तातोपानीमा चहलपहल

अनिश तिवारी

सिन्धुपाल्चोक — भूकम्पको चार वर्षपछि खुलेको तातोपानी नाकाको व्यापार व्यवसायले गति लिन थालेको छ । सञ्चालनको तीन महिनापछि नाका भएर पाँच सय टन विभिन्न सामग्री नेपाल भित्रिएको छ । असारयता ६ करोड ६९ लाख रुपैयाँ राजस्व संकलन भएको छ ।

तातोपानी सुक्खा बन्दरगाह भन्सार कार्यालयका अधिकृत केशवराज ओलीका अनुसार यस अवधिमा ऊन, कपडा, इलेक्ट्रिक सामान, जुत्ता–चप्पल, खेलौनाजस्ता सामग्रीको अत्यधिक आयात भएको हो । ‘प्राविधिक रूपमा पूर्ण व्यवस्थित भइसकेपछि नाकाबाट व्यापार झनै बढ्ने अपेक्षा राखेका छौं,’ ओलीले भने ।


केही दिनअघि दसैं लक्षित गरेर तीन कन्टेनर स्याउ र लसुन भित्रिएको छ । अन्तर्राष्ट्रिस्तरको अत्याधुनिक सुक्खा बन्दरगाहमा स्टोर व्यवस्थापनबाहेक नेटवर्किङ, बिजुली, फर्निचरजस्ता महत्त्वपूर्ण प्राविधिक पक्षमा काम हुन अझै बाँकी छ ।


‘बिजुली र नेटवर्किङ भएपछि बन्दरगाह पूर्ण सञ्चालनमा आउनेछ, व्यापारिक गतिविधि बढनेछ,’ ओलीले भने । उताबाट चिनियाँ र यताबाट नेपाली कन्टेनर मात्रै आउजाउ भइरहेकाले तातोपानी नाकालाई सहजता बनाउन पहलकदमी लिएको जनप्रतिनिधिले बताए ।


नेपालबाट झन्डै १ सय ८२ प्रकारका सामग्री चीन निर्यात गर्ने सहमति छ । त्यसमा मुडा, खाद्यान्न, गलैंचा, ह्यान्डिक्राप्टलगायत सामग्री छन् । चीनबाट ऊन, जुत्ता, इलेक्टिक सामान, कपडालगायत सयौं प्रकारका सामग्री आयात हुने निश्चित गरिएको भोटेकोसी गाउँपालिकाका प्रमुख राजकुमार पौडेलले बताए । ‘तातोपानी नाकालाई व्यवस्थित बनाउनका लागि सडक, भवनजस्ता भौतिक तैयारी हरसम्भव गरिरहेका छौं तर योबारे केन्द्रीय सरकारले चासो दिन जरुरी देखिन्छ,’ उनले भने ।


कोदारी राजमार्गको लार्चास्थित सुक्खा बन्दरगाहको व्यापार लक्षित गरी नेपाल बंगलादेश बैंकको काउन्टर र फुल्पिङकट्टी हिन्दी बजारमा शाखा कार्यालय स्थापना भइसकेको छ ।


व्यापारलाई भरपर्दो बनाउन भूकम्पअघि लिपिङक्षेत्रमा मात्रै ६ वटा बैंकका शाखा सञ्चालनमा थिए । तातोपानी नाकाबाट व्यापार गर्दै आएका व्यवसायीलाई खासा भएर सामान ल्याउन व्यापारिक संघसंस्था र विभिन्न ट्रान्सपोर्टेसन कम्पनीले उर्दी गर्दै सूचना नै जारी गरेको छ ।

प्रकाशित : भाद्र ३१, २०७६ ०८:१४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?