मिल्स एरियामै छैनन् उद्योग

विनोद भण्डारी

विराटनगर — कुनै समय यहाँको मिल्स एरियामा पाइलैपिच्छे उद्योग थिए । क्षेत्रको नामै मिल्स एरिया रह्यो । दशकयता भने चमक हराउदै गएको छ । अधिकांश उद्योग बन्द छन् । 

ZenTravel

मुलुककै पहिलो उद्योग विराटनगर जुट मिल विसं १९९३ मा स्थापना भएपछि यो क्षेत्रमा डेढ दर्जनभन्दा बढी उद्योग खुलेका थिए । तीमध्ये अधिकांस उद्योग अहिले बन्द भइसकेका छन् । विराटनगर जुट मिल खुलेसँगै मोरङ सुगर मिल, शाहा उद्योग, जुद्ध म्याच, हुलास मेटल, अशोक टेक्सटायल, गणपति कटन मिल थपिए । हनुमान जुट प्रेस, अरुण उदय स्टिल, गुहेश्वर राइस, यामाहा मोटर कम्पनी, नेपाल जुट प्रेस, गुहेश्वरी सोलभेन्ट, कोसी मेटल, कोसी धान–चामल कम्पनी स्थापना भए ।

Meroghar


नेपाल व्यापार कम्पनी, नेपाल ट्रेडिङ, अन्नपूर्ण फर्निचर, नेपाल व्यापार कम्पनीलगायतका उद्योग खुलेपछि यस क्षेत्रको चहलपहलै बेग्लै थियो । अहिले ती सबै उद्योगहरू बन्द छन् । २० हजारभन्दा बढीको रोजगारीसमेत गुमेको स्थानीयको गुनासो छ ।

एकाध बाहेक सबै उद्योग बन्द हुँदा यहाँको वाणिज्य र नेपाल बैंकको करोडौं लगानी प्रभावित भयो । ती दुवै बैंकले उद्योगका मेसिनरी सामान कवाडीलाई बिक्री गरेर र जमिन लिलाम गरेर लगानी असुली गरेका छन् । यहाँ उद्योग खुलेपछि तिनै उद्योगलाई ऋण लगानी गर्न बैंकका शाखा खुलेका थिए ।

गणपति कटन उद्योगले बैंकमा धितोबापत राखेको मेसिनरी सामान र भवनका सबै इँटा चोरी भएका छन । यो उद्योगले नेपाल बैंक र वाणिज्य बैंक रानी शाखालाई साँवा र ब्याज गरेर ४० करोडभन्दा बढी ऋण तिर्न थियो । उद्योगले नेपाल बैंकबाट २ करोड ७४ लाख साँवा र ब्याजसहित २४ करोड २१ लाख तथा वाणिज्य बैंकको १ करोड ८० लाख साँवा र ब्याजसहित १६ करोडभन्दा बढी तिर्न बाँकी रहेपछि मेसिनरी सामान र जग्गा बिक्री गरेर असुली गरेको सम्बद्ध बैंक स्रोतले जनाएको छ ।

विराटनगर जुट मिल र मोरङ सुगर मिलमा नेपाल बैंकको करिब एक करोड लगानी प्रभावित बनेको छ । दुवै उद्योगमा बैंकले सरकारको ग्यारेन्टीमा लगानी गरेको हो । उक्त बैंकको करिब ४० लाख लगानी रहेको जुद्ध म्याच उद्योग पनि बन्द छ । विगतका सरकारले अपनाएको औद्योगिक नीतिका कारण त्यस क्षेत्रका सबै उद्योग बन्द भएको उद्योगी एवं मोरङ व्यापार संघका पूर्वअध्यक्ष पवनकुमार सारडाले बताए ।

‘अहिले मिल्स एरियामा एउटा पनि उद्योग नहुनु राज्यको गलत नीति कारक हो । उद्योग चलुन् वा नचलुन् राज्यलाई कर भए पुग्छ । सरकारले हचुवाको भरमा कर र नीति निर्धारण गर्दा अन्य क्षेत्रका बाँकी उद्योग पनि बन्द गर्नुपर्ने अवस्था सृजना भएको छ,’ उनले भने ।

