१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६८

पातलियो चौंरी बथान

चौंरीलाई भारी बोकाइन्छ, दूघजन्य वस्तु उत्पादन हुन्छ र कतिपयले यसको मासु पनि खान्छन् । छाला र पुच्छरसमेत प्रयोगमा आउने चौंरी पछिल्लो समयमा भने घट्दै गएका छन् ।
राजबहादुर शाही

मुगु — मुगमकार्मारोङ गाउँपालिका–२, मुगुगाउँका थिन्ले लामासँग डेढ वर्षअघिसम्म करिब सयवटा चौंरी थिए । अहिले ४० मा झरेका छन् । उनी भएकै चौंरी पनि बेच्ने मनस्थितिमा छन् । ‘छोराछोरी सहरतिर बस्न थाले, बुढेसकालमा कति दुःख गर्नु,’ ५० वर्षीय थिन्लेले भने, ‘राम्रो मोल (मूल्य) पाएँ बेचिदिन्छु ।’

पातलियो चौंरी बथान

थिन्ले मात्र होइनन्, मुगुको उत्तरी क्षेत्रका चौंरीपालक किसान अहिले यस्तै हतास मानसिकतामा देखिन्छन् । यसले गर्दा चौंरीको संख्या बर्सेनि घट्दो छ । केही वर्षअघिसम्म बाक्लै देखिने बथान अहिले पातलिँदै छन् । हिमाली घरपालुवा जनावरको संरक्षणमा सरोकारवालाको ध्यान पुग्न सकेको छैन ।


मुगमकार्मारोङ गाउँपालिकाको मुगुगाउँ र डोल्फु चौंरीपालन हुने क्षेत्र हुन । यी दुई गाउँमा तीन वर्षअघिसम्म करिब १ हजार २ सयको संख्यामा चौंरी थिए । अहिले गाउँभरि मुस्किलले ५ सय चौंरी रहेको गाउँपालिका अध्यक्ष छिरिङ क्याप्ने लामाले बताए ।


मुगुगाउँका कुन्ग्याप लामाले चौंरीको घट्दो संख्याबाट चिन्ता व्यक्त गरे । उनीसँग दुई वर्षअघि ४० चौंरी थिए । अहिले यो संख्या आधा घटेको छ । तुलनात्मक रूपमा चौंरी पाल्न दुःख हुनु, युवा पुस्ता सहरकेन्द्रित हुनु र उपयोगिता पनि घट्नुले बर्सेनि चौंरीको संख्या पातलिँदै गएको उनको भनाइ छ ।


लामाका अनुसार करिब एक दशकअघिसम्म एक घरमा कम्तीमा ४० वटा चौंरी हुन्थे । अहिले बढी पाल्नेको ४० वटा छन् । चौंरीपालन घटे पनि यसको मूल्य भने महँगिँदै गएको छ । चौंरीको पुच्छरको आकर्षणले मूल्य महँगो हुने गरेको स्थानीय बताउँछन् । चौंरीको आकार हेरेर ५० देखि ८० हजारसम्म पर्ने गरेको छ ।


मुगुमा माथिल्लो डोल्पा र लिमी क्षेत्रबाट चौंरी ल्याइन्छन् । ‘गरिबले त चौंरी पाल्छु भनेर नसोचे पनि हुन्छ,’ स्थानीय सोनाम तामाङले भने, ‘किन्नै मुस्किल, किनिहाले पनि पाल्न झन् मुस्किल ।’ चौंरीको पुच्छर र छालाको मूल्य पनि छोइनसक्नु छ । एउटा फुर्के (माथि सेतो तल कालो भएको पुच्छर) को मूल्य करिब २५ हजार रुपैयाँ पर्छ ।


सामान्य पुच्छरको मूल्य भने ४ देखि ५ हजारसम्म पर्छ । चौंरीको छालाको माग तिब्बती बजारमा अधिक छ । तिब्बतीले छालाबाट विभिन्न प्रकारका वस्तु बनाउँछन् । तिब्बतमा चौंरीको मासु पनि बिक्री हुने गर्छ । स्थानीयले समेत मरेको चौंरीको सुकुटी बनाएर बेच्छन् ।


विशेषगरी युवा पुस्ताको अरुचिले परम्परागत चौंरीपालन पेसा संकटमा पर्दै गएको हो । चौंरीहरू चरनको खोजीमा समुद्र सतहदेखि ५ हजार ५ सय मिटरसम्मको उचाइमा पुग्ने गर्छन् । मुगुको सानोकोइकी, ठूलोकोइकी, रिमार, हाङदाङखोला लगायत क्षेत्रमा चौंरी चरनका जान्छन् । वैशाखमा पाटन उक्लिएका चौंरी मंसिरमा गाउँतिर झर्छन् । ‘पाल्न निकै दुःख छ, छोरा–नाति पुस्ता पाटन त टाढाको कुरा गाउँमा पनि आउँदैनन्,’ मुगुमकार्मारोङ गाउँपालिकाका लामाले भने, ‘यस्तो अवस्थामा चौंरीको संख्या कसरी बढ्न सक्छ ।’ यही व्यवसायबाट पैसा कमाएका व्यक्तिले पनि सहरतिर घरजग्गा जोड्न थालेका उनले बताए ।


