१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५७

'जीडीपीको १५ प्रतिशत पूर्वाधारमा लगानी आवश्यक’

काठमाडौँ — अति कम विकसित मुलुकबाट मध्यम आय भएको मुलुकका रूपमा स्तरोन्नति हुन नेपालले कुल अर्थतन्त्र (जीडीपी) को औसत १०–१५ प्रतिशत लगानी पूर्वाधार क्षेत्रमा गर्नुपर्ने आवश्यकता रहेको विश्व बैंकको अध्ययनले देखाएको छ ।

काठमाडौंमा आयोजित पूर्वाधार सम्मेलनको दोस्रो दिन बिहीबार उक्त अध्ययन प्रतिवेदन सार्वजनिक गरिएको थियो । नेपालले सन् २०२२ सम्ममा अति कम विकसित मुलुकबाट स्तरोन्नति हुने र सन् २०३० सम्ममा मध्य आय भएको मुलुकमा स्तरोन्नति हुने लक्ष्य राखेको छ ।


अध्ययनले विकास आवश्यकताका लागि देखिएको लगानी अभावको पूर्ति गर्न निजी क्षेत्र परिचालन गर्नुपर्ने अध्ययनको सुझाव छ । ‘नेपाल पूर्वाधार क्षेत्र मूल्यांकन’ नाम दिइएको प्रतिवेदनमा ऊर्जा, यातायात, सहरी पूर्वाधारजस्ता क्षेत्रलाई समेटिएको छ । ऊर्जाको अनुमानित माग पूरा गर्न यो क्षेत्रमा चार गुणाले लगानी बढाउनुपर्ने प्रतिवेदनमा जनाइएको छ । यस्तै यातायात पूर्वाधारमा वृद्धिको लागि सार्वजनिक र निजी स्रोत साधनहरू प्रमुख हुने अध्ययनले देखाएको छ ।


पूर्वाधार सम्मेलनको दोस्रो दिन विभिन्न वक्ताहरूले नेपालमा पूर्वाधारमा आवश्यक लगानी क्षेत्र र आवश्यकताबारे बोलेका थिए । सम्मेलनमा बोल्दै ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनले सार्वजनिक निजी साझेदारी मोडल तीव्र आर्थिक विकास प्राप्त गर्ने प्रभावकारी उपकरण भएको बताए ।


समृद्धिका लागि सार्वजनिक निजी साझेदार विषयक सत्रमा उनले ऊर्जा पूर्वाधारका लागि पीपीपी मोडल उपयुक्त हुने धारणा राखे ।

उनले देशको अर्थतन्त्र ३४ खर्ब पुगेको र आन्तरिक पुँजी ८ खर्बभन्दा बढी पुगेको भन्दै आगामी ३ वर्षमा अर्थतन्त्र ५३ खर्ब पुग्ने दाबी गरे । सम्मेलनमा बोल्दै लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत महाप्रसाद अधिकारीले पीपीपी पूर्वाधार निर्माणका लागि उपयुक्त मोडल रहेको बताए ।

प्रकाशित : भाद्र २७, २०७६ ०८:०८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?