१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६८

हुलाकी राजमार्ग : ११ वर्षमा ४४ प्रतिशत

२७ अर्ब ५३ करोड ९४ हजार खर्च 
विमल खतिवडा

काठमाडौँ — हुलाकी राजमार्ग निर्माण सुरु भएको ११ वर्ष पुग्यो । भौतिक प्रगति भने ४४ प्रतिशत मात्र छ । पूर्वको मेची पुलबाट सुरु राजमार्गले महाकालीको महेन्द्रनगरसम्मलाई जोड्नेछ । सुरु भएको लामो समय भए पनि दुई वर्षयता मात्र निर्माणले गति लिन थालेको हुलाकी राजमार्ग निर्देशनालयले जनाएको छ ।

हुलाकी राजमार्ग : ११ वर्षमा ४४ प्रतिशत

निर्देशनालयका अनुसार पूर्व–पश्चिम हुलाकी राजमार्गको लम्बाइ ९ सय ७५ किलोमिटर र सहायक मार्गको ८ सय १७.४२ किमि रहेको छ ।

सबै गरेर हुलाकी राजामार्गको कुल लम्बाइ १ हजार ७ सय ९२.४२ किमि हो । सरकारले हुलाकी राजमार्गलाई विकास गर्ने गरी ०६५/०६६ सालमा छुट्टै आयोजना खडा गरेर अध्ययन, डिजाइन र निर्माणको काम थालेको थियो । ‘भारत सरकारको लगानीमा काम सुरु गर्न खोजिएको थियो,’ हुलाकी राजमार्ग निर्देशनालयका निर्देशक अशोक तिवारीले भने, ‘पछि कन्सल्टेन्ट र कन्ट्र्याक्टरले छाडेर गए, त्यसपछि ठेक्का तोडेर फेरि काम सुरु गरिएको हो ।’

उनका अनुसार भारत सरकारको लगानीमा थोरै मात्र काम भयो । पछि नेपाल सरकार आफैंले ०६६/६७ बाट निर्माणको काम सुरु गरेको हो । ‘पहिला निर्माणमा केही ढिलाइ भएको हो,’ निर्देशक तिवारीले भने, ‘दुई वर्षयता तीव्र गतिमा निर्माणको काम भइरहेको छ ।’ उनका अनुसार निर्माण सम्पन्न गर्ने समय अवधि ०७९/८० रहेको छ । तराई मधेसका २० जिल्ला भएर बन्ने सडकबाट ८० लाख जनसंख्या प्रत्यक्ष लाभान्वित हुनेछ ।

‘वर्षातको बेला काम कम हुन्छ,’ हुलाकी राजमार्ग योजना कार्यालय जनकपुरका प्रमुख राजेन्द्रप्रसाद दासले भने, ‘धेरै पानी साउन र भदौमा पर्ने हुन्छ, ‘अहिले भदौमा पानी कम परेकाले काम भइरहेको छ ।’ उनले कामको गति बढेको दाबी गरे । यो योजनाले तराईका चार जिल्ला सिरहा, धनुषा, महोत्तरी र सर्लाही जिल्ला हेर्छ ।

‘यसमा सहायक मार्गहरू पनि पर्छन्,’ उनले भने, ‘त्यही भएर पूर्व–पश्चिमबाट हुलाकी सडकमा जोडिनेछ ।’ उनले काम सन्तोषजनक रहेको समेत दाबी गरे । हुलाकी राजमार्ग निर्देशनालयअन्तर्गत ६ वटा योजना कार्यालयहरू छन् । निर्देशक तिवारीका अनुसार इटहरी, जनकपुर, वीरगन्ज, नेपालगन्ज, धनगढी र कपिलवस्तुमा योजना कार्यालय राखेर कामलाई अघि बढाइएको छ ।

योजना कार्यालय नभएको भरतपुर सडक डिभिजन कार्यालयबाट निर्माणको काम सञ्चालन हुँदै आएको तिवारीले बताए । यो आयोजनाको प्रारम्भिक लागत अनुमान ४७ अर्ब २४ करोड रुपैयाँ थियो । संशोधित लागत ६५ अर्ब २० करोड रहेको छ । जसमा भारत सरकारको पनि अनुदान सहयोग जोडिएको छ ।

भारत सरकारले ८ अर्ब रुपैयाँ अनुदान सहयोग गरेको छ । निर्देशनालयका अनुसार आयोजना सुरु भएयता भारतीय अनुदानतर्फ ४ अर्ब ३५ करोड ३० लाख रुपैयाँ खर्च भइसकेको छ । समग्रमा २७ अर्ब ५३ करोड ५७ लाख ९४ हजार खर्च भएको आयोजनाले जनाएको छ । हुलाकी सडकमा २ सय १९ वटा पुल बन्नेछन् । जसमध्ये ८५ वटा पुलको निर्माण सम्पन्न भइसकेको छ । ८० वटा निर्माणको क्रममा छन् । ५४ वटा पुलको डिजाइन तयार भइरहेको निर्देशक तिवारीले बताए ।

निर्देशनालयले उपलब्ध गराएको तथ्यांकअनुसार ०७५/०७६ मा ३२५ किमि सडक ग्राभेल भएको छ भने १७० किमि सडक कालोपत्रे गरिएको छ । ०७६/०७७ मा १२५ किमि सडक ग्राभेल गर्ने र ३५० किमि सडक कालोपत्रे र १९ वटा पुल बनाउने लक्ष्य निर्देशनालयले लिएको छ ।

‘भारतले उत्तर–दक्षिण राजमार्ग बनाउने हो,’ उनले भने, ‘जसका लागि भारतले शोधभर्ना दिँदै आएकाले पैसा आइरहेको छ ।’ उनका अनुसार कुल सडकमध्ये ३ सय १७ किमि सडकको निर्माण पूरा गर्नेछ । जसमा १० वटा बाटोको १४ वटा ठेक्का भएको छ । ‘तराईमा पनि तीव्र गतिमा काम भइरहेको छ, अहिले काम सन्तोषजनक छ,’ उनले भने, ‘चालु वर्षभित्र प्रगति राम्रो देखिनेछ ।’ उनले निर्माणको क्रममा रहेको सडकमा केही ठाउँमा अवरुद्ध भएकाले पनि ढिलाइ भएको दाबी गरे ।

‘हुलाकी सडक पूरा भएपछि फाइदैफाइदा छ,’ उनले भने, ‘सडक बनेपछि दूरी छोटिनेछ, सडक दुई लेनको बन्नेछ । यो बन्नासाथ आवतजावतमा सजिलो हुन्छ, यात्रामा छिटो हुनेछ ।’ तराईमा विकल्पका रूपमा यो सडक रहनेछ । ‘मेची पुलबाट महाकालीको महेन्द्रनगरसम्म जोडिनेछ,’ उनले भने । सुरुसुरुमा बजेटले समस्या गर्दा पनि ढिलाइ भएको उनले सुनाए ।

प्रकाशित : भाद्र २६, २०७६ ११:४४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?