कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६१

पार्क निर्माणमा चिनियाँ रुचि

चितवन — चिनियाँ लगानीकर्ताहरूको एक टोलीले आइतबार चितवनका विभिन्न स्थानीय तहका पदाधिकारीहरूसँग छलफल गरेको छ ।

चिनियाँ टोली लगानीका क्षेत्र पहिल्याउन आएको हो । ‘द इकोनोमिक ज्वाइन्ट कमिटी अफ चाइना कमर्सियल स्टक इन्टरप्राइजेज’ का कार्यकारी अध्यक्ष फान जिआबो नेतृत्वको टोलीसित रत्ननगर, कालिका र माडी नगरपालिकाका पदाधिकारीलगायतले छलफल गरेका छन् ।


औद्योगिक पार्क निर्माणमा आफूहरूको रुचि भएको र चितवन त्यसका लागि उपयोगी भएको फानले बताए । भरतपुर महानगरपालिकाका मेयर रेनु दाहालले शक्तिखोरमा औद्योगिक ग्राम बनाउन सरकारले जग्गा छुट्याइसकेको र विस्तृत परियोजना निर्माण (डीपीआर) र विस्तृत वातावरणीय प्रभाव अध्यनन (ईआईए) निर्माणको काम चलिरहेको जानकारी गराएकी छन् ।


चिनियाँ टोलीले प्रस्तावित औद्योगिक क्षेत्रको पनि अवलोकन गरेको छ । देशको लगभग मध्यभागमा समथर जमिन र यातायता पुगेको ठाउँमा औद्योगिक पार्क बन्न लागेको छ । भरतपुर महानगरपालिका मेयर दाहालले माडीमा कृषिमा आधारित उद्योगहरू स्थापना हुन सक्ने बताइन् ।


भरतपुर महानगरले पनि अटो ल्यान्ड बनाउन लागेको, अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माणमा निजी क्षेत्रको सहभागिता खोजी रहेको, मेट्रो रेलको सम्भाव्यता अध्ययन गरिरहेको उनले जानकारी गराइन् ।


यस्तै पर्यटन पूर्वाधार निर्माणमा पनि लगानीको आवश्यकता रहेको उनको भनाइ थियो । ‘दुर्लभ वन्यजन्तु एकसिंगे गैंडा पाइने विश्व प्रसिद्ध चितवन राष्ट्रिय निकुञ्ज यहीँ छ । पर्यटन पूर्वाधार निर्माण पनि लगानीको सम्भावना बोकेको क्षेत्र हो,’ मेयर दाहालले भनिन् । त्रिशूली र नारायणी नदी किनारमा पनि पर्यटकीय सम्भावना रहेको उनले बताइन् ।

प्रकाशित : भाद्र २३, २०७६ ०७:४८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?