१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६१

विवादले चक्रपथ निर्माण सुस्त

चाँदनी कठायत

सुर्खेत — एक दशकअघि वीरेन्द्रनगरमा निर्माण सुरु गरिएको चक्रपथको काम निकै सुस्त छ । स्थानीयले चक्रपथ निर्माण कार्यमा अवरोध गर्दै काम हुन दिएका छैनन् । अधिकांश वडाका बासिन्दाले क्षतिपूर्ति दिनुपर्ने माग गरिरहेका छन् । 

विवादले चक्रपथ निर्माण सुस्त

उचित क्षतीपूर्ति दिएपछि मात्रै निर्माण गर्न दिने स्थानीय बालकुमारी डाँगीले बताइन् । ‘पहिलेदेखि नै माग सम्बोधन गर्ने आश्वासन दिए,’ उनले भनिन्, ‘बाटोमा पर्ने घर र जग्गाको उचित क्षतिपूर्ति नदिने बेलासम्म हामी काम कुनै पनि हालतमा गर्न दिँदैनौँ ।’ चक्रपथ बनाउँदा स्थानीयको घरजगा नै फालिए आफूहरू सुकुम्बासी बन्ने अवस्था आउने डाँगीको भनाइ छ । उनका अनुसार चक्रपथ बनाउँदा स्थानीयको घर जग्गा फाल्ने हो भने दुई सयभन्दा बढी घरपरिवार पीडित बन्ने अवस्था छ ।


साविक जिल्ला विकास समितिमार्फत आव ०६२/६३ बाट सुरु भएको चक्रपथ डिभिजन सडक सुर्खेतको जिम्मामा थियो । संघीय संरचनामा मुलुक गएसँगै २०७४ चैतमा पुनः निर्माण सम्झौता भएको चक्रपथ निर्माणको जिम्मा कसले लिने भन्ने विवादले सम्झौता भएको एक वर्षसम्म पनि काम भएन ।


उक्त समस्या समाधान भएपछि मात्रै गत वर्ष चैतदेखि चक्रपथको काम सुरु भयो । सडक डिभिजन कार्यालय चौरजहारी र महालक्ष्मी किराँतेश्वर केएसके जेभी काठमाडौंसँग सम्झौता भए पनि अहिले स्टार कन्ट्रक्सन सुर्खेतले काम गरिरहेको छ । आगामी चैतमा सम्पन्न गर्ने गरी सम्झौता भएको चक्रपथको १३ करोड ५३ लाख १५ हजार रुपैयाँ बजेट छ ।


निर्माण कम्पनीले सुब्बाकुनामा काम गर्न नसक्ने वातावरण भएपछि करिब ६ किलोमिटर अगाडिदेखि काम सुरु गरेको छ । ३२ किलोमिटर लामो चक्रपथ २०७४ चैतमा सम्झौता भए पनि वैशाखदेखि मात्रै काम सुरु भएको सडक डिभिजन कार्यालय चौरजहारीका इन्जिनियर सुरेशकुमार बस्यालले जानकारी दिए ।


चक्रपथ निर्माण हुने क्षेत्रका स्थानीयले अवरोध गरेका कारण तीव्र गतिमा काम हुन नसकेको भन्दै उनले अहिलेसम्म करिब १२ प्रतिशत मात्रै काम भएको जानकारी दिए । ‘हामीले कामको जिम्मा लिने बेलामा सडकको काम शून्य थियो,’ उनले भने, ‘अवरोध नभएको ठाउँमा हामीले काम गरिरहेका छौं, अहिले माटो भरेर सडक अग्लो बनाउने काम पनि भइरहेको छ ।’


इन्जिनियर बस्यालका अनुसार चक्रपथ निर्माण हुने क्षेत्रअन्तर्गत करिब १८ किलोमिटर क्षेत्रमा सामुदायिक वन पर्छ । ‘वातावरणीय क्षेत्र मूल्यांकनको काम गरेर मात्रै यहाँ अरू काम हुन्छ,’ उनले भने, ‘यसका लागि प्रक्रिया अगाडि बढाइएको छ ।’


स्थानीयको घरजग्गाको विवाद सल्टाउनका लागि नगरपालिका तथा सम्बन्धित वडासँग समन्वय तथा बैठक भइरहेको इन्जिनियर बस्यालले जनाए । चक्रपथ निर्माणमा देखिएको विवाद समाधानका लागि नगरपालिका पनि गम्भीर रहेको नगर उपप्रमुख मोहनमाया ढकालले बताइन् । ‘स्थानीयलाई क्षतिपूर्ति नै दिनेबारे कुनै निर्णय भएको छैन,’ उनले भनिन्, ‘सडकको चौडाइ ३० मिटर राख्ने नगरसभाले नै निर्णय नै गरेको छ, यसमा स्थानीयलाई मनाउने कोसिस गरिरहेका छौं ।’

प्रकाशित : भाद्र २३, २०७६ ०७:४८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?