लामखुट्टे भगाउने सामग्री अभाव

नुमा थाम्सुहाङ

काठमाडौँ — धापासीकी अहिल्या कुँवर लामखुट्टेको टोकाइबाट बच्ने क्रिम खरिद गर्न असनको एक पसलमा आइन्, नपाएपछि त्यसै फर्किइन् । अन्य ठाउँतिर नपाएपछि असनमा किन्न आएकी उनले यहाँ पनि पाइनन् ।

लामखुट्टे भगाउने सामग्री अभाव

आफ्ना बच्चाहरू विद्यालय जाँदा कमिज र पेन्ट मात्र लगाउने बाँकी खुला भाग जोगाउनका लागि हातखुट्टामा लगाउने क्रिम किन्न आएकी उनले नपाएपछि रित्तै फर्किएको बताइन् ।


‘बाबु दिनभरि स्कुल हुन्छ, लामखुट्टेले नटोकोस् भनेर क्रिम किन्न आएँ,’ उनले भनिन्, ‘कहीँ नपाएपछि यहाँ पाउने आशमा आएकी तर पाइएन ।’ चिनेको पसल भएकाले उनी सिधै त्यहाँ गएकी थिइन् । आएपछि राखिदिनु भनेर उनी पसलबाट निस्किइन् ।


ताहाचलकी निशा क्षेत्री असनकै एक पसलमा लामखुट्टे भगाउने लिक्विड जेल किन्दै थिइन् । ‘अहिले डेंगुको संक्रमण भएको निकै खबर सुनिन्छ, लामखुट्टेबाट बच्न भए पनि लिक्विड जेल किन्न आएँ,’ उनले सुनाइन्, ‘अहिले त यस्तो सामान पाउन पनि मुस्किल भयो, ताहाचलबाट म यो सामान लिन असनसम्म आउनुपर्‍यो ।’


लामखुट्टेको टोकाइबाट बच्न धुप, क्रिम, लिक्विड, स्प्रे, जेल, इलेक्ट्रिक ब्याटलगायतको प्रयोग हुन्छ । हाल यी सामग्री मागअनुसार अपूर्ति नभएको अन्नपूर्ण स्टोरका सञ्चालक रोशन तुलाधार बताउँछन् । ‘गर्मीमा लामखुट्टे भगाउने सामान बिक्री हुन्छ नै,’ उनले भने, ‘कही नपाएको भन्दै असनमा पाइन्छ भन्ने आशले आउँछन् । माग छ, पूर्ति छैन ।’ हातमा लगाउने क्रिम, कपडामा लगाउने फेब्रिक रोल र इलेक्ट्रिक ब्याटका साथै मेसिनमा राख्ने लिक्विड जेलको माग बढी भए पनि व्यापारीसँग नै नभएपछि कसरी पूरा गर्ने भन्ने उनको प्रश्न छ ।


‘लामखुट्टे नियन्त्रणका लागि घरमा चाहिने यी सबै सामानहरूको व्यापारीसँग नै अभाव छ,’ उनले भने, ‘डेंगुको प्रकोप दिनदिनै बढ्दो छ । हामीले पनि समयमा पाउन नसकेकाले माग पूरा गर्न सकेका छैनौं ।’ दिउँसो टोक्ने लामखुट्टेले गर्दा डेंगु लाग्ने भएकाले बच्चाहरू विद्यालयमा हुन्छन् । दिनभरि विद्यालयमा बस्ने बच्चाहरूका लागि क्रिम र फेब्रिक रोल उपयोगी हुने उनको भनाइ छ ।

लामखुट्टेबाट बच्ने सबैजसो सामग्री भारतबाट आउने र डिलरबाट लिने उनले बताए । महाबौद्धबाट चिनियाँ इलेक्ट्रिक ब्याट ल्याउने गरेको उनले सुनाए । उनका अनुसार दिनमा सय जनाजति ग्राहक आउँछन् । सामान नपाएर रित्तै फर्किन्छन् । चाइनिज इलेक्ट्रिक ब्याट २५ वटासम्म ल्याउँछौं । यसको होलसेल मूल्य २७५ रुपैयाँ पर्छ ।


भारतीय डिलरबाट हामीले १ कार्टुन लिक्विड जेलहरूलगायतका सामान लिन्छौं । एक कार्टुनमा १ सय पिस हुन्छ । ४५ दिन चल्ने लिक्विड जेलको १ सय रुपैयाँ र ६० दिन चल्ने लिक्विड ११५ रुपैयाँ पर्छ । ‘यसमा हामीले ५० रुपैयाँ नाफा राखेर बेच्ने गरेका छौं । दिनमा ३ हजार रुपैयाँसम्म व्यापार हुने गरेको छ,’ उनले भने ।


डेंगुको महामारी हुँदा पनि सरकारले पहल गर्न नसकेको उनको गुनासो छ । भारतबाट सामान ल्याउँदा त्यति समस्या नहुने उनले बताए । ‘यो सामानहरू भारतमा सजिलै पाइन्छन् । भारतबाट नेपाल भित्र्याउन सरकारले पहल गर्नुपर्‍यो,’ उनी भन्छन्, ‘लामखुट्टेले नटोके डेंगु लाग्दैन भनेर के भो ? त्यसले कुन बेला टोक्छ थाहा छैन ? तर बजारमा यी वस्तुहरूको अभाव छ, सम्बन्धित निकायको ध्यान जाओस् ।’


असनकै अर्का व्यापारी मन्दीपतास राजभण्डारी भन्छन्, ‘गर्मीमा लामखुट्टे भगाउने सामानको सिजन हो तर अहिले डेंगुको प्रकोपले गर्दा अलिक माग बढेको पाइन्छ । बाहिर नपाएपछि मानिसहरू असनमा आउँछन् तर यहाँ पनि ती सामानहरूको अभाव छ ।’


दिनमा ५० देखि ६० जना मानिस किन्नका लागि आए पनि खाली फर्काउनुपरेको उनले बताए । मागअनुसार पूरा गर्न नसकेको विषयमा नेपाल खुद्रा व्यापार संघका पूर्वअध्यक्ष पवित्र बज्रचार्य भन्छन्, ‘लामखुट्टे भगाउने सामान सामान्य गर्मी सुरु हुने बेला जाडोका अन्तिमतिर आयात हुन्छ । अहिले यसको माग २ सातादेखि बढेको हो ।


गर्मी सकिएपछि यी सामानको म्याद पनि सकिन्छ । डेंगुको आतंक यसरी अचानक हुन्छ, यसमा माग पनि अचानक बढ्छ भनेर आयात गर्ने व्यापारीहरूलाई पनि थाहा थिएन । त्यसैले त्यही अनुपातमा सामान आयात गरे ।’ डेंगु तत्काल नियन्त्रण भए यसको माग आफैं घटेर जाने उनले बताए ।

प्रकाशित : भाद्र २७, २०७६ ०८:१५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?