१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७०

विद्युत प्राधिकरणमा घिसिङ : लोडसेडिङदेखि अधिक उत्पादनसम्म

विजय तिमल्सिना

काठमाडौँ — तीन वर्षअघि साउन २९ गते कुलमान घिसिङ नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशक नियुक्त हुँदा वर्षायाममा समेत लोडसेडिङको तालिका सार्वजनिक हुन्थ्यो । विद्युत्को अत्यधिक माग हुने साँझको समयमा उपभोक्ताले बिरलै विद्युत् पाउँथे ।

विद्युत प्राधिकरणमा घिसिङ : लोडसेडिङदेखि अधिक उत्पादनसम्म

विद्युत् अभावका कारण उपभोक्तालाई पालैपालो विद्युत् उपलब्ध गराउने प्राधिकरणले अहिले भने बढी विद्युत् खपत गर्ने अभियान नै चलाएको छ ।


प्राधिकरणमा कार्यकारी निर्देशक नियुक्त भएको तीन वर्ष पुगेको अवसरमा आइतबार घिसिङले पत्रकार सम्मेलन गर्दै आगामी दिनमा विद्युत् खपतको दायरालाई विस्तार गरिने जानकारी दिए । ‘विद्युतीय यातायातका लागि चार्जिङ स्टेसन स्थापना, विद्युतीय चुलोजस्ता विद्युतीय उपकरणलाई प्रयोगलाई प्रोत्साहन गरिनेछ,’ उनले सार्वजनिक गरेको आगामी कार्ययोजनामा भनिएको छ ।

पत्रकार सम्मेलनमा उनले आफ्नो कार्यकालमा लोडसेडिङ अन्त्य भएकोसहित विद्युत् चुहावटमा उल्लेख्य कमी आएको र घाटामा रहेको प्राधिकरणलाई नाफामा लगेको उपलब्धि सार्वजनिक गरे ।


चालु आर्थिक वर्षमा करिब १ हजार मेगावाट विद्युत् राष्ट्रिय प्रणालीमा थपिने प्राधिकरणको आकलन छ । ४ सय ५६ मेगाावटको माथिल्लो तामाकोसी, १ सय ११ मेगावाट रसुवागढी, १४.८ मेगावाटको माथिल्लो सान्जेनजस्ता प्राधिकरणबाट निर्माणाधीन र निजी क्षेत्रबाट सम्पन्न हुने आयोजनाबाट उत्पादित विद्युत् यो वर्ष राष्ट्रिय प्रणालीमा जोडिने अनुमान छ ।


अनुमानअनुसार चालु आवभित्रै १ हजार मेगावाट विद्युत् राष्ट्रिय प्रणालीमा जोडिए वर्षायाममा विद्युत् बढी हुने प्राधिकरणको अनुमान छ । बढी हुने विद्युत् विभिन्न तवरबाट देशभित्रै खपत गर्न प्राधिकरणले अभियान चलाएको हो ।


चालु आर्थिक वर्षभित्रै विद्युतीय सवारी चार्जिङका लागि कम्तीमा ५० वटा चार्जिङ स्टेसन स्थापना गर्ने प्राधिकरणको लक्ष्य छ ।

‘तीन वर्षअघि कुल २५.७८ प्रतिशत रहेको विद्युत् चुहावटलाई १५.३२ प्रतिशतसम्म ल्याइएको,’ आफनो कार्यकालको उपलब्धि सुनाउँदै उनले भने, ‘तीन वर्षअघि ८ अर्ब ८९ करोड खुद नोक्सानीमा रहेको प्राधिकरणले आव २०७६/७६ मा ७ अर्ब २० करोड खुद नाफा आर्जन गरेको छ ।’


प्राधिकरणको सञ्चिति नोक्सानी तीन वर्षअघि ३४ अर्ब ६१ करोड थियो र गत आर्थिक वर्षमा यो घटेर १५ अर्ब २२ करोडमा झरेको छ । तीन वर्षमा प्राधिकरणको आम्दानी पनि दोब्बर भएको तथ्यांक घिसिङले प्रस्तुत गरे ।


