कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९९

सरकारी घिउ महँगो, चिनी सस्तो

राजु चौधरी

काठमाडौँ — सरकारले चाडवाडलाई लक्ष्य गरी सञ्चालनमा ल्याएको सहुलियत पसलमै केही खाद्य वस्तु महँगोमा बिक्री भइरहेको छ । बजार भाउभन्दा सस्तोमा बिक्री गर्ने दाबी गरे पनि घिउ, सानो केराउ, मुग छाँटा, दाल, बेसारलगायतका वस्तु बजारभाउभन्दा महँगोमा बिक्री गरेको पाइएको हो ।

सरकारी घिउ महँगो, चिनी सस्तो

उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले सोमबारदेखि ७३ स्थानमा सहुलियत पसल सञ्चालन गरेको छ । उक्त पसलमा डीडीसीले घिउमा प्रतिलिटर ५० रुपैयाँ छुट दिएर ८५० रुपैयाँ तोकिएको छ ।


आधा लिटरको प्याकेटलाई ४२५ रुपैयाँ तोकिएको छ । उक्त मूल्य बजार भाउसरह नै रहेको जानकारहरू बताउँछन् । बिगमार्टले झन डीडीसीकै घिउ आधा लिटरमा १७ रुपैयाँ सस्तोमा बिक्री गर्दै आएको छ । बिगमार्टले ग्राहक लोभ्याउन अफर राखेर डीडीसीबाटै खरिद गरेर सस्तो मूल्यमा बिक्री गरेको हो । ‘मार्केटिङ बजेटबाट खर्च गर्ने गरी सस्तोमा बिक्री गरेका छौं,’ बिगमार्टका फाइनान्स प्रमुख विवेक देवले भने, ‘अन्य वस्तुको हकमा पनि वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागसँग छलफल गरेर अगाडि बढ्छौं ।’


बिगमार्टबाहेक सहुलियत पसल र खुद्रा बजारमा पाइने घिउको मूल्यमा कुनै अन्तर छैन । डीडीसीले सहुलियत पसलमा ५० रुपैयाँ छुट दिएको दाबी गरे पनि बजारमा आधा लिटरको डीडीसी घिउ ४२५ रुपैयाँमै किन्न पाइन्छ । ‘आधा लिटरलाई ४२५ रुपैयाँमा बिक्री गर्दा पनि मुनाफा राम्रै हुन्छ । बजारमा आधा लिटरको ४२५ रुपैयाँमै बिक्री भएको छ,’ एक खुद्रा व्यवसायीले भने । भाटभटेनी सुपर मार्केटले पनि उक्त घिउ आधा लिटरलाई ४२५ रुपैयाँमा बिक्री गर्दै आएको छ ।


भाटभटेनीका कार्यकारी अधिकृत पानु पौडेलका अनुसार बल्कमा खरिद गर्दा डीडीसीले एमआरपी मूल्यमै ७/८ प्रतिशत छुट दिन्छ । जसले गर्दा केही सस्तो परेको उनले बताए । यता डीडीसीले भने दूधको मूल्य बढे पनि उपभोक्तलाई मार नपार्न मूल्य नबढाएको दाबी गर्छन् । कार्ययोजना तथा बजार व्यवस्थापन विभाग प्रमुख सञ्जीव झाका अनुसार स्टक क्लियरेन्सको अवस्थामा भाटभटेनी, बिगमार्ट, सेलवयजलगायत डिलरले धेरै खरिद गर्दा अहिले सस्तोमा बिक्री गरेको बताए ।


‘गत वर्ष अत्यधिक दूध र घिउ मौज्दात हुँदा स्टक क्लियर गर्नुपर्ने बाध्यता थियो । स्टक बिक्री नहुँदा किसानलाई पैसा दिन समस्या थियो । ठूला डिपार्टमेन्ट र वितरकहरूले धेरै उठाए । धेरै खरिद गर्दा करिब ५ प्रतिशत छुट थियो,’ प्रमुख झाले भने, ‘व्यवसायीहरूले मौज्दात राखेर अहिले सस्तोमा दिएका हुन् ।’ सहुलियत दिनकै लागि मूल्यवृद्धि नगरेको दाबी गरे । ‘दूधको मूल्य प्रतिलिटर ६ रुपैयाँ बढ्ने बित्तिकै दुग्धजन्य सम्पूर्ण वस्तुको मूल्य स्वाभाविक रूपमा बढ्छ ।


चाडबाडलाई नै मध्यनजर गर्दै मूल्य समायोजन गरेका छैनौं,’ उनले भने । घिउबाहेक अन्य वस्तुहरूमा पनि सहुलियत पसलभन्दा बाहिर नै सस्तो छ । खुद्रा व्यापार संघका अध्यक्ष राजकुमार श्रेष्ठका अनुसार बजारमा प्रतिकेजी सानो केराउको मूल्य १२० रुपैयाँ पर्छ । सुपथ पसलमा छुट दिएर १३० रुपैयाँ तोकेको छ । मुग छाँटा दाल बजारमा १६५ रुपैयाँमा पाइन्छ ।


सुपथ पसलमा छुट दिएर १७० रुपैयाँ निर्धारण गरिएको छ । अध्यक्ष श्रेष्ठका अनुसार शुद्ध बेसारको मूल्य १५० रुपैयाँ पर्छ । सहुलियत पसलमा १७५ रुपैयाँ तोकिएको छ । शुद्ध धनियाँ बजारमा १२५ रुपैयाँमा पाइने संघले जनाएको छ । तर, सहुलियत पसलमा १३५ रुपैयाँ तोकिएको छ । शुद्ध जिरा २१० रुपैयाँ परे पनि सहुलियत पसलमा १३५ रुपैयाँ निर्धारण गरिएको छ ।


यसरी सहुलियत पसलको नाममा सरकारबाटै उपभोक्ता ठगी हुनु गलत भएको उपभोक्ताकर्मीहरू बताउँछन् । ‘सहुलियत पसल भन्ने बित्तिकै आम सर्वसाधारको पहुँचमा हुनुपर्छ । बजारभाउभन्दा केही मात्रामा सस्तो हुनुपर्छ,’ उपभोक्ता अधिकार अनुसन्धान मञ्चका अध्यक्ष माधव तिमिल्सिनाले भने, ‘तर, विडम्बना सरकारबाटै उपभोक्ता ठगिए ।’ सहुलियत पसलमा चिनी भने सस्तो छ ।


सरकारले सहुलियत पसलबाट प्रतिकिलो ७४ रुपैयाँमा चिनी उपलब्ध गराएको छ । निजी व्यवसायीहरूले भने प्रतिकिलो ७५ देखि ८२ रुपैयाँसम्ममा बिक्री गर्दै आएका छन् ।


प्रकाशित : भाद्र २५, २०७६ १०:४८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?