३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३२७

स्याउ सिजनमै थन्कियो ग्रेडिङ मेसिन

बेवारिसे अवस्थामा खुला चौरमा राख्दा मेसिनमा खिया लाग्न थालेपछि अहिले चन्दननाथ–भैरवनाथ गुठी संस्थानको जग्गामा राखिएको छ
एलपी देवकोटा

जुम्ला — एक दशकअघि जुम्ला ल्याइएको स्याउ ग्रेडिङ मेसिन सिजनमै थन्किएको छ । झन्डै ८० लाख रुपैयाँको लगानीमा ल्याइएको ग्रेडिङ मेसिन प्रयोगमा नआउँदा किसान मर्कामा छन् । मेसिन राख्न तीन रोपनी जग्गाको व्यवस्था नहुँदा गुठी संस्थानको जग्गामा राखिएको छ ।

स्याउ सिजनमै थन्कियो ग्रेडिङ मेसिन

साविक कर्णाली अञ्चल आत्मनिर्भर कार्यक्रमअन्तर्गत फलफूल विकास निर्देशनालयको अनुदानमा मेसिन ल्याइएको थियो । मेसिन पुगेको १० वर्ष बितिसक्दा पनि राम्रोसँग सञ्चालनमा आउन नसकेको हो । जिल्ला सहकारी संघको २० लाख र निर्देशनालयको ६० लाख रुपैयाँ लगानीमा मेसिन ल्याइएको थियो ।


बेवारिसे अवस्थामा खुला चौरमा राख्दा मेसिनमा खिया लाग्न थालेपछि चन्दननाथ–भैरवनाथ गुठी संस्थानको जग्गामा राखिएको छ । अहिले पर्याप्त विद्युत् नभएको भन्दै मेसिन सञ्चालनमा छैन । विभिन्न सहकारीको सेयरमा संघले २५ लाख रुपैयाँभन्दा बढी रकम खर्च गरिसकेको जिल्ला सहकारी संघका अध्यक्ष पदमबहादुर महतले बताए ।


‘मेसिन राख्न घर निर्माणलगायत अन्य खर्चका लागि अन्य सहकारीबाट सेयर लिएका छौं,’ उनले भने, ‘सहकारीलाई सेयर फिर्तासँगै ब्याज दिनुपर्ने भए पनि सकिरहेका छैनौं ।’ उनले सञ्चालनमा सहयोग गर्न विभिन्न निकायमा आग्रह गरिए पनि बेवास्ता भइरहेको गुनासो गरे । मेसिन जुम्ला पुगेको ६ वर्षपछि सञ्चालनमा आएको थियो । सहकारी संघ आफैंले स्याउ खरिद गरी ग्रेडिङ गर्दा ढुवानीका कारण महँगो भएपछि समस्या आएको अध्यक्ष महतले बताए ।


‘स्याउ ग्रेडिङ गर्न न किसान आए, न व्यापारी नै,’ उनले भने, ‘जग्गा भाडा तिर्न नसकेपछि मेसिन थन्काएका छौं ।’ उनका अनुसार ग्रेडिङ मेसिन राखिएको घरमा अहिले जिमखाना खुलेको छ । उनले जग्गाभाडा तिर्न नसकेपछि जग्गा जिमखानालाई भाडामा दिइएको जानकारी दिए । मेसिनमा स्याउ ग्रेडिङ गर्ने, स्याउ सफा गर्ने, सुकाउने, स्याउ छान्ने, मैन राख्ने र प्याकिङ गर्ने सुविधा छ ।


जुम्लाको स्याउ गुणस्तरीय भए पनि हेर्दा राम्रो नदेखिने भएकाले राम्रो बजार पाउन समस्या भएको स्थानीय कृषक चन्द्र सार्कीले बताए । ‘स्याउ जुम्लामै मेसिनबाट ग्रेडिङ भए किसानलाई ठूलो राहत मिल्ने थियो,’ उनले भने, ‘करोडौं खर्च गरेर जुम्ला पुगेको मेसिन सञ्चालनमा आउन नसक्नु किसानका लागि दुःखद हो ।’ ग्रेडिङ गरेपछि स्याउ सफा, राम्रो र चिटिक्क देखिने भएकाले राम्रो मूल्य पाउने उनी बताउँछन् ।


अहिले स्याउको सिजन सुरु भएपछि ग्रेडिङ मेसिनको अभाव खड्किन थालेको छ । २०६७ सालमा जुम्ला ल्याइएको मेसिन थन्कदा किसान गेडिङ गर्ने सुविधाबाट वञ्चित भएको जिल्ला कृषि विकास कार्यालयका प्रमुख बालकराम देवकोटाले बताए । ‘सहकारी संघसँग आवश्यक छलफल भइरहेको छ,’ उनले भने, ‘मेसिन सञ्चालनका लागि आवश्यक गृहकार्य थालेका छौं ।’

प्रकाशित : भाद्र ३१, २०७६ ०८:१०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?