कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

साहिबगन्जमा मल्टिमोडल कार्गो टर्मिनल

सुरेशराज न्यौपाने

नयाँदिल्ली — भारतको जलमार्ग विकास परियोजना अन्तर्गत झारखण्डको साहिबगन्जमा गंगा नदी तटमा मल्टिमोडल कार्गो टर्मिलन सञ्चालनमा आएको छ । 

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले बिहीबार राष्ट्रिय जलमार्ग–१ अन्तर्गत गंगा नदीमा निर्माण गरिएको उक्त टर्मिनलको उद्घाटन गरेका हुन् । करिब २ अर्ब ९० करोड भारुमा बनेको टर्मिनलको शिलान्यास अप्रिल २०१७ मा भएको थियो । भारतले गंगानदीको कोलकातादेखि वाराणसी खण्डमा जलमार्ग सञ्चालनका लागि पूर्वाधार निर्माण गरिरहेको छ ।


त्यही जलमार्गमध्ये बनाइने भनिएका तीन मल्टिमोडल कार्गो टर्मिनलमध्ये बनारसको टर्मिनल गत वर्षदेखि नै सञ्चालनमा आइसकेको छ । बनारसको टर्मिनलको उद्घाटन पनि २६ कात्तिक २०७५ मा मोदीले नै गरेका थिए । बिहीबार उद्घाटन गरिएको साहिबगन्ज टर्मिनल राष्ट्रिय जलमार्ग एकअन्तर्गतकै प्रमुख हिस्सा हो ।


शाहिबगन्ज टर्मिनलले नेपालको तेस्रो मुलुक पारवहन व्यापारका लागि नयाँ मार्गको विकल्प दिएको छ भने कोलकाताको समुद्री बन्दरगाहबाट नेपाली सामान बोकेका पानीजहाज नेपाली भूभागसम्म पुर्‍याउने सम्भावना पनि बढाएको छ । हाल नेपालले तेस्रो मुलुक व्यापारका लागि सडकमार्ग हुँदै कोलकाता र विशाखापट्टनम् बन्दरगाह मात्र प्रयोग गर्दै आएको छ ।


नेपाल–भारत अन्तरदेशीय जलमार्गको सम्भाव्यता अध्ययनमा संलग्न खानेपानी मन्त्रालयका सचिव माधव बेल्बासेले साहिबगन्ज अन्तरदेशी टर्मिनल सञ्चालनमा आउनु नेपालको पारवहन व्यापारका लागि अत्यन्त राम्रो अवसर भएको बताए । ‘यो निकै सुखद खबर हो । यसले नेपालसम्म जलमार्ग सञ्चालनको बाटो पनि थप प्रस्ट भएको छ भने अर्कोतर्फ साहिबगन्जबाट विराटनगरसम्म सडक मार्गबाटै कार्गो ढुवानी गरे पनि तेस्रो मुलुक व्यापारलाई थप सहज बनाउनेछ ।’


जलमार्ग विकास परियोजनाअन्तर्गत वाराणसीदेखि पश्चिम बंगालको हल्दियासम्म १ हजार ३ सय ९० किलोमिटरसम्म जलमार्ग एक निर्माण भइरहेको छ । जसमा विश्व बैंकको आर्थिक र प्राविधिक सहयोग रहेको छ । यो जलमार्गलाई बंगलादेशको जलमार्गसँग पनि जोड्ने योजना छ । त्यसपछि जलमार्ग दुईबाट उत्तरपूर्वी भारतसँग पनि सिधा सम्पर्क स्थापित हुनेछ ।


कार्गो पारवहनका लागि फरक्कमा अत्याधुनिक नयाँ नेभिगेसन ब्लक पनि निर्माण भइरहेको छ । त्यसैगरी हल्दियामा मल्टिमोडल टर्मिनलको काम पनि भइरहेको छ । १४५ वटा अग्ला पिलर ठड्याएर बनाइएको यो टर्मिनल २७० मिटर लामो र २५ मिटर चौडा छ । भारतीय अन्तरदेशीय जलमार्ग प्राधिकरणले निर्माण गरेको हो ।


