२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३९०

नाफामा महिला सहकारी

इटहरीमा महिलाहरूले सञ्चालन गरेका १० वटा सहकारीमध्ये अधिकांश नाफामा
सुम्निमा चाम्लिङ

इटहरी — पछिल्लो समय महिलाले नेतृत्व गरेका यहाँका केही सहकारी संस्था अब्बल सावित भएका छन् । समूह बचतबाट सुरु हुँदै सहकारीको रूप लिन सफल ती संस्थामा दर्जनौं महिलाले रोजगारी पाएका छन् । उद्यममार्फत आयस्रोत बढाएपछि महिलाहरूको जीवनस्तरसमेत फेरिन थालेको छ ।

नाफामा महिला सहकारी

इटहरीमा ०५५ मा महिला बचत तथा ऋण सहकारी संस्था खुलेको थियो । यो सहकारी अहिले इटहरीकै उत्कृष्ट सहकारीमा दरिएको छ ।


महिलाहरूलाई व्यावसायिक बनाउने उद्देश्यले सहकारी खोलेको अध्यक्ष अमृता सुब्बाले बताइन् । ७५ जना महिलाले १ लाख रुपैयाँ संकलन गरी झोला सहकारीका रूपमा सुरु गरेका थिए । त्यो बेला सदस्य बनाउनका लागि घरदैलो अभियान सुरु गरेको सहकारीमा हाल ६ हजार १ सय ८ जना महिला सेयर सदस्य छन् ।


हाल संस्थाको कुल पुँजी ५० करोड भन्दा बढी छ । ३८ करोड २० लाख रुपैयाँ ऋण प्रवाह गरेका छन् । यो सहकारीले गत आवमा १ करोड ७४ लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेको थियो । ‘पुरुषले चलाएका सहकारीकै अवस्था राम्रो छैन । महिलाले के चलाउलान भनेर सुरुवातमा खासै पत्याएन,’ सुब्बाले भनिन्, ‘अहिले संस्थालाई नाफामुखी बनाउन सकेका छौं ।’


महिला बचतले व्यवसाय, कृषि र शिक्षा लगायत क्षेत्रमा लगानी गर्दै आएको छ । हाल ३० हजारलाई सेवा प्रवाह गरिरहेको जनाएको छ । बिनाधितो ५ लाख रुपैयाँसम्म कर्जा प्रवाह गर्ने उक्त सहकारीले धितोअन्तर्गत भने ५० लाख रुपैयाँसम्म लगानी गरिरहेको छ । नियमित र मुद्धती अन्तर्गत बचत संकलनकर्ताले बचत संकलन गरिरहेका छन् ।


संस्थाको हाल आफ्नै दुईतले भवन छ । महिला सहकारीले वित्तीय कारोबारसँगै सामाजिक क्षेत्रमा समेत सहयोग पुर्‍याउदै आएको जनाएको छ । वार्षिक रूपमा सीप, नेतृत्व विकास, व्यावसायिक तथा उद्यमशीलता तालिमहरूसमेत सञ्चालन गर्दै आएको छ । सामान्य बचतबाट सुरु भएको संस्थाले एसियालीस्तरको एक्सेस ब्रोन्चसमेत प्राप्त गरिसकेको छ ।


इटहरी १३ मा रहेको दीपावली बचत तथा ऋण सहकारी संस्था पनि महिला नेतृत्वमै चलेको छ । संस्थाकी संस्थापक अध्यक्ष तोया ढकालका अनुसार सुरुमा पुरुषबाट लुकेर मासिक ३० रुपैयाँ बचत गरिन्थ्यो । ३० रुपैयाँबाट सुरु भएको बचत बढेर ५० हजार रुपैयाँ पुग्यो । समूहलाई वैधानिक रूपमा अघि बढाउनुपर्छ भन्ने उद्देश्यका साथ सहकारीको स्थापना गरिएको थियो ।


सहकारी दर्ताका लागि २५ जनाको समूह बनाउन निकै हम्मे परेको अनुभव ढकालले सुनाइन । उक्त संस्थामा अहिले १३५ जना सेयर सदस्य छन् । ३० रुपैयाँबाट सुरु भएको संस्थाले १२ लाख ५० हजार रुपैयाँको पुँजी निर्माण गरेको छ । कुल पुँजीको ९० प्रतिशत ऋण प्रवाह गरिएको छ ।


संस्थाले मूलतः व्यवसायिक क्षेत्रमा ऋण प्रवाह गर्छ । ऋण लिएर धेरै महिलाले सदुपयोग गरेका छन् । बिना धितो २ लाख रुपैयाँ बढी ऋण दिने गरिएको छ । सेयर सदस्यलाई वित्तीय क्षेत्रबारे ज्ञान प्रदान गरिन्छ । वित्तीय ज्ञानको अभावले संस्थालाई अघि बढाउन निकै समय लागेको ढकालले बताइन् । ‘पुरुषहरूले महिलाले चलाएको सहकारी भनेर भड्काउने गरेका छन्,’ उनले दुखेसो पोखिन्, ‘महिलाले गरेको कामप्रति अझै विश्वास गर्ने वातावरण बनिसकेको छैन ।’


शान्तिनगर नारी बचत तथा ऋण सहकारी संस्था पनि महिलाहरूले नै सञ्चालन गरिरहेका छन् । तीनवटा महिला बचत समूह मिलेर २०६६ साल वैशाखमा सहकारीको स्थापना भएको थियो । ६५ जना सदस्यले १ लाख ७० हजार रुपैयाँबाट सहकारीको सुरुवात गरेका थिए । ‘सहकारी स्थापना गर्दा महिलाहरू घरबाट निस्केर हिँड्ने वातावरण थिएन,’ अध्यक्ष गंगा गुरुङले भनिन्, ‘महिलाले समेत नेतृत्व गर्न सक्नुपर्छ भन्ने उद्देश्यले सहकारीको स्थापना गरेका हौं ।’


संस्थाबाट ऋण लिएर महिलाहरू व्यावसायिक काममा लागेका छन् । कृषि, पशुपालन, व्यावसायिक क्षेत्रमा लगानी बढाएका हुन । महिलाहरूलाई उद्यमी तथा व्यावसायिक रूपमा अघि बढाउनका लागि समयअनुसार सीप प्रदान गर्ने गरिएको छ । ‘महिलालाई सानो व्यवसाय गर्न अरूको मुख ताक्नुपर्ने अवस्था छैन,’ गुरुङले भनिन्, ‘महिला सदस्यहरूको आर्थिक अवस्थामा समेत सुधार आएको छ ।’


डेढ लाख रुपैयाँसम्म बिनाधितो ऋण प्रदान गरिन्छ । संस्थामा हाल ५५० जना सेयर सदस्य छन् । २ करोड ५० लाख रुपैयाँ ऋण प्रवाह गर्न सफल भएका छन् । महिलाले घरबाट समय निकाल्न नसक्दा धेरै पछि पर्ने गरेको अध्यक्ष गुरुङले बताइन् । सहकारीको संख्या बढ्दै गएकाले प्रतिस्पर्धा गर्न सक्नुपर्ने उनको भनाइ छ । इटहरीमा अपांग महिला बचत तथा ऋण सहकारी संस्थाको पनि छुट्टै पहिचान छ ।

प्रकाशित : भाद्र २३, २०७६ ०७:४७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सुख्खा मौसम सुरुभएसँगै डढेलो र आगलागी घटना व्यापक बढेका छन् । वर्षेनी हुने यस्ता घटनाबाट धेरै क्षति हुन नदिन के गर्नुपर्छ ?