१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २११

७१ जातका बीउ सूचीबाट हटे

राजु चौधरी

काठमाडौँ — सरकारले १३ वटा बालीको थप ४४ जातका बीउ सूचीरकण गरेको छ । राष्ट्रिय बीउ बिजन समितिको ५२ औ बैठकले बीउ सूचीकरण गर्ने निर्णय गरेको हो । 

७१ जातका बीउ सूचीबाट हटे

बीउ बीजन गुणस्तर नियन्त्रण केन्द्रका सूचना अधिकारी रमेश हुमागाईका अनुसार नयाँ जातको बीउ सूची राजपत्रमा प्रकाशित भइसकेको छ । सबैभन्दा बढी धानको १६ जात सूचीकरण गरिएको छ । १६ वटै धानको जात आयातित हुन् । ती जातहरूलाई समुद्र तहबाट ७ सय मिटरसम्मको तराई, भित्री मधेश र भित्री फाटका लागि सिफारिस गरिएको हुमागाईले बताए ।


बन्दाको नयाँ ४ जातको सिफारिस गरिएको छ । बन्दा पहाडका लागि दुई र तराईका लागि दुई सिफारिस गरिएको जनाएको छ । गोलभेंडाको ४ नयाँ जात सिफारिस गरिएको छ । गोलभेंडा तराई जिल्लाका लागि सिफारिस गरिएको केन्द्रले जनाएको छ ।

आलु, केरा र काउली ३/३ नयाँ जातको बीउ सूचीकरण गरिएको छ ।


हुमागाईका अनुसार आलु तराई र पहाडका लागि हो । काउली पहाड र तराईका लागि हो । केरा भने भित्री मधेसका लागि सूचीकरण गरिएको बताए । ‘यीबाहेक खुर्सानीका थप २ बीउ, सिमीको २, बोडीको २ र सखरखण्डको २ नयाँ बीउ सूचीकरण गरेका छौं,’ उनले भने, ‘राज्मा तराई, बदाम तराई र पहाड मधेस, तोरी तराइ र खुर्सानी पनि तराईकै लागि हो ।’


यस्तै बीउ बिजन समितिले बदामको नयाँ १ जात, तोरीको १ र राज्मामा एक/एक जात सूचीकरण गरेको छ । हुमागाईका अनुसार ४४ जात मध्ये ४ वटा नार्कबाट अनुसन्धान भएको छ । धानको ३, आलु ३ र केरा ३ जातहरू नेपालमै प्रचलित जातहरू हुन् । उक्त जातहरू किसानहरूले प्रयोग गरिरहेका हुन्छन् । ‘अहिले स्वीकृत मात्रै गरिएको हो,’ उनले भने । यी बाहेक ३१ जात भने पूरै आयातित हुन् । ती बीउ भारत, चीन, थाइल्यान्ड, कोरिया, जापानलगायत मुलुकबाट आयात गरिन्छ ।


बीउ आयात गर्नकै लागि ४० कम्पनी केन्द्रमा दर्ता भएका छन् । ३५ कम्पनीले मुलुकभित्र बीउ उत्पादन गर्छन् । बीउ उत्पादन र निर्यात गर्ने नीति अवलम्बन गरेपनि बर्सेनि अर्बौं रुपैयाँको बीउ आयात हुन्छ । केन्द्रका अनुसार गत वर्ष धान, मकै, गहुँ, मुसुरो र तरकारी गरेर ३० हजार टन उत्पादन भएको थियो । जसमध्ये ३२ सय टन आयात भएको थियो । ‘कुल उत्पादनको १० प्रतिशत करिब १ अर्ब ३० करोड रुपैयाँ आयातित हो,’ उनले भने, ‘अवैधानिकको हिसाब नै हुँदैन ।’ उनका अनुसार मुख्यतः तरकारी, धान, मकै नै आयात हुन्छ ।


स्रोतका अनुसार औपचारिक बराबरकै अनौपचारिक रूपमा बीउ आयात हुन्छ । खुला सीमाका कारण साइकल, टयाक्टरमा पनि आयात हुन्छ । कमसल बीउ किसानलाई वितरण हुँदा बीउ राम्रो उम्रिए पनि फल आउँदैन । केन्द्रका अनुसार २१ वटा बालीका ७१ वटा विभिन्न जातहरू सूचीबाट हटाइएको छ ।


‘ती जातहरू अहिले प्रचनलमा आउन छाडेका छन् । आयातकर्ताले ४/५ वर्षदेखि नै आयात गरेका छैनन्,’ उनले भने, ‘जोखिम भएका जातहरू हुन् । नेपाल कृषि अनुसन्धान परिषद् (नार्क) ले निकालेका जातहरू पनि बीउ राख्न छाडेका छन् ।’ अब ७६ बालीका ६ सय ७१ जात भएको जनाएको छ । जसमध्ये ३ सय २२ हार्ईब्रिड छन् । स्वदेशी हाइब्रिड प्रणाली बलियो छैन । हाइब्रिड धेरै फल्ने हुँदा किसानले बढी रुचाएको जनाएको छ ।

प्रकाशित : भाद्र ३०, २०७६ ०८:१७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?