फर्निचर एक्स्पो सुरु 

कान्तिपुर संवाददाता

काठमाडौँ — फर्निचर तथा फर्निसिङ एक्स्पो–२०१९ सुरु भएको छ । उपराष्ट्रपति नन्दकिशोर पुनले बुधबार एक्स्पोको उद्‌घाटन गरे । नेपाल फर्निचर तथा फर्निसिङ संघको आयोजनामा भृकुटी मण्डपमा सुरु भएको एक्स्पो आइतबारसम्म चल्नेछ । 

मेलामा स्वदेशी तथा विदेशी गरी १ सय २० भन्दा बढी प्रदर्शकहरूको सहभागिता रहको छ । किचन, बेडरुमका साथै आउटडोर फर्निचर, इन्टेरियर डिजाइनर, कार्पेट, मार्बल लगायत सामग्री, होम तथा अफिस डेकोरसनका फर्निचर मेसिनरी औजारका साथै वास्तुसँग सम्बन्धित उत्पादन एक्स्पोको मुख्य आकर्षण रहेको छ।

स्वदेशी तथा विदेशी फर्निचर क्षेत्रको बजारको स्थिति बुझ्न सर्वसाधरणलाई एकै स्थानमा सबै सेवाको जानकारी मेलामा उपलब्ध हुने नेपाल फर्निचर तथा फर्निसिङ संघका अध्यक्ष रूपेश श्रेष्ठले बताए।

मुलुकमा वार्षिक १८ अर्बदेखि २० अर्ब रूपैयाँको काठ आयात हुने गरेपनि नेपाली काठको हस्तकलाको सामग्री बाहेक अन्य निर्यात न्यून रहेको बताउँदै अध्यक्ष श्रेष्ठले यस विषयमा सरकारले विचार गर्नुपर्ने बताए।

प्रकाशित : भाद्र २५, २०७६ १८:५७
प्रतिक्रिया
पठाउनुहोस्

एनआरएनए केन्यामा डुम्रे

कान्तिपुर संवाददाता

काठमाडौँ — गैरआवसीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद्‌, केन्याको चौथो राष्ट्रिय महाधिवेशनले सुरज डुम्रेको नेतृत्वमा १५ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ ।

उपाध्यक्ष शिव लाल, महासचिव टीका धिताल, सचिव लक्ष्मी ब्लोन, कोषाध्यक्ष यज्ञमणि (भरत) रेग्मी, महिला संयोजक कुमारी जिसी, युवा संयोजक कमलराज अधिकारी चयन भएका छन् ।

सदस्यहरु डा. सीताराम घिमिरे, इन्जिनियर बरुण शुवाल, मनोज बस्नेत, रवी जैन, भगवती तामाङ, प्रभाकर भण्डारी, गणेश कामी र लक्ष्मण गैरे रहेका मुख्य निर्वाचन अधिकृत नारायण भट्टाराईले बताए । संरक्षक ईन्जिनियर कुलबहादुर कार्की, नारायण भट्टराई र उदय हाडा छन् ।

सल्लाहकार समितिमा कृष्णदत्त भट्ट, खेम पौडेल, धनेद्र बस्नेत र कृष्ण गैरे चयन भएका छन् । केन्यामा झन्डै ५ सय नेपाली कार्यरत छन् ।

प्रकाशित : भाद्र २५, २०७६ १८:३२
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्