कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

'कर्णालीमा स्याउबाटै समृद्धि’

देशमा कुल स्याउ उत्पादनको ४३ प्रतिशत हिस्सा कर्णालीले ओगट्छ । सरकारी प्रोत्साहनका साथै सडक सञ्जालले बजारीकरणमा मद्दत पुगेपछि उत्पादन वृद्धि भएको हो ।

मुगु, जुम्ला — मुगु ताल्चागाउँका हरि रोकाया स्याउ बेचेरै वार्षिक ४ लाख रुपैयाँ कमाउँछन् । उनको बारीमा स्याउका ३ सय बोट छन् । सोही गाउँका कर्णबहादुर भामको आम्दानी अझ बढी छ । यस वर्ष उनको बारीमा भएका ४ सय ५० बोटमा स्याउ लटरम्म छन् ।

'कर्णालीमा स्याउबाटै समृद्धि’

‘पहिले अन्नबाली लगाउने बारीमा अहिले स्याउ लगाएको छु,’ उनी भन्छन्, ‘आम्दानी बढी हुन थालेपछि स्याउमै ध्यान गएको छ ।’

स्याउ उत्पादनका लागि उर्वर भूमि मानिने कर्णालीमा पछिल्लो समय रोकाया र भामजस्ता किसान लोभलाग्दो आम्दानीले उत्साही छन् ।


स्याउले उनीजस्ता हजारौं किसानलाई आत्मनिर्भर बनाएको छ । कर्णाली प्रदेशको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयका अनुसार कर्णालीमा गत वर्ष १३ हजार ५ सय १४ टन स्याउ उत्पादन भएको थियो । यस वर्ष करिब १४ हजार ८० टन उत्पादन हुने मन्त्रालयको आकलन छ ।


मन्त्रालयका योजना महाशाखा प्रमुख हरि पण्डितका अनुसार देशको कुल स्याउ उत्पादनको ४३ प्रतिशत स्याउ कर्णालीमा फल्छ । पछिल्लो समय सरकारी प्रोत्साहनका साथै सडक सञ्जालले बजारीकरणमा सहज हुन थालेपछि स्याउ उत्पादनमा वृद्धि भएको उनले बताए । कर्णालीमा स्याउ लगाइएको क्षेत्र हेर्दा केही वर्षभित्र स्याउले थप समृद्धि भित्र्याउने अनुमान गर्न सकिन्छ ।


हाल कर्णालीको ६ हजार ७ सय ९८ हेक्टर क्षेत्रमा स्याउ लगाइएको छ । त्यसमध्ये २ हजार ४५ हेक्टरमा मात्र स्याउ फल्छ । ‘लगाएजति सबै बोटमा स्याउ फल्न थाल्ने हो भने त कर्णालीलाई स्याउले सजिलै पाल्न सक्छ, यहाँका युवाले पैसा कमाउन बाहिर जानै पर्दैन,’ मन्त्रालयका सूचना अधिकारी पूर्णबहादुर थापाले भने, ‘कर्णाली स्याउको भकारो (भकारी) मात्र होइन, स्याउ–राजधानी पनि हो, यो व्यवसायलाई सरकारले व्यवस्थापन गर्न सक्यो भने समृद्धिको सपना यहीँबाट पूरा हुन सक्छ ।’


जुम्लामा स्याउ–समृद्धि सबैभन्दा उत्साहपूर्ण छ । कृषि ज्ञान केन्द्रका अनुसार यस वर्ष जिल्लाभर करिब ६ हजार १ सय टन स्याउ उत्पादन भएको छ । भदौ तेस्रो सातासम्म १० करोड रुपैयाँ मुल्यको स्याउ जिल्लाबाहिर निर्यात भइसकेको कार्यालय प्रमुख बालकराम देवकोटाले बताए । उनका अनुसार ३ हजार ४ सय ५० हेक्टर क्षेत्रमा स्याउ लगाइएकामा अहिले करिब १ हजार हेक्टरमा मात्र फलिरहेको छ ।


मुगुको छायानाथरारा नगरपालिकास्थित ताल्चागाउँको गोठमा भण्डारण गरिएका स्याउ । तस्बिर : राजबहादुर/कान्तिपुर


यस वर्ष मुगुको सोरु गाउँपालिकाको सोरुकोट, मुगुमकार्मारोङ गाउँपालिकाको माग्री, मह, रिउस, किम्रीलगायत गाउँमा गत वर्षभन्दा स्याउ उत्पादन बढेको ज्ञान केन्द्रका प्रमुख सुकिराम नेपालीले बताए । ‘यहाँको स्याउ अर्गानिक भएकोले सुर्खेत, नेपालगन्जजस्ता ठाउँमा माग बढ्दो छ,’ उनले भने, ‘सडकको अवस्था सुध्रिने हो भने यहाँको स्याउ अझ बढी बाहिर जान सक्छ ।’ स्थानीय बजारमा प्रतिदाना ५ देखि १० रुपैयाँ पर्ने स्याउ जिल्लाबाहिर प्रतिकेजी ८० रुपैयाँसम्म बिक्री हुने गरेको उनले बताए ।


कर्णालीका किसानको अनुहारमा स्याउ–समृद्धि सहजै देख्न सकिन्छ । स्याउबाटै उनीहरूको जीवनस्तर माथि उठेको छ । जिल्ला सदरमुकाम र सहरी क्षेत्रमा घरघडेरी किन्ने क्रम बढेको छ । चार वर्षयता व्यावसायिक खेती गरिरहेका मुगुका भामले वार्षिक ६० क्विन्टल स्याउ बेच्ने गरेको बताए । यसबाट वार्षिक ७ लाख रुपैयाँ आम्दानी हुने गरेको उनको भनाइ छ ।


