कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६६

तीन पुस्ता सोडा व्यापारमा

नुमा थाम्सुहाङ

काठमाडौँ — महाराजगन्जकी दुर्गादेवी गुरुङले रञ्जना गल्लीको सोडा पसलमा ‘लेमन’ सोडा बनाउन भनिन् । १५ वर्षको हुँदादेखि नै यहाँको सोडा पिउँदै आएको अनुभव उनले सुनाइन् । 

तीन पुस्ता सोडा व्यापारमा

‘अहिले ५९ वर्षको भइसके अझैं पनि यहाँकै सोडा मन पर्छ,’ उनले भनिन्, ‘यो सोडा पिएपछि शीतल हुन्छ ।’ बौद्धकी नीरमाया तामाङले न्युरोड आउने काम पर्दा रञ्जना गल्लीको सोडा जहिले पिएर जानेको गरेको बताइन् । ‘सानो हुँदा नै रेडियोमा यहाँको सोडा पसलको बारेमा सुनेको थिए, त्यो बेलादेखि नै पिउँदै आएको छु,’ उनले भनिन् ।


रञ्जना ट्रेड सेन्टरको अगाडि गल्लीमा छ, रञ्जना सोडा सेन्टर । बाजे बुद्धिराज, बुबा नरेश र नाति प्रज्वल सुवाल महर्जनले तीन पुस्तादेखि सोडा पसल चलाउँदै आएका छन् । १० वर्षदेखि सोडा पसलमा आफ्नो बुबालाई सघाउँदै आएको प्रज्वल बताउँछन् । ‘आफ्नो पुस्तेनी पेसा भएकाले यसलाई बचाउन र निरन्तरता दिन १२ कक्षा सकिएपछि बुबालाई काम सघाउँदै आएको छु,’ उनले भने ।


सोडाको व्यापार सुरु गर्दा जहाँ मान्छेको घुइँचो बढी हुन्थ्यो मेला तथा जात्रामा लगेर घरमै बनाएर बेच्ने गरेको उनका बुबा नरेश सुवाल महर्जन बताउँछन् । ‘पहिला विशाल बजारमा जनसेवा हल थियो । त्यही हलको अगाडि जनसेवा सोडा सेन्टर भनेर चलायौं, त्यहाँ आगो लागेपछि यहाँ रञ्जना गल्लीमा आएका हौं,’ उनले भने, ‘त्यसपछि यसको नाम रञ्जना सोडा सेन्टर रहन गएको हो ।’ उपत्यकाभित्र मात्र नभएर नुवाकोट र नेपालबाहिर पनि रञ्जना गल्लीको सोडा पुग्ने उनले बताए ।


बाहिर धूवाँधूलोमा हिँड्दा हुने थकानलाई सोडाले मेटाउने उनको दाबी छ । २००३ सालमा सुरु गर्दा ५ पैसामा सोडा बेच्ने गरेको उनले बताए । अहिले ७३ वर्षसम्म आइपुग्दा ३५ रुपैयाँमा बिक्री गरिरहेको र समयको फरकसँगै पैसाको पनि महत्त्व बढ्दै गएको उनले बताए ।


‘यसमा मेरो बुबाको एक सय रुपैयाँ मात्र लगानी भएको छ । यो हामीलाई राणाहरूले दिएका थिए,’ उनले भने, ‘त्यो समयमा राणाहरूले जुवा खेलाउँथे, त्यति बेला यो मेसिनबाट सोडा बनाएर उनीहरूले खान्थे र खुवाउँथे । यो मेसिन एकपछि अर्को गर्दै हामीलाई आएको हो । अहिले बजारमा नयाँ मेसिन आए पनि आफूहरूले पुरानै प्रयोगमा ल्याइरहेको उनले बताए ।


उनले कुनै दिन एक बोतल मात्र सोडा बेचेको अनुभव पनि सुनाए । नभए दिनको १० देखि १५ क्यारेटसम्म बिक्री हुन्थ्यो । एक क्यारेटमा २४ वटा बोतल हुन्छ । ‘अहिले हामीले नयाँ इनर्जी सोडा भनेर ल्याएका छौं । यसको मूल्य भने १ सय देखि २ सय रुपैयाँ पर्छ । पानीमा कार्बनडाइअक्साइडबाट अल्कालिन सोडा बन्छ,’ उनले भने, ‘यसबाट भिटामिन सी पाइन्छ, यसले आन्द्रा काटिने रोगबाट समेत बचाउँछ ।’ उनले ‘मेडिकेडेट’, ‘इन्स्ट्रेस्टिङ’, ‘इनर्जी’ र ‘आइसक्रिम’ सोडा पाइने बेच्ने गरेको बताए ।


सोडाको सिजन फागुनदेखि सुरु हुने उनी बताउँछन् । जाडो वा गर्मी जुनै समयका लागि सोडा उपयुक्त हुने उनको भनाइ छ । ‘यो समर ड्रिंक्स हो । अन्य चिसो पेय पदार्थमा पर्दैन । अलिक जाडो मौसममा भने केही व्यापार कम हुन्छ । नत्र यसको व्यापार राम्रो छ,’ उनले थपे ।

प्रकाशित : भाद्र ३१, २०७६ ०८:१३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?