कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १८३

दूधको मूल्य वृद्धि : किसानलाई हर्ष न विस्मात

निजी उद्योग र सहकारीले भने मूल्य बढाएनन् 
विप्लव भट्टराई

इलाम — सरकारले मूल्य वृद्धि गरे पनि जिल्लाका कृषकहरूलाई त्यसको प्रत्यक्ष लाभ पुग्न सकेको छैन । दुग्ध विकास संस्थानअन्तर्गत दूध बेच्ने कृषकले बढेको मूल्य पाउने भए पनि निजी उद्योग र सहकारीले नबढाएका हुन् । जिल्लामा उत्पादित धेरै दूध निजी उद्योगमा नै खपत हुन्छ ।

दूधको मूल्य वृद्धि : किसानलाई हर्ष न विस्मात

यहाँ रहेका डेरी, चिज, ललिपप, बम्बइसन र छुर्पीलगायत उद्योगमा दूधको खपत धेरै हुन्छ । ग्रामीण क्षेत्रमा रहेका कतिपय कृषकलाई मापदण्डले प्रभाव पार्दैन । आपसी सहमतिमा नै कतिपय स्थानमा मूल्य निर्धारण हुने गरेको छ । धेरै कृषकले कम मूल्यमा दूध बिक्री गर्नुपर्ने बाध्यता छ । व्यावसायिक सफलता पाएका उद्योगहरूले सरकारी मापदण्डभन्दा बढी मूल्यसमेत दिने गरेका छन् ।


धेरै कृषकले आफैं उद्योग चलाएका छन् । उनीहरूको अनुभवमा घिउ, छुर्पीलगायत उत्पादित सामग्रीको भरपर्दो बजार नहुने कारणले सरकारले तोकेको मापदण्डले मात्र प्रभाव पार्न सक्दैन । ‘मूल्य बढाउने विषयमा डेरी उद्योगीबीच छलफल भइरहेको छ,’ सन्दकपुर ५ इङ्लाका डेरी सञ्चालक केवल राईले भने, ‘यसका लागि हाम्रो उत्पादन छुर्पीको पनि मूल्य बढ्न आवश्यक छ ।’


अहिले ग्रामीण क्षेत्रमा प्रतिलिटर ३० रुपैयाँदेखि कृषकले ६० रुपैयाँसम्म मूल्य पाउँछन् । ग्रामीण क्षेत्रमा रहेका अधिकांश डेरी उद्योगले एसएनएफ र क्रिमको आधारमा मूल्य निर्धारण गर्छन् । सदरमुकाममा दूधको खुद्रा मूल्य ६० रुपैयाँ लिटर छ । बजारनजिक क्षेत्रका कृषकले ५० रुपैयाँ हाराहारीमा दूधको मूल्य पाउँछन् ।


यहाँ अहिले दूधको मूल्य बढाइएको छैन । कृषक भने यति मूल्यले लगानी नउठ्ने भन्दै बढेको मूल्य कायम गर्नुपर्ने बताउँछन् । ‘मूल्य बढेको ठूलै हल्ला सुनिए पनि सोअनुरूप पाएका छैनौं,’ इलाम नगरपालिका ८ सिङ्फ्रिङका गणेश राउतले भने, ‘बजार क्षेत्र भएकाले घाँस, दानापानी, औषधि र श्रम आदिमा ठूलो खर्च हुने भएकाले अहिलेको मूल्य पनि पर्याप्त छैन ।’


सदरमुकाममा दूध आपूर्तिसहित बम्बेसनलगायतका विभिन्न परिकार निर्माण गर्दै आएको इलाम दुग्ध सहकारी संस्थाले कृषकलाई प्रतिलिटर ५२ रुपैयाँ दिँदै आएको छ । ‘अहिलेको अवस्थामा उपभोक्ता र कृषक दुवैलाई मूल्य बढाउने कुनै सोच छैन,’ सहकारीका अध्यक्ष पर्शु सापकोटाले भने, ‘अझै पनि पूर्ण गुणस्तरको दूध नआइरहेको अवस्थामा मूल्य बढाउन सकिने अवस्था छैन ।’


