जुम्लाको स्याउ खोसाखोस

मधु शाही

बाँके — एउटै ठेलामा एकातिर भारतीय स्याउ र अर्कातिर जुम्ली स्याउ राखिएको छ । भारतीय स्याउ चिटिक्क, चिल्ला र सफा छन् । जुम्लाका स्याउ हल्का चोट लागेका, एकैनासका दाना नभएका, हल्का ध्वाँसिएका छन् । ग्राहकले भारतीय स्याउमा आँखा नलगाई जुम्लाकै स्याउ रोज्न थालेका छन् । 

नेपालगन्ज बजार अहिले जुम्ली स्याउमय बनेको छ । चार महिनादेखि यहाँ जुम्लाकै स्याउ खोसाखोस छ । भारतीय स्याउ अहिले यहाँ बिक्री हुनै छाडेको व्यापारीहरूले बताए ।

खजुरा गाउँपालिका–३ मनकामना गाउँकी ३२ वर्षीया संगीता चौधरी जुम्ली स्याउ ल्याउनै बुधबार नेपालगन्ज आएकी थिइन् । रानीतलाउस्थित सब्जी मण्डीमा थोक व्यापारी मेराज राईसँग उनले प्रतिकेजी ९० रुपैयाँका दरले एक कार्टुन स्याउ खरिद गरिन् । जसमा २२ केजी स्याउ थियो । संगीताले यही स्याउ गाउँमा लगेर १ सय ४० रुपैयाँ प्रतिकेजीसम्म बेच्ने गरेको बताइन् । ‘जुम्ली स्याउ भनेपछि पैसाको मुख हेर्दैनन्,’ उनले भनिन् ।

जुम्लाबाट दुई दिनमै नेपालगन्जसम्म ल्याइने हुँदा स्याउ बेच्न सजिलो भएको छ । पछिल्लो समय नेपालगन्ज, कोहलपुर, बर्दिया, दाङलगायत क्षेत्रमा भारतीय स्याउको तुलनामा जुम्ली स्याउ बढी रुचाइन थालेको जुम्ला तातोपानी चारागु–४ का जागेश्वर गिरीले बताए । आफ्नै बारीका स्याउ टिपेर ट्रकमार्फत नेपालगन्जसम्म ढुवानी गर्छन् ।

यहीँ बसेर बेच्न थाल्छन् । हरेक साता स्याउ लिएर नेपालगन्ज झर्ने उनले बुधबार मात्रै ७० क्विन्टल स्याउ ल्याएको बताए । ‘सहर ल्याउन मात्रै पर्छ, खोसाखोस छ,’ उनले भने, ‘तर, दुःखअनुसार स्याउको मूल्य भने पाएका छैनौं ।’ नेपालगञ्जको एयरपोर्ट साइड राँझामा बस्ने कर्ण वीसीले यो चार महिना जुम्लाकै स्याउ बेच्ने गरेको बताए ।

सीमित समयका लागि पाइने हुँदा स्वदेशी स्याउको माग बढेको उनले सुनाए । पछिल्लो समय भारतीय स्याउमा विषादीको हल्ला सुनेर पनि मान्छेहरू जुम्ली स्याउप्रति आकर्षित भएको उनले बताए । हल्का किरा लागेको भए पनि अर्गानिक मानेर जुम्ली स्याउ किन्ने गरेको उनले सुनाए । दैनिक ५० देखि ६० केजी स्याउ आफूले बेच्ने गरेको उनको अनुभव छ ।
ग्रेडिङ नहुँदा स्याउले मूल्य पाएन
नेपालगन्जका फलफूल मन्डी व्यापारी समिर राईले दैनिक दुईदेखि तीन ट्रक स्याउ जुम्लाबाट आउने गरेको बताए । एउटा ट्रकमा ५ सयदेखि ६ सय पेटीसम्म हुन्छ । सडकमा खाल्डाखुल्डी हुँदा झ्याँकिएर, ठोक्किएर, थिचिएर लगभग ८० पेटी स्याउ खेर जाने उनले सुनाए । ‘यसले किसान बढी मर्कामा परेका छन्,’ उनले भने, ‘हामी व्यापारीले त छानेरै किन्छौं । होइन भने बार्गेनिङ गर्छौं ।’

उनका अनुसार स्याउमा ग्रेडिङ सिस्टम र सुरक्षित बनाउने फर्म नहुँदा धेरै स्याउ थिचिएर खेर जाने गरेको छ । चाइनिज र भारतीय स्याउमा बाहिरको पेटी बलियो हुन्छ । फर्मले वरिपरि स्याउ बेरिएको हुन्छ । त्यसले ढुवानी गर्दा एकआपसमा ठोक्किएर पनि चोट लाग्दैन ।

