कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ४२०

पूर्वाधार सम्मेलन सुरु : प्राथमिकता 'कनेक्टिभिटी’

काठमाडौँ — राजधानीमा सुरु भएको दुईदिने पूर्वाधार सम्मेलनको पहिलो दिनमा वक्ताहरूले नेपालजस्तो भूपरिवेष्ठित राष्ट्रले सडक र बाह्य देशसँगको अन्तर आबद्धतामा लगानी बढाउनुपर्ने बताएका छन् । 

पूर्वाधार सम्मेलन सुरु : प्राथमिकता 'कनेक्टिभिटी’

कार्यक्रममा प्रमुख वक्ताका रूपमा उपस्थित दक्षिण कोरियाका पूर्वप्रधानमन्त्री हाङ सुन सुले नेपालले बलियो सडक पूर्वाधारमा लगानी गर्नुपर्नेमा जोड दिए । उनले नेपालमा हवाई र सडक सञ्जालको मात्रै विकल्प भए पनि ९० प्रतिशत बढीले सडक सञ्जालबाटै लाभ लिएका भन्दै छिमेकी मुलुकसहित दक्षिण एसियाभर सडक सञ्जाल बढाउनुपर्ने धारणा व्यक्त गरे ।


‘व्यापार, पर्यटन, आर्थिक र सामाजिक विकासका लागि कनेक्टिभिटी बढाउनुपर्छ,’ उनले भने, ‘दक्षिण एसियाली उपक्षेत्रीय राजमार्गमा भएको लगानी यसैको उदाहरण हो ।’ बाह्य देशसँग मात्रै नभई देशभित्र दुर्गम र सहरबीचको सडक सञ्जालमा पनि जोड दिनुपर्ने उनको भनाइ थियो । नेपालमा सहरी जनसंख्या वृद्धिदर तीव्र रूपमा भइरहेको भन्दै यसले सहरी पूर्वाधारमा चाप बढेको बताए ।


‘नेपालको राष्ट्रिय जनसंख्या वृद्धिदर १.४ प्रतिशत भए पनि सहरी जनसंख्याको वृद्धि बर्सेनि ६ प्रतिशतले बढेको छ,’ उनले भने, ‘खानेपानी, सरसफाईजस्तार सहरी पूर्वाधारमा पनि लगानी बढाउन आवश्यक छ ।’ उनले पछिल्ला वर्षमा नेपालको पुँजीगत खर्च वृद्धि हुनु सकारात्मक रहेको भन्दै दिगो विकास लक्ष्य हासिलका लागि वार्षिक कुल अर्थतन्त्रको करिब ८–१० प्रतिशत रकम पूर्वाधारमा लगानी गर्नु आवश्यक भएको बताए ।


नेपाल उद्योग परिसंघ (सीएनआई) को आयोजनामा भएको सम्मेलनको पहिलो दिन ७ सय बढीको सहभागिता रहेको उपाध्यक्ष कृष्णप्रसाद अधिकारीले जानकारी दिए । उनका अनुसार सम्मेलनमा हरेक प्रदेशमा निर्माण गर्न सकिने सम्भावित परियोजनालाई ‘सो–केस’ मा राखिएको छ । सम्मेलनमा स्वदेशी र विदेशी लगानीकर्ता, विकास साझेदार निकायका प्रतिनिधि, सरकारी प्रतिनिध सहभागी भएको उनले बताए ।


सम्मेलनको पहिलो दिन आयोजित एक सत्रमा बोल्दै पर्यटनमन्त्री योगेश भट्टराईले उत्तर–दक्षिण दुवै छिमेकीसँग विभिन्न नाकाको स्तरोन्नति गर्ने र नयाँ नाका खोल्ने र पूर्वपश्चिम जोड्ने चारवटा राजमार्गको निर्माण अघि बढेकाले यातायात क्षेत्रमा ठूलो सुधार हुने बताए ।


उनले आगामी ५ वर्षभित्र कुनै पनि हालतमा निजगढ अन्तर्राष्ट्रिय विमानस्थल तयार हुने भन्दै नेपालको हवाई कनेक्टिभिटी बढ्ने बताए ।


उक्त सत्रमा बोल्ने अन्य वक्ताहरूले पनि नेपालको दक्षिण एसियाली मुलुकसँगको आबद्धतामा जोड दिए । राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष स्वर्णिम वाग्लेले नेपालजस्तो भूपरिवेष्ठित मुलुकले भौतिक पूर्वाधार, कनेक्टिभिटी, सूचना प्रविधिजस्ता विषयमा लगानी बढाउनुपर्ने बताए ।


एसियाली विकास बैंकका पूर्वमहाप्रबन्धक नोरितादा मोरिताले पनि एसियाको अहिलेको आवश्यकता नै कनेक्टिभिटी भएको बताए । ‘केही अघिसम्म यहाँको आवश्यकता शान्ति स्थापना थियो । अब भने यहाँको आवश्यकता भौतिक पूर्वाधार निर्माण हो,’ उनले भने ।


परराष्ट्र मन्त्रालयका सचिव शंकरदास बैरागीले छिमेकी मुलुकसँग व्यापारिक सम्बन्ध बढाएको बताए । उनले क्षेत्रीय र उपक्षेत्रीय मञ्चमा ऊर्जा विद्युत् प्रसारण लाइन, दूरसञ्चार, रेल, पानीजहाज, हवाईजस्ता कनेक्टिभिटी विकास गर्ने गरी योजना अघि बढेको बताए ।


