१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५८

ब्याजदर कार्यान्वयनमा चुक्यो राष्ट्र बैंक

यज्ञ बञ्जाडे

काठमाडौँ — ब्याजदरमा अस्वाभाविक उतारचढाव हुन नदिई स्थायित्व कायम गर्ने उद्देश्यले ‘ब्याजदर करिडोर’ लागू गरे पनि त्यसको कार्यान्वयनमा राष्ट्र बैंक चुकेको छ ।

ब्याजदर कार्यान्वयनमा चुक्यो राष्ट्र बैंक

राष्ट्र बैंकले ब्याजदर करिडोर सञ्चालन विधि र प्रक्रियाअनुसार चलाउन नसक्दा त्यसको प्रभावकारी कार्यान्वयन हुन नसकेको हो । यसको प्रत्यक्ष असर बैंक तथा वित्तीय संस्थाको ब्याजदरमा परेको छ ।


अर्थ मन्त्रालय र राष्ट्र बैंकको मौखिक निर्देशनअनुसार बैंकहरूले निक्षेपको ब्याजदरमा ‘भद्र सहमति’ गरेका छन् । यही कारण बजारमा ब्याजदर उतारचढाव धेरै देखिएको छैन । त्यो सहमति तोडिने हो भने ब्याजदरको उतारचढाव धेरै हुने जानकारहरू बताउँछन् ।


ब्याजदर करिडोर कार्यान्वयनको नियम (सिद्धान्त) अनुसार अन्तरबैंक दर ३ प्रतिशतभन्दा तल गएमा राष्ट्र बैंकले बजारबाट पैसा झिक्नुपर्छ र साढे ४ प्रतिशतभन्दा माथि गएमा बजारमा पैसा पठाउनुपर्छ । मंगलबार अन्तरबैंक ब्याजदर २.६ प्रतिशत हाराहारीमा छ । साउन र भदौको दोस्रो सातासम्म यो दर १ प्रतिशतको हाराहारीमा थियो । गत सातादेखि भने बढ्न थालेको छ ।


ब्याजदर करिडोरको सिद्धान्तले यस्तो अवस्थामा विभिन्न वित्तीय औजारहरूमार्फत बजारमा पैसा आपूर्ति गर्नुपर्छ । तर, राष्ट्र बैंकले गत साउनयता बजारबाट पैसा झिकेको छैन । यहीकारण ब्याजदर करिडोर कार्यान्वयन प्रभावकारी भएन भनिएको हो ।


ब्याजदर करिडोर प्रभावकारी रूपमा कार्यान्वयन हुन नसकेकै कारण ब्याजदर स्थायित्वमा समस्या भएको बैकहरूको गुनासो छ । ब्याजदरलाई बाञ्छित सीमामा राख्ने उद्देश्यले करिडोर लागु गरिए पनि सुरु देखि नै प्रभावकारी कार्यान्वयन हुन नसक्दा बजारमा करिडोरको प्रभाव नदेखिएको उनीहरूको भनाइ छ ।


‘ब्याजदर कार्यान्वयनमा देखिँदैन,’ बैंकर्स संघका अध्यक्ष ज्ञानेन्द्र ढुंगानाले भने, ‘कार्यान्वयनमा भएको भए त बजारबाट पैसा झिक्ने र पठाउने काम हुन्थ्यो होला ।’ उद्देश्यअनुसार करिडोर प्रभावकारी रूपमा कार्यान्वयन हुन सकेमा ब्याजदरमा स्थायित्व आउने उनले दाबी गरे । ‘राष्ट्र बैंकले ब्याजदर करिडोर प्रभावकारी रूपमा कार्यान्वयनमा ल्याउनुपर्छ,’ उनले भने, ‘यसले बैंक तथा वित्तीय संस्थालाई पनि सहज हुन्थ्यो ।’


पूर्व लक्ष्यित उद्देश्यअनुसार करिडोर कार्यान्वयन हुन नसक्दा ब्याजदरमा स्थायित्व आउन नसकेको अर्थविद् केशव आचार्यले बताए । करिब तीन वर्षअघिदेखि करिडोरसम्बन्धी व्यवस्था ल्याइए पनि हालसम्म त्यसको प्रभावकारी कार्यान्वयन हुन नसकेको उनको भनाइ छ । ‘इमान्दार भएरभन्दा गत वर्ष अर्थमन्त्री युवराज खतिवडाले करिडोरको कार्यान्वयनलाई अड्काइदिए,’ उनले भने, ‘अर्थ मन्त्रालयको हरियो संकेत र राष्ट्र बैंकको इच्छाशक्ति नहुँदा करिडोर कार्यान्वयनमा समस्या देखिएको छ ।’


