कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

दसैंका लागि खसीबोका

हरिहरसिंह राठौर

धौखोला, धादिङ — सिद्धलेकका महिलाहरूले ठाडो मूल्यमा ‘बिचौलिया’ हरूलाई खसीबोका बेच्न छाडिसके । गत वर्षसम्म मुखैका भरमा मोलमोलाई हुन्थ्यो । अहिले गाउँकै संकलन केन्द्रमा जोख्ने उपकरण जडान गरिएको छ । 

दसैंका लागि खसीबोका

दसैंमा बिक्रीका लागि महिलाहरूले १ हजार ७ सय खसीबोका तयारी अवस्थामा राखेका छन् । तौलेर बेच्दा माउँपाठीलाई प्रतिकेजी ३५० र खसबोकालाई ५ सय रुपैयाँ मूल्य तोकेका छन् । उत्पादित खसीबोका संकलन र बिक्रीका लागि सिद्धलेककै ६ ठाउँमा केन्द्र सञ्चालन गरिएका छन् ।

सिद्धलेकको उपहार कृषि सहकारी संस्थामा आबद्ध १ हजार १ सय ७४ जना महिलाले ५९ वटा समूह गठन गरेका छन् । यी समूहहरूमा १८ देखि २७ जना सदस्य छन् । सबै सदस्यहरूले पालेका बाख्रा १७ हजारभन्दा बढी भइसकेका छन् । हरेक महिला सदस्यलाई हेफर इन्टरनेसनलको सहयोगमा स्थानीय संस्था प्रयास नेपालले २ वटा माउँ बाख्रा उपहार दिने गरेको छ । पाएको उपहार महिलाहरूले डेढ वर्षमा अर्को सदस्यलाई फिर्ता गर्छन् । स्थानीय खरी जातका बाख्रा र जमुनापारीले २ वर्षमा कम्तीमा ३ पटक पाठापाठी पाउँछन् ।

निकै गर्मी हुने आवास क्षेत्र, वस्तुभाउलाई घाँस काट्न र दाउरा चहार्न पनि कठिनाइ भएकैले स्थानीयले नाम धौखोला राखे । अब घाँस दाउरा गर्न र पशुवस्तु पाल्न भने त्यति टाढा जानु पर्दैन । बारीका कान्लामा अनेक थरीका बाह्रमासे घाँस रोपिएका छन् । धौखोलालाई बाख्रापालन र घाँस खेतीले चिनाउँदै छ ।

सिद्धलेकका हरेक घरमा रैथाने डालेघाँससँगै अरू घाँसहरू पनि रोपिएका छन् । खेर गएका बारी कान्ला, गोरेटो, बाँझो जग्गा कुनै खाली छैन । मेन्दोला, भटमासे, बकाइनो, किम्बु, मलाटो, एमबी २१ लगायतका घाँसले बस्ती नै ढपक्कै छ । किसानहरूले घाँसको बीउ र घाँस बेचेर पनि आय आर्जन गर्न थालेका छन् ।

स्थानीय बलदेवी महिला समूहकी सदस्य सुमित्रा श्रेष्ठले भनिन्, ‘केही वर्षअघिसम्म घाँॅसपातको निकै दुःख थियो, अब बारीकान्लामै प्रशस्तै छ, जंगल जाने समय अरू काममा लगाउँछौं ।’ महिलाहरूले बाख्रापालन तालिम लिएर गोठ सुधार पनि

गरेका छन् ।

नश्ल सुधारका लागि बोका जन्मेको २ महिनामै खसी बनाइन्छ । एउटा समूहमा एउटा बोका छ । हरेक वर्षमा बोका फेरिन्छ । ‘सदरमुकाम जाँदा बस भाडा पनि मसँग माग्थिन् । अब उल्टै माग्नु पर्ने भयो, बाख्रा पालेर बर्सेनि ६० हजारभन्दा बढी कमाइ गर्न थालेपछि गरगहना र घरायसी खर्चका लागि हामीसँग सोध्नुपर्ने बाध्यता हटेको छ,’ सुमित्राका श्रीमान् सीताराम श्रेष्ठले भने ।

बाख्रा पाल्न थालेपछि महिलाहरूको आयआर्जनमा वृद्धि भएको छ । समूहमा ५ देखि १० वटासम्म खसीबोका र पाठी नबेच्ने कोही छैनन् । आफूले यसै वर्ष १० वटा खसीबोका बेचेको सिद्धलेक १ धौखोलाकी शोभा श्रेष्ठले बताइन् । खसीबोकाको मुख्य बजार मलेखु, काठमाडौं, धादिङ सदरमुकाम र नारायणगढ हो । स्थानीय खसीको माग बढेकाले बिक्रीको फिक्री पनि छैन ।

ग्रामीण सडक निर्माणले गर्दा ढुवानी सुविधा पुगेको छ । ‘महिलाहरूले यसपालिको दसैंमा १७ सय खसीबोका बिक्रीको योजना बनाएका छन् । त्यसबाट झन्डै १ करोड ८७ लाख रुपैयाँ गाउँमा भित्रिने अपेक्षा गरेका छौं,’ प्रयास नेपालका कार्यकारी निर्देशक दामोदर अर्यालले भने । सरकारले भारतीय खसीबोका आयातमा प्रतिबन्ध लगाएपछि स्थानीयको माग बढेको छ ।

भन्सार विभागको तथ्यांकअनुसार २०७५ साउनमा दसैंलाई लक्षित गरी ३७ करोड २१ हजार रुपैयाँका ४५ हजार ७ सय ९८ खसीबोका आयात भएका थिए ।

काठमाडौं उपत्यकामा मात्र वार्षिक ६ लाख र मुलुकभर १ करोड १८ लाख खसीबोका आवश्यक पर्ने तथ्यांक छ । वार्षिक ३० प्रतिशत अर्थात् ३३ लाख कटनीमा जान्छ । सिद्धलेकजस्तै मुलुकभर १५६ वटा सहकारीसँग खसीबोका छन् । हेफर इन्टरनेसनलले मुलुकभर वार्षिक ५० हजार खसीबोका बिक्री गर्ने गरेको कार्यक्रम निर्देशक तीर्थ रेग्मीले बताए । ‘हेफरको सहयोगमा उत्पादिनमध्ये ५० प्रतिशत खसीबोका उपत्यकामा खपत हुन्छन्,’ उनले भने ।

प्रकाशित : भाद्र २९, २०७६ १०:०१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?