३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५८

७३ ठाउँमा दसैं सहुलियत पसल

‘७३ वटा पसलले बजार हस्तक्षेप हुन सक्दैन तर सहुलियत पसलले बजारको सन्दर्भ मूल्य निर्धारण गर्छ’ 

काठमाडौँ — सरकारले चाडबाडलाई लक्षित ७३ ठाउँमा सहुलियत पसल सञ्चालनमा ल्याएको छ । चाडबाडमा उपभोक्तालाई सस्तो मूल्यमा खाद्य वस्तु उपलब्ध गराउन उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले सहुलियत पसल सुरु गरेको हो ।

७३ ठाउँमा दसैं सहुलियत पसल

सहुलियत पसलको उद्घाटन आपूर्तिमन्त्री मात्रिका यादवले गरे । उनले सहुलियत पसल निरन्तर हुनुपर्ने बताए । आगामी दिनमा सहुलियत पसल निरन्तर सञ्चालन गर्ने प्रतिबद्धता गर्नुपर्ने बताए । ‘चाडबाडमा उपभोक्तालाई केही राहतका लागि सहुलियत पसल सञ्चालनमा ल्याइएको हो,’ उनले भने ।


सहुलियत पसलमा साल्ट ट्रेडिङ कर्पोरेसन्स लिमिटेड, खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड, दुग्ध विकास संस्थानसहितले छुटसहित सामग्रीहरू राखेका छन् । वाणिज्य तथा आपूर्ति सचिव वैकुण्ठ अर्यालले सहुलियत पसल कात्तिक १७ गतेसम्म सञ्चालन हुने बताए । ‘सहुलियत पसलले बजारको सन्दर्भ मूल्य निर्धारण हुने बताए ।


‘७३ वटा पसलले बजार हस्तक्षेप हुन सक्दैन । तर, यसको महत्त्व छ । बजार मूल्यको इन्डिकेटर हो,’ उनले भने, ‘सहुलियत पसल वर्षभर सञ्चालन हुनुपर्छ । सबै ठाउँमा गर्न सकिएन, अर्को वर्ष प्रयास गर्नुपर्छ ।’ सहुलियत पसलमा प्रतिकिलो २ देखि ५० रुपैयाँसम्म छुट दिइने दाबी छ ।


‘संस्थानहरूले आ–आफ्नोतर्फबाट केही छुट दिएका छन्,’ वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागका महानिर्देशक योगेन्द्र गौचनले भने, ‘यसले बजारमा सरकारको उपस्थिति जनाउँछ ।’ सरकारी संस्थानबाहेक अन्य निजी व्यवसायीलाई पनि छुट दिन आग्रह गरेको उनले बताए । यसका लागि सबै सरोकारवाला निकायहरूसँग छलफल भइरहेको उनले बताए ।


‘चाडबाडमा सकेसम्म उपभोक्तालाई राहत दिऊँ भन्ने उद्देश्य हो,’ खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडका महाप्रबन्धकसमेत रहेका गौचनले भने, ‘सहुलियत दरमा उपलब्ध गराउन सबै निकायसँग छलफल गरिरहेका छौं ।’ लिमिटेडका उपमहाप्रबन्धक श्रीमणि खनालले उपत्यकाबाहिर २३ र उपत्यकामा ५ ठाउँमा सञ्चालन गर्ने बताए । यी पसलहरूमा ५ देखि १० रुपैयाँ छुट दिइने बताए ।


बास्मती चामलमा १० रुपैयाँ, जिरा मसिनोमा ५ रुपैयाँ, सोना मन्सुलीमा ५ रुपैयाँ, जापनिज चामलमा ५ रुपैयाँ, सिमीमा १० रुपैयाँ छुट दिइनेछ । जिउँदो बोका–खसी र च्याङ्ग्रामा पनि १० रुपैयाँ छुट दिने जनाएको छ ।


यस्तै, साल्टट्रेडिङ कर्पोरेसन्सले पनि चिनीमा ५ रुपैयाँ छुट दिएको छ । उसले प्रतिकिलो ७२ रुपैयाँमा बिक्री गर्ने जनाएको छ । नुनमा २ रुपैयाँ दिएको साल्ट्रट्रेडिङका महाप्रबन्धक उर्मिला श्रेष्ठले बताइन् । ‘चाडबाडका लागि २४ सहुलियत पसल र ३ मोबाइल भ्यान सञ्चालन गरेका छौं,’ उनले भनिन्, ‘मागको आधारमा जिल्लामा पनि बिक्री वितरण गर्नेछौं ।’


दुग्ध विकास संस्थानले घिउमा प्रतिकिलो ५० रुपैयाँ छुट दिएर ८५० रुपैयाँ निर्धारण गरेको छ । पनिरमा १० रुपैयाँ छुट दिएर ७ सय रुपैयाँ दिएको संस्थानका योजना प्रमुख राजेन्द्र अधिकारीले बताए । मन्त्रालयका अनुसार खाद्य व्यापार कम्पनीले उपत्यकामा एकीकृृत १ सहित थापाथली, नख्खु, जावलाखेल र भक्तपुरमा सञ्चालन गरेको छ ।


साल्टले पनि एकीकृत १, कालीमाटीमा २, कोटेश्वर, टेकु, सिंहदरबार, सतुंगल, ललितपुर, भक्तपुर र घुम्ती सेवा सञ्चालन गर्ने जनाएको छ । दुग्ध विकास संस्थानले एकीकृत १, लैनचौर, न्युरोड र खुमलटारमा सहुलियत पसल सञ्चालन गर्ने जनाएको छ ।

प्रकाशित : भाद्र २४, २०७६ ०८:१८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?