्ने र टिप्ने परिपक्व समय नहुँदै स्याउले बजार ढाकिसकेको छ भने बगैंचामा व्यापारीको ओइरो लागेको छ । 
आश गुरुङ, घनश्याम खडका

(मनाङ), (म्याग्दी) — मनाङको माथिल्लो क्षेत्रमा स्याउ टिप्ने सुरसारै छैन । तल्लो क्षेत्रका केही ठाउँमा भने टिपेर बजार पठाउन थालिएको छ । सदरमुकाम चामे वरपर टिप्ने तयारी गरिएको छ । मुस्ताङमा भने समय नपुग्दै टिपेर बजार पठाइसकिएको छ । 

मुस्ताङी स्याउ नपाक्दै बजारमा

समुद्री सतहको करिब २ हजार मिटरको धारापानीदेखि करिब ३ हजार ६ सय मिटर उचाइको खाङसारसम्म स्याउ खेती हुन्छ । मनाङ ङिस्याङ, नार्पाभूमि, चामे र नासों गरी ४ गाउँपालिकामध्ये नार्पाभूमिबाहेक सबैमा स्याउ खेती हुँदै आएको छ । नार्पाभूमिमा परीक्षणको तयारी छ । नासों–९ का अपिल लामाका अनुसार तल्लो क्षेत्रमा स्याउ टिप्ने चटारो छ । ‘सबै स्याउ टिपेर बिक्री गरिसकें । ३ क्विन्टल स्याउ उत्पादन भयो,’ उनले भने । किसानका अनुसार माथिल्लो क्षेत्रमा स्याउ ढिलो पाक्छ ।


मनाङ ङिस्याङ–४ हुम्डेका पाल्देन गुरुङका अनुसार स्याउ टिप्ने समय अझै भएको छैन । असोजको दोस्रो सातादेखि अन्तिम सातातिर स्याउ टिप्ने उनले बताए । ‘तल्लो क्षेत्रमा भन्दा यहाँ केही बढी चिसो भएकाले पाक्न ढिलो हुन्छ,’ उनले भने, ‘अहिले स्याउ अमिलो रहेकाले टिप्न मिल्दैन ।’ उनले करिब ७ रोपनीमा स्याउ खेती गरेको बताए ।


गाला, फुजी र गोल्डेन प्रजातिका स्याउ खेती गरेका उनले गाला प्रजातिका स्याउ पाकेकाले टिप्ने तयारी गरिएको बताए । २ सातापछि गोल्डेन टिप्न मिल्ने र असोजको अन्तिमतिर फुजी टिपिन्छ । स्याउ खेतीका लागि ७३५ रोपनी क्षेत्रफल भाडामा लिएर एग्रो मनाङ प्रालिले मनाङ ङिस्याङको भ्राताङमा ५ वर्षदेखि ‘हाइडेन्सिटी’ प्राविधिमार्फत स्याउ खेती गरिरहेको छ । उक्त स्याउका बिरुवा इटली र सर्भियाबाट ल्याइएको थियो ।


हिमाली जिल्ला मनाङमा प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन इकाई (स्याउ जोन) कार्यक्रम लागू भएको छ । परियोजनाका अधिकृत राजेश्वर सिलवालका अनुसार तल्लो क्षेत्रको नासों गाउँपालिकामा स्याउ टिप्न थालिएको छ । बीचको भेग चामे गाउँपालिकामा तयारी गरिएको र मनाङ ङिस्याङमा भने केही सातापछि टिप्ने उनले बताए । उनका अनुसार गत वर्ष ९१६ टन स्याउ उत्पादन भएकामा यस वर्ष केही बढ्नेछ । ‘हामीले स्याउ खेतीको क्षेत्र बढाएका छौं । किसानले पनि बढाएका छन्,’ उनले भने यस वर्ष हिमपहिरोले केही नष्ट गर्‍यो । तर, स्याउ उत्पादन बढ्ने विश्वास छ ।’


मनाङमा गत आर्थिक वर्षसम्म २०७ हेक्टर क्षेत्रफलमा स्याउ खेती गरिएको थियो । यस वर्ष करिब ४ हेक्टर बढेको छ । ८९ हेक्टर उत्पादनशील क्षेत्र रहेकामा यस वर्ष करिब ३ हेक्टर बढेको सिलवालले बताए । आव ०७४/०७५ मा ८९ हेक्टर क्षेत्रफलमा ९१० टन स्याउ उत्पादन भएको थियो । आव ०७३/०७४ मा ८७ हेक्टरमा ८२५ टन स्याउ उत्पादन भएको थियो । आव ०७२/०७३ मा ७८ हेक्टरमा ६६५ टन उत्पादन भएको थियो ।


