कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५७

भन्सारमै रोकिए दसैंका सामान

पहिरोले सडक भासिँदा पासाङल्हामु मार्गको राम्चे–ग्राङ सडक खण्ड अवरूद्ध छ । उक्त सडक तत्काल खुल्ने अवस्था नभएकाले जाँचपास गरिएका सामान काठमाडौं पुर्‍याउन सकिएको छैन ।
बलराम घिमिरे

रसुवा — दसैं र तिहारका लागि आयात गरिएका अर्बौं मूल्यबराबरका सामान भन्सारमै रोकिएका छन् । चीनसँगको अन्तर्राष्ट्रिय व्यापारिक नाका रसुवागढी जोडने सडक बुधबारदेखि अवरुद्ध भएकाले केरुङबाट आयात गरिएका सामान रसुवा भन्सारमै रोकिएका हुन् । 

भन्सारमै रोकिए दसैंका सामान

पहिरोका कारण सडक भासिँदा पासाङल्हामु मार्गको राम्चे–ग्राङ सडकखण्ड अवरुद्ध छ । उक्त सडक तत्काल खुल्ने अवस्था छैन । पहिरोका कारण मैलुङ–स्याफ्रुबेंसी सडकखण्ड पनि अवरुद्ध छ । यो खण्डमा भने शनिबारबाट पहिरो पन्छाउन थालिएको छ ।

नाका जोड्ने सडक अवरुद्ध हुँदा दसैंका लागि आयात गरिएका अर्बौं मूल्यबराबरका सामान भन्सारमै रोकिएको नेपाल चेम्बर अफ कमर्सका भन्सार सभापति नीरज राईले बताए । ‘चाडबाडको मुखैमा नाका जोडने सडक अवरुद्ध हुँदा सबैभन्दा बढी व्यवसायी मर्कामा परेका छन् । दसैं सुरु हुन दुई हप्ता मात्र बाँकी छ,’ उनले भने, ‘ती सामान समयमै काठमाडौं पुर्‍याउन सकिएन भने व्यापारीहरूले व्यवसायबाटै हात धुनुपर्ने अवस्था आउँछ, लामो समय यातायात अवरुद्ध हुँदा स्याउलगायत फलफूल कुहिने डर छ ।’

अहिले दसैं र तिहारका लागि चीनबाट धमाधम सामान आयात भइरहेको छ । राजधानीलगायत मुलुकका मुख्य बजारहरूमा चिनियाँ सामानकै वर्चस्व छ । दसैंमा चिनियाँ तयारी पोसाकको बढी माग हुने गरेको छ । तयारी पोसाक रसुवागढी नाकाबाट भित्रिने गरेको छ । दसैं र तिहारका लागि मात्र रसुवागढी नाकाबाट ११ सयदेखि १२ सय कन्टेनर सामान आयात हुने गरेको छ ।

रसुवागढी नाकाबाट दसैंमा बिक्री हुने रेडिमेड सामानहरू भित्रिन थालेको रसुवागढी भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत पुण्यविक्रम खड्काले बताए । ‘सडक अवरुद्ध हुँदा जाँचपास भएका र हुन बाँकी करिब ७ सय मालबाहक कन्टेनर अहिले भन्सार यार्डमा रोकिएका छन्,’ उनले भने, ‘सडक अवरुद्ध भए पनि अहिले भन्सारमा दैनिक ३० देखि ३५ वटा गाडी जाँचपाँस भइरहेका छन् ।’

सडकका कारण व्यापारीहरूले सामान लग्न सकेका छैनन् । दुई तिन दिनसम्ममा पनि अवरुद्ध सडक खुलेन भने धेरै मर्का पर्ने व्यापारी बताउँछन् । भन्सार गरेर छुटेका र सामान लिन केरुङ हिंडेका सयौं कन्टेनर बीच बाटोमा नै रोकिएका छन् । भूकम्पका कारण तातोपानी नाका बन्द भएपछि चीनबाट हुने धेरैजसो आयात ०७२ मंसिरदेखि यही नाकाबाट भइरहेको छ । ०७४ भदौ १४ गते चीनले अन्तर्राष्ट्रिय नाका घोषणा गरेपछि सीमामा व्यापारी, व्यवसायी र सवारीको चाप बढ्दै गएको छ ।

रसुवागढी नाकाबाट दैनिक २ सय ५० भन्दा बढी कन्टेनर आवतजावत गर्छन् । राजधानीबाट रसुवागढी पुग्ने जीर्ण सडकमाथिबाट वर्षातको समयमा पहिरो झर्दा दिनैपिच्छे बन्द हुने र खुल्ने केही निश्चित हुँदैन । नाकासम्म पुग्ने सडकको अवस्था नाजुक र जीर्ण रहेको व्यापारीहरूले बताएका छन् । सडकमा खाल्डाखुल्डी धेरै छन् ।

पहिरोको जोखिम पनि उत्तिकै रहेको नेपाल चेम्बर अफ कमर्सका भन्सार सभापति राईले बताए । नाका सुचारु भएको धेरै वर्ष भइसक्यो तर सडक सुधार गर्न सरकारबाट कुनै पहल नभएको व्यवसायीहरूले गुनासो गर्ने गरेका छन् । सडक राम्रो हुने हो भने रसुवागढी नाकाबाट अहिलेको भन्दा दुई गुना बढी सामान ल्याउन सकिने व्यापारीहरू बताउँछन् ।

सडक भासिएको ठाउँमा निर्माणको काम बिहीबारबाटै सुरु गरिएको प्रमुख जिल्ला अधिकारी अर्जुन भण्डारीले बताए । ‘सडक डिभिजन कार्यालय नुवाकोटसँग समन्वय गरेर पहिरो गएको ठाउँमा तारजाली हाल्ने काम सुरु भएको छ,’ उनले भने ।

प्रकाशित : भाद्र ३१, २०७६ ०९:१३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?