उद्योग सञ्चालनमा हुँदा यस क्षेत्रका प्रायः सबै घरका बासिन्दाले रोजगारी पाएका थिए । उद्योग बन्द भएसँगै रोजगारी पनि गुम्यो । त्यसवेला यस क्षेत्रका हरेक घरका एकदेखि पाँच जनासम्मले रोजगारी पाएका थिए । विराटनगर जुट मिलमा तीन दशक रोजगारी गरेका अशोक राई भन्छन्, ‘उद्योग सञ्चालन हुँदा यो एरियाकै भविष्य गुलजार थियो । अहिले बस्तीकै गुजारा बिचल्लीमा परेको छ ।’

उनका अनुसार उद्योग बन्द भएसँगै रोजगारी गुमाउने केही मजदुरीका लागि भारत छिरे । अधिकांश यही भौतारिँदै छन् । अहिले मिल एउटै छैन तर ठाउँको नामचाहिँ मिल्स एरिया नै कायम रहँदा अनौठो लाग्न थालेको त्यहाँका वडाध्यक्ष मनोज सुब्बाले बताए । ‘जनप्रतिनिधिले विराटनगर जुट मिललाई पुनःसञ्चालन गर्न पहल गरे पनि सरकारले बेवास्ता गर्दा सम्भव भएन,’ सुब्बाले भने ।

प्रकाशित : भाद्र ३१, २०७६ ०७:५४
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT

मापदण्डविपरीत अलकत्रा प्लान्ट

कान्तिपुर संवाददाता

काठमाडौँ — १८ औं सार्क शिखर सम्मेलनमा सडक कालोपत्रे गर्ने चटाराले छोटो अवधिका लागि भनी ललितपुरको सुनाकोठीस्थित नख्खु खोला किनारमा स्थापना गरिएको असफाल्ट प्लान्ट अझै सञ्चालनमा छ ।

सार्क बैठक सकिएको चार वर्षभन्दा बढी भइसकेको छ । प्लान्ट भने जस्ताको तस्तै छ । ललितपुर महानगरपालिका–२७ मा मापदण्डविपरीत दुई वटा प्लान्ट सञ्चालनमा छन् ।

प्लान्ट सञ्चालक शैलुङ कन्स्ट्रक्सन र सुनौलो खिम्ती कन्स्ट्रक्सन हुन् । शैलुङ शारदाप्रसाद अधिकारीको हो । उनी पूर्वप्रधानमन्त्री एवं नेकपा अध्यक्ष पुष्पकमल दाहालका घरबेटी हुन् । ललितपुर महानगरपालिका–२७ का वडाध्यक्ष बाबुराजा महर्जनले दुवै प्लान्टले सञ्चालन अनुमति नलिएको बताए ।

‘वडा कार्यालयमा डिपो राख्न अनुमति लिएको कागजात छ,’ उनले भने, ‘मानव स्वास्थ्यमा प्रतिकूल असर गर्ने गरी घनाबस्ती नजिक प्लान्ट सञ्चालनको स्वीकृति दिन मिल्दैन ।’ उनले आफूहरू विकासविरोधी नभएको तर विकासका नाममा वातावरण प्रदूषण गर्न नमिल्ने बताए ।

‘बर्खा सकिएलगत्तै शैलुङ र सुनौलो खिम्ती कम्पनीलाई उद्योग सञ्चालन गर्न मिल्ने आधारसहितको कागजात पेस गर्न पत्र काट्छौं,’ उनले भने, ‘प्लान्ट हटाउन माग गर्दै स्थानीयवासी वडा कार्यालयमा डेलिगेसन पनि आएका थिए ।’ असफाल्ट चिप्स र अलकत्रा मिसाएर कालोपत्रे गर्ने सामग्री तयार पार्ने मेसिन हो ।

डिजेलबाट सञ्चालन हुने प्लान्टबाट निस्कने धूवाँधूलो मानव स्वास्थ्यका लागि हानिकारक मानिन्छ । वडा कार्यालयका अनुसार दुवै कम्पनीले वातावरणीय प्रभाव मूल्यांकन पनि गरेका छैनन् ।

प्रकाशित : भाद्र ३१, २०७६ ०७:५३
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT
×