ताप्लेजुङको तोक्मे हाटमा डोके व्यापारीलाई कर

आनन्द गौतम

(ताप्लेजुङ) — फुङलिङ नगरपालिका ८ की विष्णुमाया लिम्बु प्रत्येक साता सदरमुकाम फुङलिङको तोक्मे हाटमा मर्चा बिक्री गर्छिन् । दिनभर चिसो भुइँमा बसेर व्यापार गर्ने उनी फुङलिङ नगरपालिकालाई ३० रुपैयाँ कर बुझाउन बाध्य छिन् । 

फुङलिङ ९ हाङदेवाका साङगे शेर्पा पनि तरकारी लिएर हाट पुग्छन् । झिसमिसेमै तरकारी बोकेर सदरमुकाम आउने शेर्पा पनि लिम्बुलेझैं चिसो भुइँमै बसेर व्यापार गर्छन् । पानी परे आफैंले ल्याएको छाता वा प्लास्टिकले ओत्याउनुको विकल्प छैन । कहिलेकाहीँ त खानेपानीको पाइप फुटेर हाट लाग्ने क्षेत्र हिलाम्मे हुन्छ । घण्टौं ढाडमा बोकेर ल्याएको सामान बिक्री गर्नैपर्ने बाध्यता छ ।

फुङलिङ नगरपालिकाले २०७६ असार १० गते प्रकाशित गरेको राजपत्रको अनुसूची ८ दफा ९ सँग सम्बन्धित बहाल, बिरौटी करमा भुँइमा सामान फिँजाई बिक्री गर्नेका लागि २० रुपैयाँ कर तोकेको छ । तर लिम्बु र शेर्पाजस्ता धेरै खुद्रा व्यापारी भने ३० रुपैयाँ तिर्न बाध्य छन् । नगरपालिकाले दिने नगदी कर रसिदमा रकम बुझ्नेले हस्ताक्षर नगर्ने र पूर्ण विवरण पनि नखुलाउने गरेको पाइएको छ ।
नगरपालिकाले भुइँमा फिँजाएर र डोकोमा राखेर बिक्री गर्नेलाई जनही २०, टहराभित्र प्रतिब्लक एक सय, ठेलामा ३०, चारचक्केमा ७५, भुइँमा फिँजाएर जुत्ता चप्पल बिक्री गर्नेलाइ ५० रुपैयाँ कर निर्धारण गरेको छ । हाँस, कुखुरा ठूलो प्रतिगोटा ३० र सानो १५, खसी, बोका, भेंडा, च्यांग्रा प्रतिगोटा २ सय कर निर्धारण गरिएको छ । कर उठाउनेले भने साना व्यापारीलाई पनि ठूलो भन्दै जबर्जस्ती पैसा लिने र रसिद भिडाउने गरेको गुनासो छ ।

सातामा दुई दिन शनिबार र मंगलबार लाग्ने हाटमा सामान बिक्रीका लागि तेह्रथुमको आठराईदेखिका किसान आउँछन् । क्रेतासँग सिधै कारोबार हुने र बिचौलियालाई खुवाउनु नपर्ने भएकाले आफैंले सामान लिएर आएको उनीहरू बताउँछन् । थाप्लो कुच्याएर सामान बिक्रीका लागि आउने किसान सदरमुकाममै स्थानीय ठेकेदारबाट ठगिइरहेको बताउँछन् ।

नगरपालिकाका उप–प्रमुख बमबहादुर भट्टराई (तारा) आफूले पनि यो गुनासो सुनेको र शनिबार बजार अनुगमन गर्ने बताउँछन् । ‘मैले पनि धेरै रकम उठाएको भन्ने सुनें, जिल्ला बाहिरबाट भर्खरै आएकाले कर उठाउने ठेकदारसँग कुरा भएको छैन,’ भट्टराईले भने, ‘यसको समाधान तत्काल निकालेर सेवाग्राहीलाई कानुनअनुसारको कर उठाउने व्यवस्था मिलाउँछौं ।’ डोकोमा सामान बिक्री गर्नेहरूले गत फागुनदेखि नै ३० रुपैयाँ तिरेको दाबी गरेका छन् ।