करिडोरलाई प्रभावकारी रूपमा कार्यान्वयनमा ल्याइएमा ब्याजदर वाञ्छित सीमाभित्रै राख्न सहयोग पुग्ने उनले बताए । ब्याजदर करिडोर कार्यान्वयनको प्रारिम्भक चरणमा रहेकाले प्रभावकारी नदेखिएको हुन सक्ने राष्ट्र बैंक अनुसन्धान विभाग प्रमुख गुणाकर भट्टले बताए । राष्ट्र बैंकले निरन्तर रूपमा अन्तरबैंक दर र तरलतालाई अनुगमन गरिरहेको जनाउँदै उनले भने, ‘अहिले बजारमा अधिक तरलता त्यत्ति धेरै छैन, अन्तरबैंक ब्याजदर बढ्दो क्रममा छ, यसकारण अहिले बजारबाट पैसा नझिकिएको हो ।’ यही अवस्थामा बजारबाट पैसा झिक्दा बैंक तथा वित्तीय संस्थालाई लगानीयोग्य रकम कम हुने उनले बताए ।


चालु आर्थिक वर्षको मौद्रिक नीतिअनुसार ब्याजदर करिडोरको माथिल्लो सीमाका रूपमा स्थायी तरलता सुविधादर ६ प्रतिशत, नीतिगत दरका रूपमा रिपोदर ४.५ प्रतिशत र तल्लो सीमाको निक्षेप संकलनदर ३ प्रतिशत कायम गरिएको छ । यसको अर्थ अन्तरबैंक दर ३ प्रतिशतभन्दा तल रहँदा राष्ट्र बैंकले बजारबाट पैसा झिकेर अन्तरबैंक दर ३ प्रतिशत माथि पुर्‍याउनुपर्छ ।


यस्तै, अन्तरबैंक दर साढे ४ प्रतिशतभन्दा माथि रहेको अवस्थामा राष्ट्र बैंकले बजारबाट पैसा उठाउनुपर्छ । तर, भदौ महिनामा राष्ट्र बैंकले न त बजारबाट पैसा उठाएको छ न त पठाएको छ । राष्ट्र बैंकका अनुसार गत साता बजारबाट पैसा यो साता अन्तरबैंक दर २.६ प्रतिशत छ । सो अवधिमा बैंक तथा वित्तीय संस्थासँग करिब २८ अर्ब रुपैयाँ अधिक तरलता (अनिवार्य नगद मौज्दात –सीआरआर) बाहेक रहेको राष्ट्र बैंकले जनाएको छ ।


के हो ब्याजदर करिडोर ?

ब्याजदर करिडोर ब्याजदरमा स्थायित्व ल्याउने एउटा मौद्रिक उपकरण हो । करिडोरमा माथिल्लो र तल्लो गरी दुई सीमा तोकिन्छ । बजार ब्याजदरलाई ती सीमाभित्रै राख्ने प्रयास गरिन्छ ।


करिडोरले अल्पकालीन रूपमा ब्याजदरमा हुन सक्ने तीव्र उतारचढावको अवस्थाको अन्त्य गरी यसलाई स्थिरता प्रदान गर्न सहयोग गर्छ । बैंक तथा वित्तीय संस्थाले प्रदान गर्ने निक्षेप तथा कर्जाको ब्याजदरलाई निश्चित गोरेटोभित्र हिँडाउन यस्तो कोरिडोर लागू गर्ने अन्तर्राष्ट्रिय चलन छ ।


छोटो अवधिमा नै ब्याजदरमा उतारचढाव हुँदा लगानीकर्ता र निक्षेपकर्तामा त्यसको प्रत्यक्ष नकारात्मक प्रभाव पर्छ । यस्तो नकारात्मक प्रभावलाई कम गराउन ‘ब्याजदर करिडोर’ ले महत्त्वपूर्ण भूमिका निर्वाह गर्छ । विभिन्न ऋणपत्र, निक्षेप, कर्जा, अन्तरबैक ब्याजदर आदिलाई निश्चित सीमाभन्दा बाहिर जान नदिन ब्याजदर करिडोरको अवधारणा ल्याइएको हो ।

प्रकाशित : भाद्र २७, २०७६ ०८:१६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?