कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७७

सहुलियत पसल सुरु

प्रतिकिलो २ देखि ५० रुपैयाँसम्म छुट दिइने दाबी

काठमाडौँ — सरकारले चाडवाडलाई लक्षित गरी ७३ ठाउँमा सहुलियत पसल सञ्चालन गरेको छ । उपभोक्तालाई सस्तो मूल्यमा खाद्य वस्तु उपलब्ध गराउन उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले सहुलियत पसल सुरु गरेको हो । सहुलियत पसलको उद्घाटन आपूर्तिमन्त्री मात्रिका यादवले गरे । उनले सहुलियत पसल निरन्तर हुनुपर्ने बताए ।

सहुलियत पसल सुरु

मन्त्री यादवले आगामी दिनमा सहुलियत पसल निरन्तर सञ्चालन गर्ने प्रतिबद्धता गर्नुपर्ने बताए । ‘चाडवाडमा उपभोक्तालाई केही राहतका लागि सहुलियत पसल हो,’ उनले भने । सहुलियत पसलमा साल्ट ट्रेडिङ कर्पोरेसन्स लिमिटेड, खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड, दुग्ध विकास संस्थान सहितले छुट दिएका छन् । सहुलियत पसलमा प्रतिकिलो २ देखि ५० रुपैयाँसम्म छुट दिइने दाबी गरिएको छ ।


‘संस्थानहरुले आ–आफ्नो तर्फबाट केही छुट दिएका छन्,’ वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागका महानिर्देशक योगेन्द्र गौचनले भने, ‘यसले बजारमा सरकारको उपस्थिती जनाउँछ ।’ सरकारी संस्थान बाहेक अन्य निजी व्यवसायीलाई पनि छुट दिन आग्रह गरेको उनले बताए । यसका लागि सबै सरोकारवाला निकायहरुसँग छलफल भइरहेको बताए । ‘चाडवाडमा सबैसम्म उपभोक्तालाई राहत दिऔँ भन्ने उद्देश्य हो,’ खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडका महाप्रबन्धक समेत रहेका गौचनले भने, ‘सहुलियत दरमा उपलब्ध गराउन सबै निकायसँग छलफल गरिरहेका छौँ ।’ लिमिटेडका उपमहाप्रबन्धक श्रीमणी खनालले उपत्यका बाहिर २३ र उपत्यकामा ५ ठाउँमा सञ्चालन गर्ने बताए । यी पसलहरुमा ५ देखि १० रुपैयाँ छुट दिइने बताए ।


बास्मती चामलमा १० रुपैयाँ, जिरा मसिनोमा ५ रुपैयाँ,सोना मन्सुलीमा ५ रुपैयाँ,जापनीज चामलमा ५ रुपैयाँ,सिमीमा १० रुपैयाँ छुट दिइने छ । जिउँदो बोका खसी र च्याङग्रामा पनि १० रुपैयाँ छुट दिने जनाएको छ । यस्तै, साल्ट ट्रेडिङ कर्पोरेसनले पनि चिनीमा ५ रुपैयाँ छुट दिएको छ । उसले प्रतिकिलो ७२ रुपैयाँमा बिक्री गर्ने जनाएको छ । नुनमा २ रुपैयाँ छुट दिएको साल्ट ट्रेडिङका महाप्रबन्धक उर्मिला श्रेष्ठले बताइन् । ‘चाडवाडका लागि २४ सहुलियत पसल र ३ मोबाइल भ्यान सञ्चालन गरेका छौँ,’ उनले भनिन्, ‘ मागको आधारमा जिल्लामा पनि बिक्री वितरण गर्नेछौँ ।’


दुग्ध विकास संस्थानले घिउमा प्रतिकिलो ५० रुपैयाँ छुट दिएर ८५० रुपैयाँ निर्धारण गरेको छ । पनिरमा १० रुपैयाँ छुट दिएर ७ सय रुपैयाँ दिएको संस्थानका योजना प्रमुख राजेन्द्र अधिकारीले बताए । वाणिज्य तथा आपूर्ति सचिव बैकुण्ठ अर्यालले सहुलियत पसल कार्त्तिक १७ गतेसम्म सञ्चालन हुने बताए । ‘सहुलियत पसलले बजारको सन्दर्भ मूल्य निर्धारण हुने बताए । ‘७३ वटा पसलले बजार हस्तक्षेप हुन सक्दैन । तर, यसको महत्व छ । बजार मूल्यको इन्डिकेटर हो,’ उनले भने, ‘सहुलियत पसल वर्षभर सञ्चालन हुनुपर्छ । सबै ठाउँमा गर्न सकिएन, अर्को वर्ष प्रयास गर्नुपर्छ ।’


मन्त्रालयका अनुसार खाद्य व्यापार कम्पनीले उपत्यकामा एकिकृत १ सहित थापाथली, नख्खु, जावलाखेल र भक्तपुरमा सञ्चालन गरेको छ । साल्टले पनि एकीकृत १, कालीमाटीमा २, कोटेश्वर, टेकु, हिसदरबार, सतुङगल, ललितपुर, भक्तपुर र घुम्ती सेवा सञ्चालन गर्ने जनाएको छ । दुग्ध विकास संस्थानले एकीकृत १, लैनचौर न्युरोड र खुमलटारमा सहुलियत पसल सञ्चालन गर्ने जनाएको छ ।

प्रकाशित : भाद्र २३, २०७६ १८:०३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?