वर्षको एकपटक ब्याउने चौंरीलाई दूध दुहुन कठिन हुने गरेको छ । प्रायः चौंरी पाटनतिरै ब्याउने भएकाले ठेकी लिएर दूध दुहुन मुस्किल हुने गरेको स्थानीय बताउँछन् । चौंरीको दूधबाट बन्ने छुर्पी बजारमा अत्यन्त रुचाइन्छ । तर, दूध दुहुनै समस्या हुँदा छुर्पी बनाउन नसकिएको सोनामले बताए । उनका अनुसार चौंरी ब्याएपछि स्थानीयले बाछीलाई घरमै छोडेर आमालाई पाटनतिर लैजान्छन् । ‘चौंरीको दूध, घ्यू र दूधबाट बन्ने छुर्पी मात्र होइन, सबै चीज उत्तिकै राम्रो मानिन्छ,’ उनले भने, ‘यति हुँदाहुँदै पनि चौंरीपालनमा ध्यान पुगेको देखिँदैन ।’


चौंरी हरेक हिसाबले लाभदायी र बहुउपयोगी हिमाली जनावर भए पनि यसको संरक्षणमा सरोकारवालाको चासो देखिँदैन । प्रदेश सरकारले चालु आर्थिक वर्षका लागि भेटनरी अस्पताल तथा पशु सेवा कार्यालयले चौंरी संरक्षण कार्यक्रम लागू गरेको छ । यसको लागि ५० लाख रुपैयाँ छुट्याइएको छ । पशु प्राविधिक भीमबहादुर पुनका अनुसार यो बजेटबाट मुगुगाउँ र डोल्फुमा चौंरीगोठ सुधार गरिनेछ । चौंरी खरिदमा पनि अनुदान दिइने उनले बताए ।


जिल्लामा पहिलोपटक चौंरी व्यवसायको लागि सरकारी बजेट आएपछि स्थानीय उत्साही भएका छन् । गाउँपालिकाले भने चौंरीपालन व्यवसायमा बेवास्ता गरेको उनीहरूको गुनासो छ । कुखुरादेखि बुंगुरपालनसम्ममा बजेट छुट्याएको गाउँपालिकाले चौंरीपालनमा भने पछिल्लो दुईवटै आर्थिक वर्षमा एक रुपैयाँ नछुट्याएको थिल्लेले बताए ।


डोल्फु र मुगुगाउँका आदिवासी जनजातिले विशेषगरी भारी बोक्ने काममा चौंरीको प्रयोग गर्ने गर्छन् । तिब्बतबाट नुन, चामल ल्याउन होस् वा जुम्लाको सिँजा र मुगुको सोरुखत्याडबाट धान, गहुँ, कोदो ओसार्न, चौंरीको प्रयोग गर्ने गरिन्छ । स्थानीयका लागि चौंरी भरपर्दो भरिया हो ।


उनीहरूले भारी बोक्नका लागि चौंरीसँगै झोवा पनि लैजान्छन् । डोल्फुका च्वाछिरी तामाङले एउटा चौंरीले ८० केजीसम्म भारी बोक्नसक्ने बताए । ‘हाम्रा लागि त चौंरी भरपर्दो भरियो नै हो,’ उनले भने, ‘लामो दूरीसम्म गह्रुँगो भारी पनि सजिलैसँग बोक्न सक्छ ।’

हिमाली बस्तीमा अन्नबाली नहुने भएकाले चौंरीको सहारामा बाहिरबाट अन्न बोकेर जीवन गुजार्ने गरेको उनले बताए ।


चौरीलाई मासु उत्पादनका रूपमा प्रयोग गरिन्छ । मुगमकार्मारोङ गाउँपालिकाकामा पर्ने १२ वटा बस्तीमध्ये डोल्फु र मुगुगाउँमा मात्र चौंरी पालिन्छन् । अन्य बस्तीमा स्थानीयले झोवा र घोडा पाल्छन् । चौंरीले पाटनमा यार्चा र बुकी खान्छन् । पानीको सट्टा हिउँ पिउँछन् । चौंरीको सिङ सियोजस्तै तिखो र लामो हुने भएकाले हिमाली चितुवाले समेत मार्न सक्दैन ।

प्रकाशित : भाद्र २४, २०७६ ०७:५५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?