सम्मेलनको अर्को एक सत्रमा बोल्दै अर्थमन्त्री युवराज खतिवडाले लगानी प्रतिफलका हिसाबले नेपाल उपयुक्त गन्तव्य रहेको दाबी गरे । उनले अन्यत्र विदेशी लगानीकर्ताले औसत १० प्रतिशतको हाराहारीमा मात्रै प्रतिफल पाइरहेको भए पनि नेपालमा भने विदेशी लगानीकर्ताले कम्तीमा पनि २५ प्रतिशत प्रतिफल पाइरहेको उदाहरण प्रस्तुत गरे ।


उनले सरकारले क्षेत्रीय सडक सञ्जाल, रेलमार्ग, विमानस्थल र पर्यटन पूर्वाधारमा आवश्यक लगानी गरेपछि निजी क्षेत्रका प्रवेश सहज हुने बताए ।


विश्व बैंकका उपाध्यक्ष चिङतोङ हुवाले नेपालमा निजी क्षेत्र उन्मुख आर्थिक वृद्धिको लागि बैंकले योगदान गरेको बताए । उनले विश्व बैंकको सहयोगमा २५ भन्दा बढी परियोजना सञ्चालनमा रहेको बताए ।


मुख्यमन्त्रीहरू भन्छन्– हाम्रामा आउनुस्

सम्मेलनको पहिलो दिन मुख्यमन्त्रीहरूसँग आयोजना गरिएको छलफल कार्यक्रममा ६ वटा प्रदेशका मुख्यमन्त्रीहरूले आफ्नो प्रदेशमा पूर्वाधारमा लगानी गर्न आग्रह गरेका छन् । मुख्यमन्त्रीहरूले प्रदेशस्तरमा पूर्वाधारमा लगानी गर्न सहज हुने कानुनी व्यवस्था गर्ने पनि प्रतिबद्धता जनाए ।


प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले आफ्नो प्रदेशमा कृषि, पूर्वाधार, ऊर्जा, औद्योगिक क्षेत्र, स्मार्ट सिटी, अन्तर्राष्ट्रिय सभाहल, पदमार्ग, केबलकारलगायत पूर्वाधार निर्माणमा लगानी आवश्यक रहेको जानकारी दिए । उनले प्रदेशले ठूला आयोजनाका लागि पहिचान गरेकाले लगानी गर्न आउन आग्रह गरे ।


प्रदेश २ का मुख्यमन्त्री लालबहादुर राउतले उद्योग, पर्यटन, कृषि क्षेत्रका पूर्वाधारलाई प्रदेश सरकारले प्राथमिकता दिएको बताए । उनले आफ्नो प्रदेशमा स्थापना हुन चाहने उद्योगको दर्ता ३ घण्टाभित्र हुने गरी कानुन ल्याउन लागेको जानकारी दिए । उनले औद्योगिक प्रतिष्ठानलाई २० वर्षसम्म कर छुन दिने योजना रहेको बताए ।


प्रदेश ३ का मुख्यमन्त्री डोरमणि पौडेलले उद्योग, कृषि, विद्युत्लगायत पूर्वाधारमा प्रदेश सरकारले जोड दिएको बताए । उनले पूर्वाधारमा लगानी भित्र्याउन सहज कानुन निर्माणका लागि तयार रहेको बताए ।


प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेलले निजी क्षेत्रलाई आकर्षित गर्न प्रदेश सरकारले कानुनी सुधारको प्रक्रिया अघि बढाएको बताए । उनले प्रदेश स्तरमा लगानी सम्मेलनको आयोजना गर्न लागेको जानकारी दिए । उनले आफ्नो प्रदेशमा औद्योगिक पार्क निर्माणका लागि कम्तीमा पनि १५ सय बिघा जमिन तयारी अवस्थामा रहेको बताए ।


कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले प्रदेशलाई अर्गानिक प्रदेश घोषणा गर्ने तयारी रहेको बताए । उनले सुर्खेतमा अन्तर्राष्ट्रियस्तरको विमानस्थल बनाउन गुरुयोजना बनाउने तयारी भएको जानकारी दिए ।


सुदुरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले आफ्नो प्रदेशमा कृषि र निर्यातजन्य उद्योगमा लगानी गर्न आग्रह गरे । आफ्नो प्रदेशमा औषधि उत्पादन कम्पनी खोल्न पनि उनको आग्रह थियो । उद्योग खोल्नेलाई प्रदेश सरकारले जग्गा उपलब्ध गराउनुका साथै सुरक्षाको प्रत्याभूति गर्ने उनले बताए ।


कार्यक्रमको उद्घाटन सत्रमा बोल्दै सीएनआई अध्यक्ष सतीशकुमार मोर, पूर्वअध्यक्ष हरिभक्त शर्मा, विनोद चौधरी, प्रधानमन्त्रीका प्रेस सल्लाहकार कुन्दन अर्याललगायतले नेपालमा ठूला लगानीको आवश्यकता र कानुनी सुधारका विषयमा बोलेका थिए ।

प्रकाशित : भाद्र २६, २०७६ ०९:२३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

पूर्वउपराष्ट्रपतिका छोरा तथा अखिल क्रान्तिकारीका महासचिव दिपेश पुनपछि सत्तारूढ माओवादीका उपाध्यक्ष तथा पूर्वसभामुख कृष्णबहादुर महरा सुन तस्करी अनुसन्धानमा पक्राउ परेका छन् । के सरकारले भ्रष्टाचारविरुद्ध शून्य सहनशीलता अपनाएकै हो त ?