संस्थानलाई दूध बिक्री गर्ने कृषक पनि बढेको मूल्य अझै पर्याप्त नभएको बताउँछन् । सूर्योदय नगरपालिका ११ भालुखोपमा फार्म सञ्चालन गर्दै आएका कुमार रेग्मी उत्पादन लागत आकाशिएको अवस्थामा नाफाघाटा नहेरी मूल्य वृद्धि भएको बताउँछन् । त्रिब्रदर्स गाई फार्मका प्रोपाइटर कुमार रेग्मीले दुई वर्षमा उत्पादन लागत आकाशिए पनि नाफाघाटा विश्लेषण नगरी मूल्य वृद्धि भएको गुनासो गरे । प्रतिगाई दैनिक २० लिटर दूध उत्पादन गर्न कठिन हुने भएकाले अहिलेको मूल्य पर्याप्त नभएको त्रिबर्दश गाई फार्मका सञ्चालक रेग्मीको भनाइ छ ।


३ प्रतिशत फ्याट र ८ प्रतिशत एसएनएफ भएको दूधको ३७ रुपयाँ थियो । ‘तर अहिले प्रतिलिटर ६ रुपैयाँ मूल्य बढेको बताए पनि ४ प्रतिशत फ्याट र ८ प्रतिशत एसएनएफ भएको दूधको मात्र मूल्य ४ रुपैयाँ १६ पैसा बढ्ने भनिएको छ,’ जिल्ला दुग्ध सहकारी संघका अध्यक्ष हेम कट्टेलले भने, ‘यस्तो दूध इलाम जिल्लामा सारै कम मात्र उत्पादन हुन्छ ।’


राष्ट्रिय दुग्ध विकास बोर्डले गरेको दुग्धको उत्पादन लागत विश्लेषणमा औसत प्रतिलिटर दूध उत्पादन लागत ३४ रुपैयाँ ९२ पैसा पर्ने उल्लेख गरेको थियो । इलाममा देशकै सबैभन्दा कम लागतमा दुग्ध उत्पादन हुने बोर्डको रिपोर्टमा उल्लेख छ । इलाममा प्रतिलिटर २९ रुपैयाँ ८१ पैसामा दूध उत्पादन हुने भने पनि यहाँका कृषक दैनिक २० लिटर दूध दिने गाईको लागि प्रतिलिटर लागत मात्रै ३८ रुपयाँ पर्ने दाबी गर्छन् । बोर्डको रिपोर्टलाई उनीहरूले अस्वीकार गर्दै आएका छन् ।


‘हामीले प्रतिलिटर १० रुपैयाँ बढाउन प्रस्ताब फागुनमा नै गरेका हौं,’ जिल्ला दुग्ध सहकारी संघका अध्यक्ष हेम कट्टेलले भने, ‘अहिले बढेको मूल्यले कृषकको लागत उठाउन सक्दैन ।’ दुग्ध विकास संस्थान विराटनगरका लागि इलामका आठवटा चिस्यान केन्द्रबाट दैनिक २० हजार लिटरदेखि ३५ हजार लिटरसम्म जाने गरेको छ ।


यस्तै संस्थानअन्तर्गतका ४ वटा चिज कारखानामा पनि दूध खपत हुन्छ । यीबाहेक दर्जनौं निजी स्तरका चिज कारखाना, डेरी र दुग्धजन्य उत्पादन गर्ने थुप्रै उद्योग सञ्चालित छन् । वार्षिक १ लाख १६ हजार ८६ मेट्रिक टन दुग्ध उत्पादन हुने इलाममा होलिस्टिन, जर्सी गरी ३३ हजार ३ सय ७१ वटा उन्नत जातका गाई पालिएको सरकारी तथ्यांक छ । जिल्लामा १ सय २० वटा गाई फार्म र सहकारीमा आबद्ध किसानले दूध उत्पादन गर्ने गरेका छन् ।

प्रकाशित : भाद्र ३१, २०७६ ०७:५७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?