घना आवादी भएका बिहार र उत्तरप्रदेशलाई लक्षित गर्दै सञ्चालनमा ल्याउन लागेका जलमार्ग नेपाललाई पनि प्रयोग गर्न दिन पछिल्लो समय भारत पनि सकारात्मक देखिएको छ । भारतमा बनिरहेको जलमार्गलाई नेपालसम्म विस्तार गर्ने योजना पनि रहेको छ ।


२०७४ साल चैतमा प्रधानमन्त्री केपी शर्मा ओलीको भारत भ्रमणका बेला नेपाल र भारतबीच कार्गो ढुवानीका लागि नेपाललाई सिधै समुद्रसम्म जोड्न जलमार्ग विकास गर्नेसम्बन्धी सहमति भएको थियो । भारतले एक सय एघारवटा वटा जलमार्ग निर्माण महात्त्वाकांक्षी योजना अघि सारेको छ ।


प्रधानमन्त्रीस्तरमा सहमति भएपछि नेपालको सीमासम्म विकास गर्ने गरी नारायणी र कोसी जलमार्ग यसैअन्तर्गत राखिएको हो ।

प्राविधिक रूपमा कोसी, नारायणी र कर्णाली नदीमा जलमार्ग सञ्चालन गर्न सम्भव देखिए पनि कर्णाली नदीको सन्दर्भमा भने टीकापुरदेखि गंगासम्मको खण्डमा ६०० किलोमिटरभन्दा लामो भएकाले यो नदीमा जलमार्ग सञ्चालन गर्नु आर्थिक हिसाबले अनुकूल नदेखिएपछि कोसी र नारायणीमा मात्र जलमार्ग सञ्चालनको काम अगाडि बढाइएको हो ।


नारायणी (भारतमा गण्डक) र कोसीमा जलमार्ग विस्तार सञ्चालनका लागि सम्भाव्यता अध्ययन भइसकेको छ । उक्त अध्ययनले कोसीको हनुमानगर र गण्डकको बाल्मीकि नगरसम्म पानी जहाज सञ्चालन गर्न सम्भव हुने देखाएको छ ।


कोलकाताबाट वाराणसी, कालुकाट र साहिबगन्जसम्म करिब ३ सय टन क्षमताका ठूला जहाज चलाउन सकिने देखिए पनि नदीको गहिराइका कारण नेपालतर्फको जलमार्गमा भने साना जहाज प्रयोग गर्नुपर्ने हुन्छ । त्यसैगरी प्रारम्भिक अध्ययनले नारायणीमा जलमार्ग सञ्चालन बढी सम्भव हुने देखाएका पनि सयौं वर्ष पुराना पुलहरूको विकल्पमा नयाँ संरचना बनाउनुपर्ने औंल्याइएको छ । जसले गर्दा जलमार्गलाई नेपालसम्म विस्तार गर्न भने केही समय लाग्नेछ ।


नेपालसम्म जलमार्ग सञ्चालन गर्न समय लाग्ने भएकाले नेपाली प्राविधिकहरूले गत वर्ष वाराणसी र कोलकातासम्म स्थलगत अध्ययनसमेत गरेका थिए । प्राविधिक अध्ययनले वाराणसी, साहिबगन्ज, कालुघाट टर्मिनल सञ्चालन आएको खण्डमा तेस्रोमुलुक आयात वा निर्यात गरिने सामान कोलकाता हुँदै सिधै जहाजमा ती टर्मिनलसम्म ल्याउन सकिने देखाएको थियो । त्यसपछि सडक वा रेलमार्ग हुँदै नेपालका सीमावर्ती सहरसम्म पुर्‍याउने सकिनेछ ।


कालुघाटबाट रक्सौलसम्मको सडक दूरी १८० किमि रहेको छ भने साहिबगन्जबाट विराटनगर (जोगबनी) को दूरी १५० किलोमिटर मात्र छ ।

प्रकाशित : भाद्र २९, २०७६ ०७:५९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?