२०७२/७३ मा प्राधिकरणको आम्दानी ३५ अर्ब ७ करोड रहेकामा गत वर्ष प्राधिकरणले ७३ अर्ब ४६ करोड आम्दानी गरेको थियो । चुहावट नियन्त्रण, सञ्चालन खर्चमा कटौती, विद्युत् खपतमा भएको वृद्धिका कारण आम्दानी बढेको घिसिङको विश्लेषण छ ।


तीनवर्षे कार्यकालमा प्राधिकरणका आयोजनाबाट १०४ मेगाावट र निजी उत्पादकहरूको आयोजनाबाट २ सय ७१ मेगावाट विद्युत् राष्ट्रिय प्रणालीमा थपिएको उनले जानकारी दिए । एक दशकदेखि अलपत्र परेको ३० मेगावाटको चमेलिया, ६० मेगावाटको त्रिशूली ‘थ्री ए’ आफ्नै कार्यकालमा सकिएको उनले बताए ।


घिसिङले लोडसेडिङ अन्त्य गर्दै प्राधिकरणलाई नाफाको अवस्थासम्म पुर्‍याए पनि विद्युत्को गुणस्तरमा भने ध्यान नदिएको आरोप लाग्दै आएको छ । लोडसेडिङ अन्त्य भए पनि विद्युत् अवरुद्ध भइरहने समस्याबाट उपभोक्ताले छुटकारा पाइसकेका छैनन् । ‘विद्युत् नपुगेर लोडसेडिङ गर्नुपर्ने अवस्था छैन,’ उनले भने, ‘विद्युत् अवरुद्ध हुने कारण भने धेरै छन् ।’ यसका लागि प्राधिकरणले वितरण प्रणाली सुधारको काम थालेको घिसिङले जानकारी दिए । दस वर्षभित्र १० हजार मेगावाटको माग धान्न सक्ने गरी वितरण प्रणाली सुधार गरिने उनले बताए ।


आगामी योजना–भारतमा विद्युत् व्यापार

आफ्नो बाँकी कार्यकालमा गर्ने प्राथमिकता सूची सार्वजनिक गर्दै घिसिङले चाँडै भारतको डे अहेड र टर्म अहेड बजारमार्फत विद्युत् व्यापार गरिने जानकारी दिए ।


यस्तो बजारमा एक दिनअघि वा ११ दिनसम्म आफूले दिन सक्ने विद्युत्को परिणाम मूल्यसहित बिक्रीका लागि राखिन्छ । यो ऊर्जाको खरिदबिक्री गर्ने स्थान हो । यसका लागि प्राधिकरणले भारतको एनटीपीसी विद्युत् व्यापार निगमसँग सम्झौताको प्रक्रिया अघि बढाएको छ ।


भारतसँग इनर्जी बैंकिङसम्बन्धी कारोबार सुरु गर्न सैद्धान्तिक सहमति भइसकेकाले चाँडै औपचारिक रूपमा कारोबार सुरु हुने प्राधिकरणको विश्वास छ । अहिले अनौपचारिक रूपमा नेपालले भारतसँग इनर्जी बैंकिङ गरिरहेको छ । केही महिनायता कटैया–कुसवाह प्रसारण लाइनमार्फत दैनिक ३० देखि ४० मेगावाट २४ सबै घण्टा भारत पठाइएको घिसिङले जानकारी दिए ।


प्राधिकरणले अब जलाशययुक्त र अर्धजलाशययुक्त विद्युत् आयोजनालाई गेम चेन्जर आयोजनाका रूपमा अगाडि बढाउने घिसिङले बताए । १ हजार ६० मेगावाट जडित क्षमताको माथिल्लो अरुण, ९९.६ मेगावाटको तामाकोसी आयोजना चाँडै वित्तीय व्यवस्थापन गरी अघि बढाउने घिसिङले बताए ।

प्रकाशित : भाद्र ३०, २०७६ ०८:१४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?