१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५८

घुन्सामा आलु भित्र्याउने चटारो

ताप्लेजुङमा वार्षिक २ अर्ब रूपैयाँ बराबरको आलु उत्पादन भए पनि अपुग  
आनन्द गौतम

ताप्लेजुङ — फक्ताङलुङ गाउँपालिका ६ लेलेप घुन्साका हिमाली शेर्पाले यसपालि ४० मुरी आलु थन्क्याए । भदौ दोस्रो सातादेखि आलु खन्न थालेका उनले भण्डारण गरिसकेका छन् । ३१ सय मिटर उचाइको बस्तीमा लगाएको आलुले यो वर्ष राम्रो आम्दानी दिएकामा हिमाली दंग छन् । 

घुन्सामा आलु भित्र्याउने चटारो

गत वर्ष २० मुरी मात्रै आलु भित्र्याएका थिए । यसपटक दोब्बर उत्पादन गरे । आलु भने प्रत्येक २० दानामा ५/६ वटा जति कुहिएको उनले बताए । ‘पानी धेरै भएर हो या के कारण थाहा भएन, धेरैनै कुहिएको छ,’ उनले भने, ‘उत्पादन धेरै भएकाले गुनासो गर्ने ठाउँ भने छैन ।’ कुहिएको फालेर राम्रो आलु काठको ढुकुटीमा थन्क्याएका छन् ।


पर्यटकीय गाउँ घुन्सामा आलु मात्रै उत्पादन हुन्छ । पहिला जौ, गहुँ, उवा, फापर फल्ने यो ठाउँमा अहिले आलु मात्रै लगाउने गरिएको छ । हरेक परिवारले आलु अनिवार्य लगाउँछन् । कञ्चनजंघा हिमालको आधार शिविर भएकाले पर्यटक आइरहन्छन् । यहाँ उत्पादित आलु स्थानीय आफैं र पर्यटकलाई खुवाउँछन् ।


कञ्चनजंघामा विदेशी लिएर आउने गाइड, भरिया सबैले आलु मन पराउँछन् । सदरमुकाम फुङलिङबाट तीन दिनमा पुगिने र यातायात सुविधाको अभावले गाउँमा बाहिरको तरकारी पुग्दैन । स्थानीयले ग्रिन हाउसमा साग, मुला, गाजरलगायत तरकारी उत्पादन गरिरहेका छन् । लेकाली क्षेत्र भएकाले वर्षमा एक बाली मात्रै उत्पादन हुन्छ । पहिला एक पाथी अन्नमा तीन पाथी आलु साट्ने यहाँका बासिन्दा अहिले साट्ने र बिक्री गर्दैनन् । धेरै उत्पादन गर्नेले स्थानिय होटललाइ दिने गरेका छन् ।


घुन्साभन्दा माथि ४२ सय मिटर उचाइको खम्बाछेन र याङमामा पनि आलु खेती हुने गरेको छ । याकलाई जोताएर चौंरीको मल प्रयोग गरी आलु रोपिन्छ । फागुन महिनामा रोपेको आलुले भदौदेखि उत्पादन दिन थाल्छ । असोजसम्ममा सबैतिरको आलु थन्क्याइसकिन्छ । याङमाको आलु भने ओलाङचुङगोलासम्म बिक्री गरिन्छ ।


औल क्षेत्रका बासिन्दा आलु किन्न जान्छन् । अझै पनि अन्नसँग साट्ने चलन छ । याङमाका बासिन्दा ओलाङचुङगोलाको चेनेसम्म चौंरीमा बोकाएर आलु लग्ने र औल क्षेत्रका बासिन्दा त्यहाँसम्म जाने चलन छ । याङमाको आलु चिनको तिब्बतसम्म पुग्छ । अझैसम्म पनि माना पाथीको चलन रहेकाले हिमाली बस्तीमा ढक, तराजुको प्रयोग हुँदैन ।

ताप्लेजुङमा २ अर्बको आलु उत्पादन

एक नगरपालिका र आठ गाउँपालिका रहेको ताप्लेजुङमा वार्षिक २ अर्ब मूल्य बराबरको आलु उत्पादन हुने गरेको छ । ६१ वडा रहेको जिल्लाका प्रत्येक वडामा धेरथोर आलु फल्ने गर्छ । अरू कुनै बाली नलाग्ने ओलाङचुङगोलामा पनि आलु फल्छ । यो यहाँको एक मात्र उत्पादन हो । हिमाली क्षेत्रको कञ्चनजंघा आधार शिविरबाट खोला गडतिरसम्मै आलु खेती गरिन्छ ।


कृषि ज्ञान केन्द्रको तथ्यांकअनुसार जिल्लामा वार्षिक ५० हजार टनसम्म आलु उत्पादन हुन्छ । धेरै तापक्रम हुने औल, मध्यमखालको भाग र उच्च हिमाली क्षेत्र गरी सबैतिर वर्षभरि नै उत्पादन भइरहन्छ । आलुको बजार मूल्य न्यूनतम २५ देखि अधिकतम ९५ रुपैयाँ किलोसम्म हुने गरेको छ । कात्तिक मंसिरमा भने भाउ बढ्छ ।


आलुको औसत मूल्य प्रतिकिलो ४० रुपैयाँ मात्रै राख्ने हो भने पनि १ अर्ब ९३ करोड ३८ लाख मूल्य बराबरको बिक्री हुने वातावरण संरक्षण तथा विकास मञ्चका कृषि विज्ञ हरिश्चन्द्र चिलवालले बताए । असिना पानी, हुरी बतास, रोगकिराको प्रकोपले उत्पादनमा घटबड भए पनि धेरै अन्तर नहुने कृषि प्राविधिक सहायक एकनाथ भण्डारीले बताए । ‘उत्पादन घटे मूल्य बढ्ने भएकाले किसानले निराश हुनुपर्ने अवस्था छैन,’ उनले भने ।


जिल्लामा वर्षे र हिउँदे गरी दुईपटक आलु उत्पादन हुन्छ । हिउँदे कम र वर्षे आलु बढी उत्पादन हुने गरेको छ । ४ हेक्टर क्षेत्रफलमा आलु खेती गरिन्छ । ओलाङचुङगोलाको याङमादेखि पापुङ, नाल्वु, याम्फुदिन, लेलेपलगायत क्षेत्रमा मुख्य रूपमा आलु खेती गरिन्छ । हाङदेवाको बुङकुलुङ, नाङखोल्याङको खोक्से, फुङलिङ नगरपालिकाको उकालीपानीलगायत क्षेत्रमा आलु राम्रो फल्ने गरेको छ । हिमाली क्षेत्रको मुख्य खान्की आलु भएकाले जिल्लाको उत्पादन बाहिर निर्यात हुन नसकेको चिलवालले बताए ।


‘हिमाली क्षेत्रमा बेलुकाको खाना आलु हुन्छ,’ घुन्साका हिमाली शेर्पाले भने, ‘कञ्चनजंघा आउनेहरूलाई आलुकै विभिन्न परिकार दिने गरिएकाले धेरै खपत हुन्छ ।’ पाथीभरा आउने वार्षिक दुई लाख बढी पर्यटकका लागि भने तराइका जिल्लाबाट आलु ल्याउनुपरेको होटल व्यवसायी संघ माथिल्लो फेदीका अध्यक्ष इन्द्र नारायण भट्टराईले बताए ।

प्रकाशित : भाद्र ३०, २०७६ ०८:०२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?