२७ अंकले बढ्यो नेप्से

काठमाडौँ — मंगलबार सेयर कारोबार मापक नेप्से परिसूचक करिब २७ अंकले बढेको छ । अघिल्ला ७ दिन नेप्से निरन्तर घटेको थियो । घटिरहेको बजारमा केही अल्पकालीन लगानीकर्ताले सेयर खरिद बढाएपछि नेप्से बढेको हो । 

२७ अंकले बढ्यो नेप्से

यो वृद्धिलाई विश्लेषकहरूले ‘करेक्सन’ को संज्ञा दिएका छन् । निरन्तर घटिरहेको वा बढिरहेको नेप्से एक्कासि विपरीत दिशामा गएमा सेयर बजारमा त्यसलाई करेक्सन भनिन्छ । मंगलबार पनि त्यही भएको हो । भदौ १९ गतेदेखि नेप्से निरन्तर घटिरहेको थियो ।


सो दिन नेप्से परिसूचक २६.९१ अंक बढेर १ हजार १ सय ५०.७४ विन्दुमा बन्द भएको छ । यस दिन १ हजार १ सय २७.२६ विन्दुबाट कारोबार सुरु भएको थियो । परिसूचक कारोबार सुरु भएको आधा घण्टाको अवधिसम्ममा सामान्य अंकले बढेको थियो । मध्याह्नपछि भने नेप्सेको वृद्धिदर उच्च रह्यो । सो प्रवृत्ति अन्तिमसम्म पनि कायम रह्यो । अन्त्यमा अघिल्लो दिनभन्दा करिब २६ अंक माथि उक्लियो । अघिल्लो दिनको तुलनामा मंगलबारको वृद्धि करिब २.३९ प्रतिशतले बढी हो ।


‘मंगलबार त्यसै पनि नेप्से बढ्ने सम्भावना थियो । त्यसमाथि अर्थमन्त्रीका बजारप्रति सकारात्मक कुरा आए, त्यसले झन सपोर्ट गर्‍यो,’ एक ब्रोकरले भने, ‘अर्थमन्त्रीको भनाइ त संयोग मात्र हो, सोमबार साँझदेखि नै बजारमा खरिद चाप बढेको थियो । यसकारण मंगलबार सुरुदेखि नै बजार उकालो लाग्यो ।’ करिब एक साताभन्दा बढी निरन्तर नेप्से घट्दा परिसूचक धेरै तल झरिसकेकाले लगानीकर्ताले लगानी बढाउन चाहेका थिए । ‘लामो समयदेखि लगानी गर्ने अवसर कुरेर बसेका लगानीकर्ताले सेयर खरिदको मौका पाएका छन्,’ ती ब्रोकरले भने, ‘बैंक तथा वित्तीय संस्थाले पनि धमाधम लाभांश प्रस्ताव गरिरहेका छन् ।’


सो दिन कारोबारमा आएका १२ समूहमध्ये सामूहिक लगानी कोषबाहेक बाँकी सबै समूहका परिसूचक बढे । मंगलबार उत्पादन तथा प्रशोधन समूहको परिसूचक सबैभन्दा बढी ४.५२ प्रतिशत बढेको छ । जलविद्युत् समूहको परिसूचक ४.२७ प्रतिशतले बढ्यो । यसैगरी होटल र ‘अन्य’ समूहका परिसूचक ३ प्रतिशतभन्दा धेरैले उकालो लागेका छन् ।


मंगलबार बैंकिङ, निर्जीवन बिमा समूह, लघुवित्त र जीवन बिमा समूहको परिसूचकमा २ प्रतिशतभन्दा बढीले बढेको नेप्सेले जनाएको छ । सामूहिक लगानी कोषको सूचक भने ०.०४ प्रतिशत घटेको छ । मंगलबार करिब सात हजार कारोबारबाट १ सय ७१ कम्पनीका १३ लाख ७८ हजार कित्ता सेयर किनबेच भए । ती किनबेचबाट ३८ करोड ३९ लाख बराबरको सेयर कारोबार भएको छ । यो अघिल्लो दिनको तुलनामा कारोबार रकम ११.६४ प्रतिशत बढी हो ।

प्रकाशित : आश्विन १, २०७६ ०७:३१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?