कानुन नै त्रुटि
नगरपालिकाद्वारा जारी नगर राजपत्रको तोक्मेडाँडा हाटबजारमा लाग्ने करको चारवटा कोलम छ । पहिलोमा क्रमसंख्या दोस्रोमा विवरण तेस्रोमा स्वीकृत रुपैयाँ र अन्तिम कोलममा कैफियत छ । विवरणमा सामानको नाम र स्वीकृत रकम छ । तर कैफियतको सबै कोलम खाली छ । सातामा दुई दिन लाग्ने हाटमा प्रत्येक हाटमा कर तिर्नुपर्ने वा मासिक, वार्षिक केही पनि उल्लेख छैन ।

यस्तै गुप्ते देउरालीदेखि पाथीभरा क्षेत्रको ठूलो फेदीसम्मका अधिकांश घर सरकारी जग्गामा छन् । नगरपालिकाले व्यावसायिक प्रयोजनका लागि बनाएका घरहरूलाई ५ सयदेखि २५ हजारसम्म वार्षिक कर लगाएको छ । बरु आयकर लगाउनुपर्ने नगरपालिकाले यो अचाक्ली कर लगाएको बुझाई कतिपयको छ । स्वयं व्यवसायीले भने यसमा प्रतिक्रिया जनाएका छैनन् ।

तेर्से क्षेत्रलाई ५ सय, सेवारोचोक र भालुगौंडेलाई १५ सय, छातेढुंगा २ हजार, गुप्ते देउराली ३५ सय, बलुडाँडादेखि गुराँसे क्षेत्र ७ हजार ५ सय, काफ्लेपाटी नौ हजार र ठूलो फेदी क्षेत्रमा वार्षिक २५ हजार कर लगाइएको नगरपालिकाले जनाएको छ ।

प्रकाशित : भाद्र २५, २०७६ १०:३४
प्रतिक्रिया
पठाउनुहोस्

बैंकलाई ‘आईटी अडिट’ गर्न निर्देशन

कान्तिपुर संवाददाता

काठमाडौँ — बैंक तथा वित्तीय संस्थाले निरन्तर रूपमा सूचना प्रविधि (आईटी) अडिट गर्नुपर्ने भएको छ । सूचना प्रविधिसम्बन्धी जोखिम बढिरहेको समयमा राष्ट्र बैंकले मंगलबार यस्तो निर्देशन दिएको हो ।

बैंक तथा वित्तीय संस्थामा सूचना प्रविधिसम्बन्धी जोखिम न्यूनीकरणका लागि भन्दै राष्ट्र बैंकले विभिन्न निर्देशन जारी गरेको छ । सोहीमध्ये ‘आईटी अडिट’ पनि एक हो ।

सूचना प्रविधिसम्बन्धी जोखिम न्यूनीकरणका लागि बैंक तथा वित्तीय संस्थाले आफ्नो वेबसाइट, मोबाइल एप, चुहावट तथा चोरी, आर्थिक चोरीको जोखिम, आधिकारिक चोरीको जोखिमलगायतको सुरक्षा तथा परीक्षणका लागि निरन्तर रूपमा व्यवस्था गर्नुपर्नेछ । यसका लागि प्राविधिक क्षमता सुदृढ गर्ने, अद्यावधिक गर्ने, सेवा प्रदान गर्दा बैंकले अवलम्बन गरेका प्रणालीको सत्यता र सुरक्षा जाँच गर्न पनि राष्ट्र बैंकले निर्देशन दिएको छ ।

‘कतिपय असम्बन्धित व्यक्ति तथा स्थानबाट नक्कली पत्राचार एवं भुक्तानी आदेशसमेतबाट प्रयुक्त प्रणालीको दुरुपयोग गर्ने प्रयासहरू भएको सन्दर्भमा प्रणालीहरूको आवश्यकता अनुगमनको व्यवस्था गर्ने, भएको घटनाको सूचना सम्बन्धित निकायमा दिने व्यवस्था गर्ने,’ राष्ट्र बैंकको परिपत्रमा उल्लेख छ ।

गत साता नक्कली एटीएम कार्डमार्फत चिनियाँ नागरिकले नेपाल र भारतका विभिन्न एटीएममार्फत रकम चोरी गरेको भेटिएपछि सूचना प्रविधिजन्य जोखिम न्यूनीकरणका लागि राष्ट्र बैंक तातेको हो ।

यस्तै बैंक तथा वित्तीय संस्थाले प्रयोग गर्दै आएको विद्युतीय भुक्तानी प्रणाली (सूचना प्रणाली) सम्बन्धित नीति नियम परिमार्जन गरिने भएको छ ।

प्रकाशित : भाद्र २५, २०७६ १०:३२
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्