तर, जुम्लाको स्याउ रुखमा किसानले टिपेको हेर्दा जति रसलाग्दो देखिन्छ, त्यति बजारसम्म आउँदा थिचिएर बेच्नलायक नहुने उनले बताए । त्यस्तै, एकनासको साइज नहुँदा बेच्दा किसानलाई घाटा लागेको उनले बताए । व्यापारीले एकमुष्ट किने पनि बेच्ने बेला ठूलासाना छुट्याएर फरक भाउमा बेच्ने गरेको सुनाए । ‘किसानसँग एकमुष्ट ल्याउँछन्,’ उनले भने, ‘तर, बजारमा साइजअनुसार फरक मूल्यमा बेच्ने गर्छन् ।’

नेपालगन्जस्थित धम्बोजी चोकका इसान यादवले जुम्ली स्याउ दुईथरी मूल्यमा बेच्ने गरेको बताए ।

प्रकाशित : भाद्र २६, २०७६ ०९:१७
ADVERTISEMENT
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT

पर्यटन बोर्डको बजेट १ अर्ब ३६ करोड

कान्तिपुर संवाददाता

काठमाडौँ — पर्यटन बोर्ड (एनटीबी) ले आर्थिक वर्ष ०७६/७७ का लागि १ अर्ब ३६ करोडको बजेट ल्याएको छ । बजेटअनुसार चालु आर्थिक वर्षमा बोर्डको आय १ अर्ब ३६ करोड ९० लाख हुनेछ ।

बुधबार सार्वजनिक गरिएको बजेटले नेपाल घुम्न आउने विदेशी पर्यटकबाट संकलन गरिने पर्यटन सेवा शुल्कबाट १ अर्ब ३० करोड हुने प्रक्षेपण गरिएको छ । त्यसैगरी बोर्डको दोस्रो ठूलो आयस्रोत मानिने पदयात्री पर्यटक सूचना व्यवस्थापन शुल्क (टिम्स) बाट २० करोड आम्दानी हुनेछ ।

बोर्डले चालु वर्ष २६ प्रतिशतले पर्यटक आगमन वृद्धि हुने भनेको छ । यो अनुमानअनुसार नेपाल घुम्न १६ लाख पर्यटक आउनेछन् । जसमध्ये १३ लाख पर्यटक हवाई मार्ग प्रयोग गर्ने छन् । हवाई मार्गबाट बाहिर प्रस्थान गर्ने १३ लाख पर्यटकबाट संकलन हुने रकम नै पर्यटन सेवा शुल्क हो । यो रकम विदेशी एयरलाइन्सले यात्रुबाट संकलन गरेर बोर्डलाई बुझाउनुपर्छ ।

बोर्डले यस वर्षका कार्यक्रमको मुख्य लक्ष्य सरकारले घोषणा गरेको नेपाल भ्रमण वर्ष २०२० अभियानलाई सघाउने जनाएको छ । भ्रमण वर्ष सचिवालयलाई बोर्डले १० करोड एकमुष्ठ छुट्याएको छ । भ्रमण वर्ष सचिवालयलाई सरकारले छुट्टै ६१ करोड ७४ लाख बजेट खर्च गर्ने सैद्धान्तिक सहमति दिइसकेको छ । भ्रमण वर्षलाई प्रवर्द्धन गर्न बोर्डले २५ करोड विनियोजन गरेको छ ।
प्रत्यक्ष रूपमा बोर्डले ३५ करोड भ्रमण वर्ष २०२० का लागि खर्च गर्नेछ । नेपाल सरकारले घोषणा गरेका सयवटा गन्तव्यको प्रोफाइल तयार गरिनेछ ।

फागुनमा बोर्डले पाटा नोपाल च्याप्टरसँगको सहकार्यमा नेपालमा चीन, भारत र नेपालका पर्यटन व्यवयासीहरूको सहकार्यमा नेपाल–इन्डिया–चाइना एक्स्पो (नाइस) आयोजना गर्ने भएको छ । नेपालमा तीन वटा मुलुकहरूको मात्रै सहकार्यमा हुने एक्स्पोलाई पहिलोपटक हुन लागिएको भनिएको छ ।

प्रकाशित : भाद्र २६, २०७६ ०९:१४
पूरा पढ्नुहोस्
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT