१४.०६°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५७

मुगुमा खाद्यान्न अपुग

दसैं आयो
राजु चौधरी

काठमाडौँ — सरकारले कर्णालीलगायतका दुर्गम जिल्लामा पर्याप्त मात्रामा खाद्यान्न ढुवानी भएको दाबी गरे पनि मुगुमा भने अपुग देखिएको छ । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडका अनुसार मुगुमा मासिक १ हजार क्विन्टल खाद्यान्नको माग छ ।

मुगुमा खाद्यान्न अपुग

भदौ १५ गतेसम्म २ सय ४२.३३ क्विन्टल मात्रै मौज्दात छ । यो अघिल्लो वर्षको तुलनामा आधा कम हो । गत वर्ष भदौ १५ गतेसम्म ४ सय २१.८२ क्विन्टल मौज्दात थियो । उक्त परिमाणमा मौज्दात हुँदा पनि अभाव भएकाले अहिले मुगुको अवस्था थप नाजुक बन्दै गएको छ ।


कम्पनीका महाप्रबन्धक योगेन्द्र गौचनले मुगुमा मौज्दात कम रहेको स्विकारे । ‘गत वर्षको मौज्दात थियो । अहिले बिक्री भइरहेको छ,’ महाप्रबन्धक गौचनले भने, ‘ढुवानीका लागि ठेक्का भए पनि ठेकेदारले समयमै काम गरेन । केही समस्या देखिन्छ ।’ उनका अनुसार समयमै ढुवानी नगर्ने ठेक्केदारलाई कालोसूचीमा राखिएको छ ।


कम्पनीका बिक्री वितरण विभाग प्रमुख लालमोहन ठाकुरले पनि ढुवानी हुने मुख्य सिजनमा हिउँका कारण पर्याप्त लग्न नसकेको बताए । ‘मुगुमा मासिक १ हजार क्विन्टल चामल खपत हुन्छ । अहिले मौज्दात २ सय ४२ क्विन्टल छ,’ उनले भने, ‘त्यहाँ केही समस्या हुन सक्छ ।’ संस्थानले मुगुमा खाद्य ढुवानीका लागि पुनः ठेक्का भने सुरु गरिसकेको छ ।


मुगुमा सुर्खेत, धनगढी, नेपालगन्जलगायत ठाउँबाट चामल ढुवानी गरिने ठाकुरले बताए । ‘अन्य क्षेत्रको हकमा मौज्दात पर्याप्त छ । चाडबाडमा कुनै समस्या हुँदैन,’ उनले भने, ‘मुगुमा मागअनुुसार पूर्ति गर्न लागिपरेका छौं ।’ कम्पनीका अनुसार नेपालगन्जबाट जापानी, मध्यम, सोनामन्सुली, जिरा मसिनो चामल ढुवानी हुन्छ । उक्त चामलको मूल्य ४५ देखी ५० रुपैयाँ किलो छ ।


मुगुसँगै चाडबाडमा हुम्लामा पनि बढी अभाव हुन्छ । यस वर्ष त्यहा मौज्दात पर्याप्त रहेको महाप्रबन्धक गौचनले बताए । ‘गत वर्ष हुम्लामा २३२ क्विन्टल खाद्यान्न मौज्दात थियो । चाडबाडमा अभाव भएको थियो,’ गौचनले भने, ‘अहिले त्यहाँ ३ हजार ६ सय १ क्विन्टल मौज्दात छ । यो मागभन्दा बढी हो ।’ हुम्लामा मासिक १५ सय क्विन्टल चामल बिक्री हुन्छ ।


दैवी प्रकोप नभए चाडबाडमा अभाव नहुने उनले दाबी गरे । कम्पनीका अनुसार अनुसार दसैंका लागि अघिल्लो वर्ष १७ हजार १८ क्विन्टल मौज्दात थियो । अहिले २६ हजार ७ सय ६७ क्विन्टल मौज्दात रहेको जनाएको छ । मौज्दात पर्याप्त रहेकाले मागअनुसार वितरण भइरहेको ठाकुरले बताए । कम्पनीले सबै क्षेत्रमा पर्याप्त मौज्दात दाबी गरे पनि ओखलढुंगा, खोटाङ, मनाङ, मुस्ताङ, रुकुम, बझाङमा भने मौज्दात न्यून छ ।


