तिलोत्तमामा रेल सञ्चालन योजना

सन्जु पौडेल

रूपन्देही — तिलोत्तमा नगरपालिकामा सामुदायिक लगानीमा रेल सञ्चालनको तयारी भइरहेको छ । नगरपालिकासँग सहकार्य गरी स्थानीयले रेल सञ्चालनको योजना बनाएका हुन् । पर्यटन र कृषि क्षेत्र विकासका लागि सस्तो भाडादरमा सार्वजनिक यातायातको सुविधा दिने उद्देश्यले रेल सञ्चालन प्रक्रिया अघि बढाइएको छ ।

रेल सञ्चालन योजनाका परिकल्पनाकार बाबुराम अर्यालले तिलोत्तमा पब्लिक रेल लिमिटेडले यसका लागि काम गर्ने बताए । ‘समुदायको लगानी रहने यो सेवा नेपालकै पहिलो हुनेछ,’ उनले भने ।


रेल सञ्चालनका लागि नेपाल रेलवे कम्पनी जनकपुरका पूर्वमहाप्रबन्धक भोला शर्मालाई प्रबन्ध सञ्चालकको जिम्मेवारी दिइएको छ । यसै महिनाभित्र कम्पनी दर्ता गरेर असोजमा हुने तिलोत्तमा नगरपालिकाको लगानी सम्मेलनमा परियोजनाको समझदारीपत्रमा हस्ताक्षर गर्ने तयारी भइरहेको प्रबन्ध सञ्चालक शर्माले जानकारी दिए ।


परियोजनाको ५० करोड रुपैयाँ अधिकृत पुँजी र १० करोड चुक्ता पुँजी पुर्‍याएर डेढ वर्षभित्र ५० किलोमिटर दूरीमा रेल गुडाउने शर्माले बताए । ‘यसबाट १५० जनाले रोजगारी पाउनेछन्,’ उनले भने, ‘एक किलोमिटर ट्र्याक निर्माणमा एक करोड रुपैयाँ खर्च हुने भएकाले हालको ६ किलोमिटरका लागि ६ करोड र १५ डब्बाका लागि २० करोडसम्म लगानी लाग्नेछ ।’


एक सयजना संस्थापक बनाएर प्रत्येकले एक लाख रुपैयाँका दरले रकम संकलन गरी कम्पनी दर्ता गर्ने र सेयर सदस्य थप्दै जाने योजना रहेको उनले बताए । कम्पनीमा सर्वसाधारण, विभिन्न संघसंस्था, स्थानीय सरकार, प्रदेश सरकार, संघीय सरकारले समेत सेयर लिन सक्ने जानकारी शर्माले दिए ।


योगीकुटीदेखि सुरु हुने चक्रपथ र सोही स्थानबाटै सुरु हुने रेलमार्ग वनवाटिका हुँदै प्रदीपनगर मावि हुँदै फर्किनेछ । उक्त रेलमा तीन बग्गी (कोच) रहने र ४० यात्रु सवार हुन सक्नेछन् । उक्त सेवा अन्तर्राष्ट्रिय मापदण्ड र वातानुकूलित हुने शर्माले बताए । रेल सञ्चालनका लागि नगरपालिकाको सहकार्य रहने र प्रस्तावित ५० किलोमिटर रिङरोडको साइडबाट नै रेलमार्ग विस्तार हुने नगरपालिकाका प्रवक्ता सुरेन्द्र श्रीले बताए ।


हाललाई ६ किलोमिटरमा रेल सञ्चालन गर्ने प्रस्तावित योजना अघि सारेको उनको भनाइ छ । तिलोत्तमाको ५० किलोमिटर चक्रपथ निर्माण सकिएपछि बुद्धजन्मस्थल लुम्बिनी, भैरहवामा समेत जोड्न सकिनेछ । रेल सेवा नागरिकको यात्राका साथै ढुवानीका लागि समेत प्रयोग गर्न सकिने प्रवक्ता श्रीले बताए ।


कम्पनीले रेल सञ्चालनपश्चात् रेलवे सर्भे कन्सल्टेन्सी, ट्वाय ट्रेन (खेलौना), मिनी ट्रेन, किसानको उत्पादन भण्डारण गर्ने शीत भण्डार, फनपार्क र पर्यटकीय अन्य गन्तव्यको निर्माणसमेत गर्ने गरी अघि बढ्ने कम्पनीका संस्थापक खिमलाल पाण्डेले बताए ।


‘स्थानीयको लगानीमा सञ्चालन हुने रेलवे सेवा नगर मात्रको नभएर देशकै कोसेढुंगा साबित हुनेछ,’ उनले भने, ‘यसरी समुदायबाट सुरु हुने विकासको योजनामा सरकारी पक्षले चासो दिई सहयोग गर्नु जरुरी छ ।

प्रकाशित : भाद्र २७, २०७६ ०८:०७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?