१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १४७

तीन दिनमा २४ अंक घट्यो नेप्से

काठमाडौँ — पछिल्ला तीन दिनमा सेयर कारोबार मापक नेप्से परिसूचक करिब साढे २४ अंकले घटेको छ । आइतबार नेप्से १२.६१, सोमबार ९.५४ र मंगलबार २.२४ अंकले घटेको हो । मंगलबारको गिरावटसँगै नेप्से परिसूचक १ हजार १ सय ६६.६७ विन्दुमा बन्द भएको छ ।

तीन दिनमा २४ अंक घट्यो नेप्से

अघिल्लो दिनको तुलनामा यो करिब ०.१९ प्रतिशतले कम हो ।


सो दिन १ हजार १ सय ६८.९२ विन्दुबाट कारोबार सुरु भएको थियो । बजार खुलेदेखि नै नेप्से बढ्न सकेन । करिब १ बजेतिर नेप्से १ हजार १ सय ६१ नजिक ओर्लेको थियो । त्यसपछि भने बजार बढ्यो । यो वृद्धिले नेप्सेलाई करिब १ हजार १ सय ७२ विन्दुमा पुर्‍यायो । कारोबारको अन्तिम समयमा नेप्से फेरि ओरालो लाग्यो र अन्त्यमा १ हजार १ सय ६६ विन्दुमा झरेर बन्द भयो ।

मंगलबार कारोबारमा आएकामध्ये होटल, विकास बैंक, निर्जीवन बिमा र सामूहिक लगानीकोषबाहेक सबै समूहको परिसूचक घटे । यी चार समूहको परिसूचक बढे पनि घटेको परिसूचकभन्दा कम नै रह्यो । यसकारण उक्त दिन समग्र नेप्से करिब सवा २ अंकले ऋणात्मक रहेको हो ।


पछिल्लोपटक १३ दिनअघि (भदौ ११ मा) नेप्से परिसूचक १२ सयभन्दा तल ओर्लेको थियो । त्यसपछि मंगलबारसम्म नेप्से १२ सयभन्दा तल नै छ । बरु घटिरहेको छ । यही क्रममा मंगलबार १ हजार १ सय ६६ विन्दुमा ओर्लेको हो ।


मंगलबार होटल समूहको परिसूचक सबैभन्दा बढी १.५२, निर्जीवन बिमा ०.५१, विकास बैंक ०.१५, सामूहिक लगानीकोष ०.५ प्रतिशतले बढे ।


सो दिन करिब ६ हजार ६ सय कारोबारबाट १ सय ७२ कम्पनीका ९ लाख ९२ हजार १ सय २२ कित्ता सेयर किनबेच भए । ती किनबेचबाट २३ करोड ७९ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । यो अघिल्लो कारोबार दिनको तुलनामा कारोबार रकम करिब साढे २० प्रतिशतले बढी हो । सोमवार २९ करोड ९२ लाख रकम बराबरको कारोबार भएको थियो ।


नेप्से घटे पनि ‘क’ वर्गका कम्पनीको सेयर कारोबार मापक सेन्सेटिभ परिसूचक ०.२१ अंकले सकारात्मक रह्यो । व्यापारमा रहेका कम्पनीहरूको सेयर कारोबार मापक फ्लोट परिसूचक भने मंगलबार ०.२ प्रतिशतले ऋणात्मक छ ।

प्रकाशित : भाद्र २५, २०७६ १०:४६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?