उत्पादन भएको स्याउले सहजै बजार नपाउँदा किसानले सोचेजस्तो आम्दानी गर्न भने सकिरहेका छैनन् । यस वर्ष जुम्लामा उत्पादन भएको स्याउको करिब एक तिहाइमात्र जिल्लाबाहिर निर्यात भएको ज्ञान केन्द्रले जनाएको छ । स्याउ निर्यातका लागि जुम्लाका स्थानीय तहले अनुमति दिने गरेका छन् । केन्द्रले नाग्ममा निर्यातको तथ्यांक राख्ने गरेको छ ।


भदौ १० देखि निर्यातको अनुमति भएकामा हालसम्म २ हजार टन स्याउ बाहिरिएको कार्यालय प्रमुख देवकोटाले बताए । ‘स्याउ खरिद गर्न व्यापारीहरू जुम्लामै पुगे पनि कर्णाली राजमार्ग पटक–पटक अवरुद्ध हुँदा सबै स्याउ जिल्लाबाहिर जान सकेको छैन,’ देवकोटाले भने, ‘यसले गर्दा किसानले सोचेजस्तो लाभ पाउन सकेका छैनन् ।’


मुगुमा भने कुल उत्पादनको १५ प्रतिशत मात्र जिल्लाबाहिर निर्यात हुने गरेको ज्ञान केन्द्र प्रमुख नेपालीले बताए । मुगुमा यस वर्ष २ हजार ७ सय ५० टन स्याउ उत्पादन भएको छ । उत्पादनको १५ प्रतिशत जिल्लाबाहिर जाने अनुमान गरिएको ज्ञान केन्द्र प्रमुख नेपालीले बताए । यस वर्ष कर्णालीमा स्याउ उत्पादन राम्रो भएको छ । हिमपात र समयमै वर्षा हुँदा करिब ५ सय ६६ टन उत्पादन बढेको प्रदेशको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयको भनाइ छ ।


मन्त्री विमला केसीले पछिल्लो समय स्याउ उत्पादनमा भएको वृद्धिले किसान उत्साही भएका बताइन् । उनका अनुसार प्रदेश सरकारले स्याउको सम्भावनालाई अझ विस्तार गर्न जुम्लामा कोल्ड स्टोर, स्याउ प्रशोधन केन्द्र र बहुउपयोगी स्याउ उद्योग स्थापना गर्ने योजना बनाएको छ । कोल्ड स्टोर स्थापनाका लागि चालु आर्थिक वर्षमा साढे १ करोड बजेट विनियोजन गरिएको उनले बताइन् । यसका साथै सडक पूर्वाधारका लागि संघीय सरकारले पनि सहयोग गर्नुपर्ने उनको भनाइ छ ।


जुम्लामा अहिले कोल्ड स्टोर नहुँदा स्याउ किसानले सास्ती भोग्दै आएका छन् । विशेषगरी सिजनका बेला सस्तोमा स्याउ बेच्नुपर्ने बाध्यता छ । स्याउको लेबलिङ, प्याकेजिङ र ग्रेडिङमा पनि सरकारी सहयोगको खाँचो रहेको स्थानीय किसानको भनाइ छ । अर्कोतिर सहरमा कर्णालीको स्याउको भाउ बढिरहेको बेला किसानले भने सस्तोमा बेचिरहेका छन् ।


जुम्लाका किसानले बगैंचामै पुगेका व्यापारीलाई प्रतिकेजी ४० देखि ५० रुपैयाँमा बेच्छन् । त्यही स्याउ खरिद संकलन केन्द्रसम्म पुर्‍याउँदा ६० रुपैयाँसम्म पाउँछन् । सुर्खेत, नेपालगन्ज, काठमाडौंसम्म भने जुम्ली स्याउको मूल्य २ सय रुपैयाँसम्म रहेको व्यापारीको भनाइ छ ।


स्याउ खरिद गर्न जुम्ला पुगेका काठमाडौंका व्यापारी सुदृर चापागाईले ‘ए’ ग्रेडको स्याउ काठमाडौं पुग्दा २ सय रुपैयाँमा बिक्री हुने गरेको बताए । कुनै स्याउ त जुम्लामै ९३ रुपैयाँमा खरिद गरेको उनको भनाइ छ । ‘जुम्लीभन्दा चिनियाँ र भारतीय स्याउ महँगो छ,’ उनले भने, ‘जुम्ली स्याउको स्वाद चाखेकाहरूले त्यसपछि भने जुम्ली स्याउ नै खोज्छन् ।’


जुम्लाबाट सबैभन्दा बढी स्याउ सुर्खेत र नेपालगन्ज जाने गरेको छ । व्यापारीले केही स्याउ काठमाडौं, पोखरा, धनगढी, दाङ पनि पुर्‍याउने गरेका छन् । चन्दननाथ नगरपालिकाकी नगर प्रमुख कान्तिका सेजुवालले जुम्ली जनताको आर्थिक समृद्धिको पहिलो आधार स्याउ भएकाले यसमा अनुदान बढाइएको बताइन् । स्याउको प्याकेजिङ र बजारीकरणमा पनि सहयोग गरेको उनको भनाइ छ ।

प्रकाशित : भाद्र २७, २०७६ ०८:१४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?