मुगुमा लटरम्म स्याउ

राजबहादुर शाही

मुगु — छायानाथ रारा नगरपालिका–४ ताल्चा गाउँका गोठ स्याउले भरिएका छन् । रुखबाट टिपेका स्याउ व्यवस्थित गर्न भण्डारगृह नहुँदा किसानले गाईगोठमा सल्लाको कुशुम (पिरल) बिच्छ्याएर राख्ने गरेका हुन् ।

मुगुमा लटरम्म स्याउ

स्थानीय कर्णबहादुर भामले करिव ८० क्विन्टल स्याउ गोठमै थन्काएको गुनासो गरे । ‘जिल्लामा कतै व्यवस्थित भण्डारणको व्यवस्था छैन,’ उनले भने, ‘गोठमै थन्काएर राख्नुको विकल्प भएन ।’


उनी मात्र होइन, ताल्चा गाउँका करिब दुई सय बढी किसानले स्याउ गोठमै थन्क्याएका छन् । चरनका लागि गाईभैंसीलाई लेक लगिएकाले गोठ रित्ता थिए । त्यही मौकामा कृषकले पिरलमा स्याउ राखेका हुन् । ‘गोठभित्र स्याउ राख्दा कुहिने र किराले खाने समस्या बढी हुन्छ,’ स्थानीय गोर्ख भामले भने, ‘कार्टुनको राम्रो व्यवस्था नहुँदा जथाभावी स्याउ गोठभित्र थन्क्याउन बाध्य छौं ।’

विगत वर्षमा साविक जिल्ला कृषि विकास कार्यालयले किसानलाई अनुदानमा कार्टुन वितरण गर्थ्यो । यस वर्ष रकम नभएको भन्दै कृषि ज्ञान केन्द्रले कार्टुन उपलव्ध नगराएपछि किसान समस्यामा परेका हुन् । बजेट कटौती हुँदा किसानलाई कार्टुन वितरण गर्न नसकिएको कृषि ज्ञान केन्द्र प्रमुख सुकिराम नेपालीले बताए ।


अबेरसम्मै व्यस्त

छायानाथ रारा नगरपालिका–४ ताल्चाकी रामदेवी भाम सबेरैदेखि साँझ अबेरसम्म बारीमा स्याउ टिप्न व्यस्त छिन् । स्याउ पाकेर झर्न थालेपछि परिवारका पाचजना दिनहुँ स्याउबारीमा व्यस्त हुन थालेका छन् । उनकै छिमेकी दिलमाया भामलाई पनि स्याउ टिप्ने चटारोले छोएको छ ।


प्राय सबै गाउँका किसान बस्ती सुनसान पारेर स्याउ टिप्न बगैंचामा व्यस्त छन् । बालबालिकादेखि वृद्धसम्मको भीड लागेको छ । कोही रुखमा चढेर स्याउ टिप्छन् । केहीलाई ओसार्ने चटारो छ । ताल्चा गाउँका कर्णबहादुर भामले बगैंचामा लटरम्म स्याउ पाकेपछि किसानको व्यस्तता बढेको बताए ।

यस वर्ष नगरपालिकाका ताल्चा, मइतु, कालापाल्त, गिमखोलालगायत बस्तीमा स्याउ राम्रो फलेको छ । स्याउले बगैंचा राताम्मे छन् । ‘टाढा गाउँका छोरीचेली स्याउ टिप्न माइती आएका छन्,’ भामले भने, ‘बगैचा खाली नगरे स्याउ झर्ने समस्या हुने भएकाले परिवारका सबै सदस्य व्यस्त बनेका हौं ।’

कृषकले स्याउ टिप्न भने हतार गरेको कृषि ज्ञान केन्द्र प्रमुख सुकिराम नेपालीले बताए । ‘यस वर्ष राम्रो उत्पादन भएको छ, बजारको चिन्ताले किसान हतारिएका मात्र हुन्,’ उनले भने, ‘स्याउ उत्पादनको तथ्यांक संकलन गर्न गाउँगाउँमा प्राविधिक खटाएका छौं ।’

प्रकाशित : भाद्र २३, २०७६ ०७:५०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?