कम्पनीको तथ्यांकअनुसार अघिल्लो दसैंमा ओलखढुंगामा ३४२ क्विन्टल मौज्दात थियो । अहिले २०७ क्विन्टल छ । खोटाङमा ११ सय ३९ क्विन्टल थियो । अहिले ६४४ क्विन्टल मौज्दात छ । अघिल्लो वर्ष दसैंमा मनाङमा ६७४ क्विन्टल थियो । अहिले २ सय क्विन्टल छ । मुस्ताङमा ४७१ क्विन्टलमध्ये १७० मात्रै मौज्दात छ । रुकुम र बझाङमा क्रमशः ४०१ र ५६५ क्विन्टल मौज्दात थियो । अहिले रुकुममा १४६ क्विन्टल र बझाङमा १.४५ क्विन्टल मात्रै मौज्दात छ । कम्पनीका बिक्री वितरण विभाग प्रमुख ठाकुरले भने त्यो क्षेत्रबाट माग नै नभएको दाबी गरे ।


‘ती क्षेत्रमा बिक्री नै हुँदैन । त्यसैले मौज्दात कम राखेका छौं,’ उनले भने । उनका अनुसार हाल कम्पनीसँग ५९ डिपो छन् । तीमध्ये ४० डिपो मात्रै पूर्ण रूपमा सञ्चालनमा छन् । अन्य डिपोमा माग नहुँदा मौज्दात घटाउँदै लगिएको बताए । यी डिपोबोहक अन्यमा मौज्दात पर्याप्त रहेको उनले दाबी गरे । कम्पनीका अनुसार सुगममा १ लाख ३६ हजार ६ सय ७५ क्विन्टल मौज्दात छ । दुगर्ममा भने २६ हजार ७ सय ६७ क्विन्टल जम्मा छ ।


डेढ महिनामा ५.२६ प्रतिशत ढुवानी

सरकारले डेढ महिनामा ५.२६ प्रतिशत मात्रै खाद्यान्न ढुवानी गरेको छ । चालु आर्थिक वर्षमा दुर्गम जिल्लामा १ लाख ४१ हजार ९ सय ८७ क्विन्टल खाद्य ढुवानी गर्ने लक्ष्य राखेको छ । जसमध्ये भदौ १५ गतेसम्म हुम्ला र अछाममा गरी ७ हजार ४ सय ७६ क्विन्टल मात्रै ढुवानी गरेको हो ।


कम्पनीका बिक्री वितरण विभाग प्रमुख ठाकुरका अनुसार हुम्लामा ७ हजार ३ सय ५ क्विन्टल ढुवानी भएको छ । जसमध्ये हुम्लाको सिमकोटमा ५ हजार ८ सय ५.९० क्विन्टल र यलबाङमा १५ सय क्विन्टल ढुवानी भएको छ । अछामको सदरमुकाममा १७० क्विन्टल ढुवानी भएको छ ।


यीबाहेक अन्य क्षेत्रमा भने ढुवानी सुरु नै हुन सकेको छैन । विभाग प्रमुख ठाकुरले भने ठेक्का भर्खर सुरु भएकाले ढुवानी कम देखिएको बताए । ‘अधिकांश ठाउँमा ढुवानीको ठेक्का लागेको छैन । अब ठेक्का लाग्ने बित्तिकै ढुवानी तीव्र हुन्छ,’ उनले भने ।


दैलेखमा गोदामको माग

जिल्ला खाद्य व्यवस्था समितिको बैठकले दैलेखमा खाद्य डिपो स्थापना गर्न माग गरेको छ । ‘दैलेख जिल्लामा ५ हजार क्विन्टल खाद्यन्न भण्डारण गर्न सकिने गोदाम घर, पाँच कोठाको कम्पाउन्डवाल र शौचालयसहितको कार्यालय भवन निर्माण अति आवश्यक छ । गोदाम घर निर्माण भए सुर्खेत र नेपालगन्जबाट ७९ किलोमिटर दूरी कम पर्छ,’ समितिको निर्णयमा भनिएको छ, ‘पूर्वाधार निर्माणका लागि यसअघि निर्णय भई माग गरिएकामा हालसम्म बजेट विनियोजन भएन । त्यसका लागि कम्पनीलाई बजेटको व्यवस्थासमेत माग गर्न पुनः निर्णय गरियो ।’


कम्पनीका अनुसार समितिमा जनप्रतिनिधिहरूको सहभागिता हुन्छ । समितिले बेस्तडा क्षेत्रमा (भगवतीमाई गाउँपालिका) पनि खाद्य डिपो स्थापना गरी हाललाई ४ हजार क्विन्टल खाद्यन्न उपलब्ध गराउन माग गरेको छ ।


यस्तै खाद्य डिपो चामुण्डाबिन्दासैनीमा ९ हजार क्विन्टल, दुल्लुमा ४५० क्विन्टल, ठाटिकाँधमा २ हजार क्विन्टल, नौमुलेमा ३ हजार क्विन्टल ढुवानी गर्न माग गरेको कम्पनीलाई पठाएको पत्रमा उल्लेख छ ।

प्रकाशित : भाद्र २८, २०७६ ०८:०५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?