पछिल्लो समय सडक विस्तार, बजारसम्म स्याउ लैजान कृषक तथा व्यवसायीलाई सहज, स्याउ खेती गर्ने नयाँ प्रविधि भित्रनुले स्याउ खेती गर्ने ठाउँ र उत्पादन बढ्दै गएको प्राविधिकले बताएका छन् । मनाङमा पछिल्लो समय भित्रिएको गाला, गोल्डेन र फुजी साथै रैथाने मानिएको मार्फा, गोल्डेन डेलिसियस, रोयल डेलिसियस, रेड डेलिसियस जातका स्याउ खेती गरिएको छ । यस्तै पाँचमुखे, चारमुखे, चक्लेटजस्ता पुराना जातका स्याउ खेती पनि हुन्छ । मनाङमा उत्पादित स्याउ स्थानीय बजारका साथै काठमाडौं, पोखरा र तराईसम्म लगेर बिक्री गरिन्छ ।


यतिबेला मुस्ताङका स्याउ बगैंचा लटरम्म छन् । पाक्ने र टिप्ने परिपक्व समय नहुँदै मुस्ताङी स्याउले यतिबेला बजार ढाकिसकेको छ । स्याउमा स्वाद भरिन नपाउँदै बगैंचामा व्यापारीको ओइरो लागेको छ । घरपझोङ गाउँपालिका–१ मार्फास्थित सरकारी स्याउ बगान शीतोष्ण बागबानी विकास केन्द्रले यस वर्ष बगानलाई नै १६ लाख ८५ हजारमा एकमुष्ट व्यापारीलाई बेचेको छ । ‘स्याउ स्वादले परिपक्व हुने बेला भएको छैन । तर, बजारमा उच्च माग थेग्न तल्लो क्षेत्रबाट स्याउ टिप्ने गरेका छौं,’ स्याउ व्यापारी कृष्ण तामाङले भने ।


मुस्ताङी स्याउको वास्तविक स्वाद आउने समय कात्तिक हो । असोज १५ पछि टिपेका स्याउमा गुलियो आउन थाल्छ । अहिले बजारमा पाइने स्याउ भदौ दोस्रो साता टिपेको हुँदा अमिलोपना बढी छ । जात र स्वादअनुसार थोक व्यापारीले प्रतिकिलो ८०–९० रुपैयाँमा बारीबाट स्याउ टिप्न थालेका छन् । ठूला व्यापारीले बगानै ठेक्का लिने भएकाले खुद्रा मूल्य बढी परेको हो । सदरमुकाम जोमसोम रहेको घरपझोङ गाउँपालिकाले सञ्चालन गरेको पुथाङ फलफूल तथा तरकारी संकलन केन्द्रले कृषकबाट प्रतिकेजी १ सय रुपैयाँमा स्याउ खरिद गरी १२० देखि डेढ सय रुपैयाँमा खुद्रा बिक्री गरेको छ ।


मुस्ताङको १ हजार २ सय ५७ हेक्टर क्षेत्रफलमा स्याउ खेती गरिएकामा ४१५ हेक्टर क्षेत्रफलमा उत्पादन हुन्छ । गत वर्ष मुस्ताङबाट ५ हजार ४ सय ५५ टन स्याउ निकासी भएकामा यस वर्ष ६ हजार टन नाघ्ने अनुमान छ । ‘हिउँदमा धेरै हिउँ परेर स्याउको चिलिङ टेम्प्रेचर मेन्सन भएकाले स्याउको गुणस्तर राम्रो भएको छ ।


फलदिने बोट बढेकोले कम्तीमा ६० टन उत्पादन वृद्धि हुने अनुमान छ,’ मुस्ताङसमेत हेर्ने कृषि ज्ञान केन्द्रका बागबानी अधिकृत भोजबहादुर थापाले भने, ‘कृषि कार्यालयको अभिलेखमा नआएका निजी क्षेत्रको लगानीमा छुट्टै २ हजार टन बढी स्याउ उत्पादन हुने अनुमान छ । राज्य पुन:सरंचनापछि स्थानीय तहमा कृषिका कर्मचारी नभएको र रिपोर्टिङ संरचना नहुँदा अभिलेख व्यवस्थित भएको छैन ।’

प्रकाशित : आश्विन १, २०७६ १०:१९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?