किसानलाई उत्पादनमा आधारित अनुदान

माधव अर्याल

मैनादी, पाल्पा — रिब्दीकोट–७ मैनादीका मानबहादुर बम्रेलले २० दिनमा १ लाख २५ हजार रुपैयाँभन्दा बढीको टमाटर बिक्री गरे । उनको बारीमा अझै पनि लटरम्मै टमाटर छन् । आधा पनि बिक्री नभएको उनको अनुमान छ ।

किसानलाई उत्पादनमा आधारित अनुदान

‘भाउ पाइयो भने अझै १ लाखभन्दा बढीको टमाटर बिक्री गर्छु,’ उनले भने, ‘यस वर्ष राम्रो फल्यो ।’ स्थानीय तुलबहादुर कुँवरको बारीमा पनि लटरम्म टमाटर फलेका छन् । उनले पनि एक–एक दिन बिराएर बिक्री गरिरहेका छन् । भाउ पाएपछि यस वर्ष उनीहरूले दोब्बर आम्दानी गर्ने योजना बनाएका छन् । ‘गत वर्ष भाउ नै पाइएको होइन,’ कुवरले भने, ‘यस वर्ष राम्रो भाउ आएको छ ।’

अहिले मैनादीका झन्डै सय घरपरिवारलाई टमाटर बिक्री गर्ने हतारो छ । टमाटरसँगै अन्य तरकारी पनि लगाएका छन् । मलेसियाबाट फर्केका मानबहादुर रास्कोटी पनि तरकारी खेतीबाट मनग्य आम्दानी हुँदा खुसी छन् । गाउँमै गठित मैनादी कृषि सहकारीको सदस्य बनेका उनले टमाटरलगायत तरकारी खेती गरेका छन् ।

चार वर्षअघि यहाँ सहकारी खेती सुरु भएको थियो । सोही खेतीलाई सिको गर्दै यहाँका किसान व्यावसायिक बनेका हुन् । यस वर्ष गाउँपालिकाले किसानलाई उत्पादनमा आधारित अनुदान दिने घोषणा गरेपछि थप हौसिएका छन् । सहकारीमार्फत बजार व्यवस्थापन हुने गरेको छ ।

मैनादी कृषि सहकारी संस्थाका १ सय १२ जना सदस्य छन् । त्यसमध्ये एक सय बढीले व्यावसायिक खेती गरेका छन् । अहिले अधिकांशले २ लाखभन्दा बढीको तरकारी बिक्री गर्छन् । एक दिन बिराएर सय क्विन्टल बढी टमाटर बजार पठाएका छन् । यस वर्ष टमाटर खेतीबाट १ करोड ५० लाख रुपैयाँभन्दा बढी आम्दानी भित्रिएको छ । अझै ५० लाख बढीको टमाटर बारीमै रहेको सहकारीका अध्यक्ष बेनबहादुर पुन मगरले बताए । गत वर्ष ४५ रुपैयाँ किलोमा बिक्री भएको टमाटर अहिले प्रतिकिलो ७४ रुपैयाँ किलोसम्म बिक्री भएको उनले बताए ।

सहकारीकै कारण भारतीय सैनिकका पेन्सनर, पूर्वकर्मचारी, तराई झरेका समेत पहाड फर्केर तरकारी खेती गरेका छन् । सुरुमा तानसेन त्यसपछि बुटवल, स्याङ्जा, पोखरासम्म टमाटर र तरकारी पठाइन्छ । ‘यस वर्ष अधिकांश टमाटर पोखरा बजार पुगेको छ,’ सहारा बचत तथा ऋण सहकारीका अध्यक्ष दानबहादुर कुँवरले भने, ‘बुटवल र भैरहवाबाट माग आएको छ तर पठाउन सकिएको छैन ।’ यस वर्ष पोखराको बजार पाल्पाली टमाटरले ढाकेको छ । ‘हाम्रो गाउँमा बल्ल समृद्धि आएजस्तो भएको छ,’ सहकारीका पूर्वअध्यक्ष उमेरबहादुर कुँवरले भने, ‘अहिले महिला, पुरुष, युवा सबै तरकारीमा रमाएका छन् ।’ सहकारीमा आबद्ध सबैले अनिवार्य तरकारी खेती गर्नुपर्छ ।

रिब्दीकोट गाउँपालिकाले तरकारीको बीउ अनुदानमा दिएको छ । सहकारीले एग्रोभेट चलाएको छ । त्यसले सदरमुकाममा भन्दा पनि सस्तो मूल्यमा गाउँमै दिन्छ । ‘सुरुका वर्षमा बुझाउन गाह्रो भयो,’ कुँवरले भने, ‘पछि बिस्तारै सबैले बुझे ।’ यस वर्ष २ लाख ७५ हजार किलो टमाटर निकासी हुने अनुमान छ ।

रिब्दीकोट गाउँपालिकाले टमाटरमा किलोमा डेढदेखि अढाई रुपैयाँ अनुदानको व्यवस्था गरेको छ । गाउँपालिका अध्यक्ष नारायणबहादुर जीसीका अनुसार व्यावसायिक खेतीले किसानलाई समृद्धिको बाटोमा लगेको छ । ‘हामीले दिने अनुदान न्यून भए पनि किसानले राहत पाउने महसुस गरेका छन्,’ उनले भने, ‘यसबाट गाउँपालिकालाई नै अर्थोपार्जन हुने भएको छ ।’ समूह र सहकारीमा आबद्ध किसानले ताजा टमाटर क्यारेटका क्यारेट पोखरा, बुटवल र भैरहवाको बजारमा लैजाने गरेको उनले बताए ।

उपाध्यक्ष लक्ष्मी खनालका अनुसार गाउँसभाको निर्णयबाट किसानलाई सहकारी र समूहमा संकलन गरेको उत्पादनका आधारमा अनुदान दिने नीति छ । ५ सय १ देखि २ हजार केजीसम्म सहकारीमार्फत बिक्री गर्ने किसानलाई प्रतिकेजी २ रुपैयाँ ५० पैसा अनुदान दिइन्छ ।

२ हजार १ देखि ५ हजार केजीसम्म उत्पादन गर्नेले २ रुपैयाँ र ५ हजार केजीभन्दा माथि उत्पादन गरी बिक्री वितरण गरेमा १ रुपैयाँ प्रतिकेजी अनुदान पाउने कार्यविधि बनेको प्रमुख प्रशासकीय अधिकृत ऋषिराम अर्जेलले बताए । ‘अघिल्लो वर्ष दुध, टमाटरका लागि कार्यविधि बनाएका थियौं,’ उनले भने, ‘यस वर्ष फलफूल र मासुका लागि थप गरेका छौं ।’

प्रकाशित : भाद्र ३०, २०७६ ०७:५४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?